एकअर्कोलाई नङ्ग्याउन व्यस्त छन् राजनीतिक पार्टी

118

वैधनाथ ठाकुर

भनिन्छ, टुकी निभ्ने बेलामा धपक्क बल्छ। कुरा साँच्चै रै‘छ। नेकपाको आन्तरिक विवाद यतिबेला चरमचुलीमा पुगेको छ। प्रचण्ड, माधव तथा झलनाथ पक्षले केपीशर्मा ओली पक्षको खैरो खन्न कुनै कसर बाँकी राखेको छैन। ठीक त्यसैगरी केपीशर्मा ओली पक्षले समेत कुनै कसर बाँकी राखेको छैन। सरकारमा रहेको पक्षको विरोध विपक्षले गर्ने यथार्थको ठीक उल्टो प्रतिपक्ष मौन छन् तर सत्ताधारी पार्टीभित्रकै प्रतिपक्षले यतिबेला खुलेआम नङ्ग्याउन टुप्पी कसेर लागिपरेको छ।
राजनीतिलाई संसारको सबैभन्दा फोहरी खेल भनिन्छ। कुरा साँच्चै हो। एउटा खुला कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जो नेकपाका द्वितीय अध्यक्ष हुन् भन्दै थिए– “वैशाख उता उनी नेपालको प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट तिनको पत्ता साफ हुनेवाला छ। हुनेवाला त्यै छ।” त्यसैगरी, ओलीले भाषण गर्छन्– “आन्दोलन हाँक्ने पार्टी ध्वस्त पार्ने केको लागि ? अघि नै साथीहरूले भनिसके– पद चाहियो, पदको लागि। पद पनि कुन चाहियो ? चुनावमा जुन पद हा–यो, त्यै पद चाहियो। मैले दुईवटा केटाकेटी देख्या थिएँ। एउटासँग राम्रो गुडिया थियो, अर्कोले भन्यो मलाई एकछिन तिम्रो गुडिया देऊन। सोझो हिसाबले उसलाई त्यो गुडिया दियो। एकछिन गुडियासँग खेल्यो अनि पछि यो गुडिया मेरै हो भन्न थाल्यो। कस्तो प्रचण्डको डुप्लिकेट रहेछ।”
एउटा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिकरूपमैं भन्दै थिए, यो आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरूलाई हामी परास्त गर्न सक्छौं।” हामीले ती फुटवादीहरूलाई अर्थात् प्रचण्ड, माधव र झलनाथलगायतलाई बादलले प्रतिगामी र फुटवादी भन्दै थिए। उता योगेश भट्टराईजस्ता युवा नेताले रामबहादुर थापाबारेमा सार्वजनिकरूपमा यसरी भने– “आजको बादल बर्सिंदा पनि बर्सिंदैन, गर्जिंदा पनि गर्जिंदैन। त्यो गोठमा बाँधेको भैंसीजस्तो कँुडो खाएर आरामले सुतिरहेको मात्रै छ।”
त्यसैगरी, नेपाली काङ्ग्रेसभित्र रामचन्द्र पौडेल ओली सरकारविरुद्ध सडक आन्दोलनमा सबै प्रतिपक्षीसँग मिलेर खरो ढङ्गले ओर्लिने मनसाय सार्वजनिकरूपमा प्रकट गर्दै हिंडिरहेका छन् भने पार्टी अध्यक्ष शेरबहादुर देउवाले अदालतमा कुरो गइसकेको हुनाले अदालतले जे निर्णय गर्छ, त्यो हामीले मान्ने हो। जनतामा जानुपर्ने चुनावसँग नेपाली काङ्ग्रेस भाग्नुहुन्न भनेर बारम्बार सार्वजनिकरूपमा दोहो–याउँदै आएका छन्।
उता जनता समाजवादी पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेताहरू ओलीले संसद् विघटन गरेको हुनाले जसरी पनि ओलीलाई हटाउनुपर्छ र संसद् पुनबर्हाली हुनुपर्छ भन्ने भनाइ राखिरहेका छन्। पार्टीभित्रका महन्त ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू भने हामी चुनावमा जाने कुरासँग डराउनुहुँदैन भनिरहेका छन्। सडकमा राजावादीहरूसमेत राजा आऊ देश बचाऊको नारा राप्रपाको झन्डामुनि निकालेको देखिन्छ।
यतिबेला प्रत्येक दिन प्रत्येक हप्ता एउटा नयाँ राजनीतिक प्रोपोगन्डा चलिरहेको छ। भारतबाट ‘रअ’लगायत आएका उच्च पदस्थहरू एकपक्षीय ढङ्गले नेताहरूसँग मात्रै भेटघाट गरेको तर अर्को पक्षसँग भेटघाट नगरेको अवस्थाले कतिखेर के घटना घट्ने हो, त्यो कसैले आकलन गर्न सकिरहेका छैनन्। उता चिनियाँ उच्च अधिकारीहरूको टोलीसमेत  आएर फर्किसकेको छ। तर पनि नेकपालाई एक बनाउन सकेन। आममानिसमा एउटा प्रश्न के रहेको छ भने संसद् पुनस्र्थापना भयो र ओलीको बहिर्गमन भयो भने प्रधानमन्त्री आखिर उही प्रचण्ड वा माधवकुमार नेपाल बन्ने हुन्। यी दुवैजना पटक–पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। यिनीहरूले नेपाली जनताको हकहितमा के कति गर्न सक्छन्, सबैलाई थाहा भएकै कुरा हो। यस्तोमा चुनाव नै गर्नु ठीक छ आखिर चुनाव नै गर्दा पनि चुनिएर जित्ने नेताहरू यिनै हुन्। रातारात कुनै महान्, त्यागी, देशको लागि मात्रै सोच्ने नेता जन्मिंदैन होला। यस्तोमा नेपाली जनताले कहिलेसम्म यो संसदीय गोलचक्करमा फोहरी खेल खेलिरहने ?
यतिबेला प्रधानमन्त्री ओलीले सङ्कटकालको घोषणा गर्न सक्छन् भन्ने कुरा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्न थालेका छन्। यस्तोमा नेपाली जनताको लागि कसले काम गर्ने ? त्यो सुनौलो क्षितिज कतै देखिएको छैन। पर्वते समाजमा एउटा उखान छ– कुकुरको पुच्छर बा–ह वर्ष ढुङ्ग्रोमा राख्दा पनि सोझो भएन। अर्थात् नेपाली नेताहरूभित्र देखिएका परिवारवाद सितिमिति समाप्त होला भन्न सकिंदैन। देशका प्रमुख पार्टी नेकपा र नेपाली काङ्ग्रेस दुवैभित्र चरम परिवारवाद हावी छ। यिनीहरू जति परिवारवादलाई प्राथमिकता दिन्छन्, त्यत्तिकै भ्रष्टाचारलाई संस्थागत गर्न पनि पछि हट्दैनन्। २०४५/०४६ अगाडि नेपालको राजनीतिक पार्टीका सम्पूर्ण नेताको सम्पत्ति एकचोटि छानबिन गरी मुद्दा चलाउने हो भने कुन चाहिं नेता जेल जाने छैनन्, त्यो भेट्टाउन गा–हो हुनेछ। यतिबेला नेपाली जनतासँग बलियो पाखुरी छ। उर्वर भूमि छ। अथाह जलस्रोत छ। जडीबुटीले भरिभराउ जङ्गल छ। देशको विकास तथा समृद्धिको लागि सम्पूर्ण पूर्वाधार उपस्थित छ तर देश दिन प्रतिदिन ओरालो लाग्दै छ। यसको एकमात्र प्रमुख कारण इमानदार नेता नहुनु नै हो। नेपाल आमाले देशको लागि केही गर्ने इमानदार नेता कहिले जन्माउने हो, त्यसैको प्रतीक्षा छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्