दलित अधिकारको लागि दबाब समूह गठन

115

प्रस, वीरगंज, २ माघ/
पिस फर दलित फाउन्डेशन नेपाल प्रदेश २ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ मधुवन मथवलमा दलितहरूको भेला भएको छ।
भेलाले दलित अधिकारको लागि दबाब समूह गठन गरेको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए। उनले दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदविरुद्ध आवाज उठाउन समूह गठन गरेको बताए। अध्यक्ष रामले दलितमाथि जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, दमन–शोषण, असमानता, अन्याय, अत्याचार कायमै रहेको र गैरदलितले दलितलाई अहिलेसम्म मानव श्रेणीमा राखेर व्यवहार नगरेको बताए। उनले स्थानीय तह अन्तर्गतका गापा, वडापालिकाले पनि दलित हकहित र अधिकारको लागि खासै कुनै कार्य नगरेको बताए।
गापाको बजेट, नीति तथा कार्यक्रममा दलितको हकअधिकारलाई समावेश नगरिएकोले सङ्घर्ष गर्न आवश्यक भएकोले समिति गठन गरिएको उनले बताए। उनले सरकारले दिएको सेवा, सुविधा, हकअधिकारको बारेमा स्थानीय तहसँग गठित समितिले सोधखोज गर्ने बताएका छन्। सङ्घीय, प्रदेश र स्थानीय सरकारले दलितलाई प्रदान गरेको अधिकारको बारेमा वडा तहमा गठित समूहले सोधखोज गर्ने बताए।
सखुवाप्रसौनी गापाको ६ वटा वडामा समूह गठन गरिने उनले जानकारी गराए। आज १३ सदस्यीय कमिटी गठन भएको उनले बताए। रामस्वरूप पासवानको संयोजकत्वमा गठित समूहको सदस्यहरूमा गौरीदेवी मुसहर, शिवराज राम, हर्कबहादुर दमाई, बालकुमार दमाई, जगदीश हजरा, रामाज्ञा पासवान, पाहुन माझी, पचियादेवी पासवान, सुरेन्द्र राम, तारा देवी, माइली विक, लीला विक छन्। कार्यक्रममा दलित युवा नेतृत्व अभियानका संयोजक सुरेन्द्र पासवान, पिस फर दलित फाउन्डेशन नेपालका सदस्य संयोग राम, सल्लाहकार अशोक रामलगायतको सहभागिता रहेको अध्यक्ष रामले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्