माघे सङ्क्रान्ति

87

हरेक महीनाको अन्तिम दिन मसान्त र पहिलो दिन सङ्क्रान्ति हो। वर्षमा १२ महीना हुने हुँदा १२ वटा सङ्क्रान्ति र १२ वटै मसान्त हुन्छ। यसमध्ये माघ १ गते अर्थात् माघे सङ्क्रान्तिको महत्व फरक छ। नेपालका सबै भूभागमा कुनै  न कुनै रूपमा माघ १ गते पर्व मनाइरहेका हुन्छन्। आदिवासी थारू समुदायले नयाँ वर्ष ‘माघी’ मनाइरहेका हुन्छन्। उनीहरूको सबैभन्दा ठूलो पर्व माघी हो। त्यसैगरी, यो दिन मगरसमुदायको नयाँ वर्ष पनि हो। यसैगरी, लिम्बु, राई, सुनुवार, सुरेल, याक्खा, धिमाललगायतका किराँत समुदायले माघ १ गतेलाई येले संवत्को रूपमा मनाउँछन्। छन्त्याल समुदायले छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्व मनाउँछन्। यो पनि नयाँ वर्ष नै हो। मैथिल र भोजपुरी समुदायमा यस दिनलाई तिला सङ्क्रान्ति भनेर मनाउँछन्। काठमाडौंको नेवार समुदायले माघ १ गतेलाई ‘घ्यू चाकु सFल्हु’ पर्व भनी मनाउँछ। पश्चिम नेपाल पहाडका अधिकांश जिल्लामा माघे सङ्क्रान्तिलाई ‘चेलीत्यार’ चेलीको पर्वको नामले मनाइरहेका छन्। हिन्दू धर्मावलम्बी ब्राह्मण, क्षत्री समुदायले माघ १ गतेलाई धार्मिक अनुष्ठान शुरू हुने पवित्र दिन मान्छन्। यस दिन सूर्य मकर राशिमा प्रवेश गर्ने र उत्तरायण शुरू हुने हिन्दू पञ्चाङ्गको मान्यता छ।
यसरी मुलुकका पहाडदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मका सबै समुदायले माघ १ गते पर्व मनाउने गरेका छन्। यस दिन मेला, जात्रा, यज्ञ तथा पूजा आराधना, अनुष्ठान एवं विभिन्न उत्सव भइरहेका हुन्छन्। अचम्मको कुरा त के छ भने माघ १ गतेको पर्वलाई सबै समुदायले गतेको हिसाबले मनाउँछन्। तिथिमा मनाइने अरू पर्व जस्तो आज कि भोलि भन्ने विवाद माघे सङ्क्रान्तिमा रहँदैन। फेरि पनि विगतका दिनमा माघे सङ्क्रान्ति उपेक्ष्Fित थियो। एउटा समुदायलाई अर्को समुदायले पनि पर्व मनाइरहेको छ भन्ने थाहा थिएन। त्यसैले त मगरातका मगरहरू माघ १ गते आफूले मात्रै पर्व मनाइरहेको सम्झन्थे भने उपत्यकाका नेवार, किराँतका राई, लिम्बु, तराईका थारू हुन् या मिथिलाञ्चलका मैथिल र भोजपुराका भोजपुरी, उनीहरू आफूले मात्रै पर्व मनाइरहेको सम्झन्थे। यस कारण महत्वपूर्ण राष्ट्रिय पर्वले पनि व्यवहारमा राष्ट्रिय मान्यता पाएको थिएन। अघिल्लो वर्षसम्म प्रदेशले बिदा दिन्थ्यो। खुशीको कुरा, यस वर्ष भने सङ्घीय सरकारले माघ १ गते राष्ट्रिय बिदा घोषणा ग–यो। यसले मुलुकका सबै क्षेत्रमा सो दिन महत्वपूर्ण पर्व मनाइन्छ भन्ने सन्देश प्रवाह गरेको छ।  
मकर सङ्क्रान्ति पर्वको महत्वलाई उजागर गर्न सकेमा यसले मुलुकका सबै धर्म, क्षेत्र, जाति, भाषाभाषी तथा समुदायबीच सांस्कृतिक एकताको सूत्रधार बन्न सक्छ। यसको लागि विभिन्न समुदायले फरकरूपमा मनाइरहेको माघ १ गतेलाई एकै ठाउँ, एउटै मञ्चमा प्रस्तुत गरिने कार्यक्रमहरू बनाउनुपर्छ। त्यसैगरी एक समुदायलाई अर्को समुदायको पर्वमा आतिथ्य गराउनेतर्फ समुदाय र राज्यले महत्व दिनुपर्छ। तर यस्ता मञ्चहरूलाई राजनीतिक खुरापात गर्न र तिक्तता पोख्नका लागि प्रयोग गर्न दिनुहुन्न। पर्वको दुरुपयोग गर्न चाहनेहरूबाट आयोजक सचेत हुनुपर्छ। पर्वलाई संस्कृति र पहिचानकै मञ्चको रूपमा रहन दिनु उचित हुन्छ । तिक्तताहरू छन् भने पनि त्यसलाई बिर्सिएर अङ्कमाल गर्दै अगाडि बढ्नु पर्वको मर्म हो। फुटाएर होइन जुटाएर र माया गरेर पनि परिवर्तन सम्भव छ। त्यसैले त चाडपर्वलाई शान्तिपूर्ण समाज परिवर्तनको माध्यम मानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्