द्रोण पर्व–२७

104

उमाशङ्कर द्विवेदी

ती सत्यवादी तथा उदार नरेशको जसले दर्शन गर्न पाउँथ्यो, ऊ पनि स्वर्गलोकको अधिकारी हुन पुग्थ्यो। खटवाङ्ग (दिलीप)को घरमा यी पाँच प्रकारका शब्द कहिले पनि बन्द हुँदैनथे–स्वाध्यायको आवाज, धनुषको टङ्कार, अतिथिहरूको लागि खाऊ, पिऊ अनि मोज गर। ती राजा र उनका पुत्र तिमी र तिम्रा पुत्रभन्दा श्रेष्ठ थिए, तर तिनीहरू पनि जीवित रहन सकेनन्, अनि तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ।
नारदजीले पुनः भने– युवनाश्यका पुत्र मान्धाताको पनि मृत्युबारे सुनिन्छ। उनी देउता, असुर र मानिस तीनै लोकमा विजयी थिए। एक समयको कुरा हो, राजा युवनाश्व वनमा शिकार खेल्न भनी गए। त्यहाँ उनको घोडा थाक्यो तथा उनलाई पनि तिर्खा लाग्यो। यत्तिकैमा उनले टाढैबाट धूवाँ रुमलिंदै गरेको देखे, त्यसैलाई लक्ष्य गरी हिंड्दै जाँदा उनी एउटा यज्ञमण्डपमा पुगे। त्यहाँ एउटा भाँडोमा धृतमिश्रित जल राखेको फेला प–यो, राजाले त्यस जललाई पिए। त्यो मन्त्रपूत जल भुँडीमा जानेबित्तिकै बालकको रूपमा परिणित भइहाल्यो। यसको लागि अब वैद्यशिरोमणि अश्विनीकुमारलाई बोलाइयो। उनले वैद्यक विधिबाट गर्भमा अवस्थित त्यो बालकलाई बाहिर झिके। बालक देउताको समान तेजस्वी थियो। उसलाई आफ्नो पिताको काँखमा सुतिरहेको देखेर देउताहरूले विचार गरे– हरे, यो बालकले दूध कसको खाने ? यो सुनेर इन्द्रले भने– ‘मां धाता’ यसले मेरो दूध खानेछ।
उत्ति नै खेर इन्द्रको औंलाबाट घ्यू र दूधको धारा ओइरिन थाल्यो। हुनत इन्द्रले दयावशीभूत भएर– ‘मां धाता’ भनेका थिए, त्यसैले त्यस बालकको नाम मान्धाता रहन गयो। इन्द्रको औंलाबाट ओइरो लागेको घ्यू र दूध खाएर त्यो बालक प्रतिदिन बढ्न थाल्यो। बा–ह दिनमैं त्यो बालक बा–ह वर्षझैंको जस्तो भइहाल्यो। राजा भएपछि मान्धाताले सम्पूर्ण पृथ्वीलाई एकै दिनमा जितिहाल्यो। उनी धर्मात्मा, जितेन्द्रिय, वीर, सत्यप्रतिज्ञ र जितेन्द्रिय थिए। उनले जनमेजय, सुधन्वा, गय, पुरु, बृहद्रथ, असित र नृगलाई पनि जितेका थिए। सूर्य जहाँबाट उदित हुन्थे र जहाँ गएर अस्त हुन्थे, ती जम्मै क्षेत्र युवनाश्वका पुत्र मान्धाताकै राज्यभित्र पर्दथ्यो।
मान्धाताले एक सयवटा अश्वमेध र एक सयवटा राजसूय यज्ञ गरेका थिए। उनले एक सय योजनको विस्तारवाला मत्स्यप्रदेश ब्राह्मणहरूलाई दानमा दिएका थिए। उनको यज्ञमा मधु तथा दूध बग्ने नदी अन्नको पर्वतहरूलाई चारैतिरबाट घेरेर बग्दथे। ती नदीहरूको भित्र घ्यूका कैंयन कुण्ड थिए। दही त्यसको तर जस्तो देखिन्थ्यो। उखुको रस नै ती नदीहरूमा बग्ने जल थियो। त्यस राजाको यज्ञमा देउता, असुर, ममानिस, यक्ष, गन्धर्व, सर्प, चरा, ऋषि तथा श्रेष्ठ ब्राह्मण आएका थिए। मूर्ख त त्यहाँ एउटै पनि आएका थिएनन्। उनले धानधान्यले परिपूर्ण समुद्रसम्मको पृथ्वी ब्राह्मणहरूको अधीनमा गरिदिएका थिए र समय आएपछि उनी स्वयम् पनि यस लोकबाट अस्त हुन पुगेका थिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा पुत्र जस्तै श्रेष्ठ थिए। जब उनी पनि मृत्युबाट बच्न सकेनन् भने अरूको त के कुरा ? अतः तिमीले आफ्नो पुत्रको लागि शोक गर्नुहँुदैन।
नहुष नन्दन ययातिको पनि मृत्युको बारेमा सुनिन्छ। उनले एक सयवटा राजसूय यज्ञ, एक सयवटा अश्वमेध यज्ञ, एक हजार पुण्डरीक याग, एक सयवटा वाजपेय यज्ञ, एक हजारवटा अतिरात्र याग तथा चातुर्मास्य र अग्निष्टोम आदि नानाथरीका यज्ञ गरेका थिए तथा ती यज्ञहरूमा ब्राह्मणहरूलाई निकै दान दिएका थिए। परमपवित्र सरस्वती नदीले, समुद्रले तथा पर्वतहरूसहित अन्यान्य सरिताहरूले ययातिलाई दूध तथा घ्यू प्रदान गरेका थिए। नाना प्रकारका यज्ञहरूले परमात्माको पूजन गरेर उनले पृथ्वीको चार भाग गरेर उनले ऋत्विज, अध्वर्यु, होता र उद्गाता–यी चारलाई बाँडिदिएका थिए। अनि देवयानी र सर्मिष्ठाबाट उत्तम सन्तानहरू उत्पन्न गरे। अनि सांसारिक भोगहरूबाट उनलाई नमिलेपछि निम्नाङ्कित गाथाको गायन गरेर उनले आफ्नी धर्मपत्नीको साथ वानप्रस्थमा प्रवेश गरे। त्यो गाथा निम्नानुसार छ–यस पृथ्वीमाथि जति पनि धन–धान्य, जौ, सुवर्ण, पशु र स्त्री आदि भोग पदार्थहरू छन्, ती एउटै मनुवाको सन्तोषको लागि पर्याप्त छैनन्–यस्तो विचार गरेर मनलाई शान्त पारिराख्नुपर्दछ।
यस प्रकार राजा ययातिले धैर्यको साथ कामनाहरूको त्याग गरेर आफ्नो पुत्रलाई राज्यसिंहासनमाथि बसालेर आफू वनमा गइहाले। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन। क्रमशः…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्