पर्सा जिल्लामा धूमधामले थारू महोत्सव मनाइयो

103

ओमप्रकाश चौधरी, सेढवा, १ माघ/
यस वर्ष माघी मूल समारोह समिति पर्सा, बारा, रौतहटको आयोजनामा वीरगंजको स्वीमिङ पुलमा भव्यताका साथ माघी महोत्सव मनाइएको छ।
वीरगंजको घण्टाघरबाट महोत्सवको अवसरमा थारू समुदायको भेषभूषा, संस्कृति झल्किने विभिन्न झाँकीसहित निकालिएको –याली नगरपरिक्रमा गर्दै स्वीमिङपुलमा महोत्सव आयोजना गरिसकिएको छ।
माघी मूल समारोह समिति पर्सा, बारा र रौतहटका अध्यक्ष परमानन्द चौधरीले महोत्सवको उद्घाटन गरेका थिए। सो अवसरमा उनले थारू समुदायले आफ्नो भेषभूषा, कला, संस्कृतिलाई पछिल्लो समयमा जीवित राख्ने हरसम्भव प्रयास गर्दै आएकोमा गर्व गरे। प्रभु चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, नेकपा ओली समूहका केन्द्रीय सदस्य बसद्दीन अन्सारी, डा सुषमा तिवारी, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, समाजसेवी प्रकाश थारूलगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, वीरगंज महानगरपालिकाबाहेक पर्सा जिल्लाको थारू बाहुल्य चार स्थानमा यसपटकदेखि थारू समुदायले माघी महोत्सवको आयोजना गरेको छ। थारू संवत् २६४५ को अवसरमा माघी खिचडी महोत्सव जीराभवानी गापा–३ को बितो महतो जनता मावि जीतपुर नौकाटोलामा आयोजित महोत्सवको गापा अध्यक्ष रामप्रीत महतोले उद्घाटन गरेका थिए। उनले सो अवसरमा सङ्घीयताको परिणाम देशमा आदिवासी थारू समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षणमा टेवा पुगेको बताए। उनले यसअघि वीरगंज महानगरपालिकामा मात्र सीमित थारू महोत्सव जिल्लाका चार स्थानमा भइरहेकोमा खुशी व्यक्त गरे। वडाध्यक्ष उमेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणकारी समिति पर्साका कावा अध्यक्ष ठाकुर महतो, जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, नेकपा ठोरीका नेता लालबहादुर श्रेष्ठ, सेढवा माविका प्रअ जीतेन्द्र गौरो, बितो महतो जनता माविका प्रअ रामाशङ्कर चौधरी, समाजसेवी प्रह्लाद पटवारी, वडाध्यक्ष महादेव महतो, शिक्षक शशिकपूर राय थारू, नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष रामनारायण महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए। महोत्सवमा थारू कला, संस्कृति, भेषभूषा झल्किने गरी प्रदर्शन गरिएको थियो। यसैगरी, महोत्सवमा थारू समुदायको पकवान घोङ्गी, माछा, हाँस, कुखुराको मासुका परिकार, भुजा, केसार, ठेकुवा र पिठीलगायका परिकार स्टलमा राखिएको थियो।
यसैगरी, जीराभवानी–४ सढीमा पनि माघी खिचडी महोत्सव आयोजना गरिएको छ। प्रगतिशील युवा समाजका अध्यक्ष गोविन्द थारूको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन संविधानसभा सदस्य जयप्रकाश थारूले गरेका थिए। उनले थारू संस्कृति जोगाउन युवाहरूको भूमिकाको प्रशंसा गरे। उनले अन्य समुदायले आफ्नो संस्कृतिलाई बिर्सिरहेको अवस्थामा थारू समुदायले आफ्नो संस्कृतिको जर्गेना गर्दै आएको बताए। महोत्सव उद्घाटन समारोहमा जिसस पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, गापाकी उपाध्यक्ष उषादेवी थनी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, जसपाका नेता जरी लामाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण रामप्रीत महतो थारूले गरेका थिए।
यसैगरी, माघी मूल समारोह पर्साको आयोजनामा थारू एक समाज, थारू टोला सहयोग मूल समारोह समितिको आयोजनामा पर्सागढी नगरपालिकामा माघी खिचडी महोत्सव सम्पन्न भएको छ।
महोत्सवको प्रदेशसभा सदस्य आसियादेवी थरुनीले उद्घाटन गरेकी थिइन्। उनले महोत्सवको आयोजनाले थारू संस्कृतिको जर्गेना हुनुका साथै यसले सामाजिक एकतामा पनि टेवा पुग्ने बताइन्। समितिका अध्यक्ष शिवबच्चन महतोको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, वडाध्यक्षहरू वेदमनदास थारू, तुलाराम महतो, रामनारायणप्रसाद गौरोलगायत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत जङ्गबहादुर दास थारू र सहजीकरण जोगिन्द्र पञ्जियारले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्