नेपाली मुद्राको क्रयशक्ति कमजोर हुनुका कारण

149

विश्वराज अधिकारी

विश्वमा कमजोर क्रयशक्ति भएका मुद्रामध्ये नेपालको मुद्रा पनि पर्दछ। नेपाली मुद्राको क्रयशक्ति यतिसम्म कमजोर छ कि सबैभन्दा तल्लो एकाइको नेपाली मुद्रा, रु १ को बजारमा कुनै किसिमको क्रयशक्ति छैन। विनिमय शक्ति छैन। त्यसको आफ्नै एकल, स्वतन्त्र विनिमय अस्तित्व छैन। बजारमा रु १ भुक्तान गरेर कुनै कुरा खरीद गर्न सकिंदैन। यस्तै स्थिति रु ५ को पनि छ। रु १० को स्थिति पनि कमजोर नै छ। रु २० बाट भने केही कुरा खरीद गर्न सकिन्छ तर पनि ज्यादै सीमितरूपमा। केवल रु १०० को मात्र गतिलो क्रयशक्ति छ। रु १००० ले मात्र ज्यादै बलियो क्रय शक्ति राख्दछ। यस्तो किन भएको होला ? आउनुहोस् यसको कारण अर्थशास्त्रका पेंचिला सिद्धान्तहरूबाट होइन, सामान्य परिभाषाबाट बुझौं। साधारण चिन्तनबाट बुझौं। सामान्य छलफलबाट बुझौं।
नेपाली मुद्राको क्रय शक्ति कमजोर हुनुको प्रमुख कारण हो नेपालमा प्रचुर मात्रामा उत्पादन हुन नसक्नु। उत्पादनको क्षेत्रमा नेपाल अहिले पनि ज्यादै पछाडि छ। पछाडि मात्र छैन, नेपालले जे जति उत्पादन गरिरहेको छ त्यसको लागत, अर्थात् उत्पादन लागत पनि ज्यादै चर्को छ। उत्पादन लागत ज्यादै चर्को भएर तथा उत्पादन लागत कम पार्नेतिर व्यापारीहरूको ध्यान एवं इच्छा नभएर नेपालमा उत्पादन लागत कम पार्न सकिएको छैन र यस्तो गरेर उत्पादन वृद्धि गर्न सकिएको छैन। स्थिति यस्तो छ कि निर्यातका लागि ठूलो मात्रामा उत्पादन गर्नु त परको कुरा, राष्ट्रिय खपतका लागि चाहिने जति पनि स्वदेशमा उत्पादन गर्न सकिएको छैन। सियोदेखि सलाईसम्मका लागि हामीले छिमेकी देशहरू भारत तथा चीनको मुख ताक्नु पर्ने स्थिति छ। उत्पादनको क्षेत्रमा हामी अभूतपूर्व किसिमले परावलम्बी हुन पुगेका छौं। श्रम बेचेर गुजारा गर्ने स्थितिमा पुगेका छौं र यसै कारणले हाम्रा नयाँनयाँ सृजनात्मक क्षमता राख्ने युवाहरू देश छोड्न बाध्य भएका छन्। विदेश गएर कम मूल्यमा श्रम बेच्न विवश छन्।
त्यस्ता धेरै देश छन्, जसको मुद्राको क्रयशक्ति ज्यादै बलियो छ। अमेरिकी डलर, ब्रिटिश पौन्ड, जर्मन युरो आदिको क्रयशक्ति ज्यादै बलियो छ। उदाहरणको लागि अमेरिकी डलर लिउँ। अमेरिकी डलरको सबैभन्दा तल्लो एकाइ १ डलरको क्रयशक्ति अति बलियो छ। अमेरिकी बजारमा १ डलरबाट खरीद गर्न सकिने वस्तु एवं सेवाहरू थुप्रै छन्। एक डलर खर्च गर्दा एक छाक खान पुग्ने सामान खरीद गर्न सकिन्छ। अर्थात् सामान्य किसिमको खाना, एक छाकका लागि, एक डलर खर्च गरेर पाउन सकिन्छ। अमेरिकामा डलरको सबैभन्दा तल्लो एकाइ–‘एक डलर’ले पनि बलियो क्रय शक्ति राख्छ। १ डलरले धेरै कुरा विनिमय गर्न सकिन्छ। अमेरिकाको ख्यातिप्राप्त खुद्रा भण्डार ‘डलर ट्री’ ले एक डलर भुक्तान गरेर खरीद गर्न पाइने धेरै वस्तु बिक्री गर्छ। उक्त भण्डारमा १ डलरमा सयौं किसिमका सामग्री खरीद गर्न सकिन्छ। अमेरिकामा १ डलर पनि, विनिमय क्षमताको हिसाबले कति बलियो छ भन्ने कुरा डलर ट्रीले दिन्छ। उसको व्यापारले दिन्छ। डलर ट्रीको उद्देश्य सस्तोमा कमजोर आय भएका व्यक्तिलाई विभिन्न सामग्री उपलब्ध गराउनु हो। डलर ट्रीले ‘हामी हरेक सामान एक डलरमा बिक्री गर्छौं’ भन्छ।
अमेरिकी डलरको विनिमय क्षमता वा क्रयशक्ति ज्यादै बलियो हुनुको प्रमुख कारण उत्पादनको क्षेत्रमा अमेरिकाले विश्वमा नै अग्रणी स्थान प्राप्त गर्नु हो। कृषिको क्षेत्रमा अमेरिकाले विश्वमा नै चमत्कार गरेको छ। खाद्यान्न र मासु अमेरिकाले यति ठूलो मात्रामा उत्पादन गर्छ कि राष्ट्रिय उत्पादनका लागि पर्याप्त भएर ठूलो परिमाणमा निर्यात गर्नुपर्ने हुन्छ। अमेरिकाले ठूलो परिमाणमा भटमास निर्यात गर्छ। चीनले ठूलो परिमाणमा भारतबाट भटमास खरीद गर्छ, जबकि विनिमय दरको हिसाबले चाइनिज मुद्रा एन अमेरिकी डलरभन्दा निकै कमजोर छ। सामान्य किसिमले हेर्दा, एक चिनियाँ एन बराबर केवल ००.१५ डलर वा १५ सेन्ट मात्र हुन्छ। अर्थात् अमेरिकाले चीनभन्दा पनि सस्तोमा भटमास उत्पादन गर्छ। आफ्नो देशमा भटमास उत्पादन गर्न महँगो हुने भएकोले नै चीनले अमेरिकाबाट भटमास आयात गरेको हो। भटमास उत्पादन गर्नुभन्दा अमेरिकाबाट आयात गर्दा चीनलाई फाइदा हुन्छ तर यहाँ सोचनीय कुरा के छ भने चीनमा श्रम लागत अमेरिकाभन्दा निकै कम छ। श्रम लागत चीनभन्दा अमेरिकामा बढी भए तापनि अमेरिका चीनभन्दा कम लागतमा भटमास उत्पादन गर्न सफल भएको छ। यस्तो स्थिति अमेरिकाले कृषि क्षेत्रमा गरेको अद्भुत विकासले गर्दा भएको हो। अमेरिकी डलरको क्रयशक्ति बलियो हुनुको प्रमुख कारण नै अमेरिकाले ठूलो परिमाणमा उत्पादन गर्न सक्नु र उत्पादन लागत कम गर्न सक्षम हुनु हो।  
नेपाली मुद्राको क्रयशक्ति वा विनिमय शक्ति बलियो बनाउन हामीले उत्पादनमा जोड दिनैपर्छ। उत्पादनमा जोड नदिएसम्म, राष्ट्रिय आवश्यकताका लागि पुग्नेजति उत्पादन गर्न नसकेसम्म नेपाली मुद्राको क्रयशक्ति कमजोर नै रहन्छ। हाम्रो गरीबी पनि रहि नै रहन्छ। हामी गरीबीको ललौरी–बिलौरी गाइ नै रहने छौं र आउने पुस्ताले पनि त्यही ललौरीबिलौरी गाउने छ।
नेपालभित्र अनेक वस्तु उत्पादन गर्न सकिने सुनौलो अवसर छ। राष्ट्रिय खपतका लागि पनि ती वस्तु उत्पादन गरेर विदेशी बजारमा ठूलो परिमाणमा जाने  नेपाली मुद्राको क्रम रोक्न सकिन्छ।
त्यस्ता धेरै कुरा छन् जुन नेपालमा नै उत्पादन गरेर एकातिर आत्मनिर्भर हुन सकिन्छ, अर्कोतिर भारतसितको अन्तर्राष्ट्रिय व्यापारमा हुने व्यापार घाटा कम पार्न सकिन्छ। जस्तै, नेपाल अहिले ‘अटोमोबाइल’ को लागि अति भरपर्दो बजार हुन पुगेको छ। नेपालले प्रत्येक वर्ष ठूलो परिमाणमा भारतबाट मोटरसाइकल, कार, जिप, ट्रक, बस, टेम्पो, ट्रेक्टर खरीद गर्छ। यसरी ठूलो परिमाणमा यातायातका यी साधन खरीद गर्दा नेपालबाट ठूलो मात्रमा नेपाली एवं नेपालले कमाएको विदेशी मुद्रा भारत जाने गर्दछ। अटोमोबाइलका लागि नेपाल भरपर्दो बजार हुनुको फाइदा नेपालले होइन, नेपाली व्यापारीले होइन, भारतले, भारतका व्यापारीहरूले उठाइरहेका छन्। हामी भने टुलुटुलु हरेर बसेका छौं। यो स्थितिलाई हामीले आफ्नो नालायकी भन्ने वा दुर्भाग्य ?
हामीले देशभित्र कार, जिप, ट्रक, बस आदि उत्पादन गर्ने हो भने यी साधन सजिलै स्वदेशमा बिक्री गर्न सक्छौं। यी साधन बिक्री गर्न बाह्य बजार खोज्नुपर्दैन। नेपालमा नै यी साधनको ठूलो माग छ। तर हामीले यी साधन स्वदेशमा उत्पदन नगरेर ठूलो व्यापारिक अवसर गुमाएका मात्र छैनौं, रोजगारको राम्रो अवसरबाट फाइदा उठाउन पछि परेका छौं। उल्टो यो अवसर भारतका व्यापारीहरूलाई प्रदान गरेर हामी उत्पादनको क्षेत्रमा परावलम्बी हुन पुगेका छौं। यस्तो स्थितिको अन्त्य गर्न सरकार मात्र होइन, निजी क्षेत्र पनि लाग्नुपर्छ। नेपाली व्यापारीहरू उठ्नुपर्छ, स्वदेशमा विभिन्न कुराहरू उत्पादन गर्न।
नेपालका लागि उत्पादनको अपार सम्भावना बोकेको अर्को क्षेत्र हो कृषि। तराईको समतल मैदान मात्र होइन, पहाडका प्रयोग नभएका क्षेत्रलगायत हिमाली क्षेत्रमा पनि कृषिको विस्तार गरेर हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं। उत्पादनको मात्रा बढाउँदै लगेमा ठूलो परिमाणमा निर्यात गर्न समेत सक्छौं। जनसङ्ख्याको अनुपातमा हामीसँग भारतको तुलनामा समेत धेरै जग्गा उपलब्ध छ। उन्नत प्रविधि प्रयोग गरेर, पहाडी एवं हिमाली क्षेत्रको प्रयोग गरेर, हामीले ठूलो परिमाणमा अन्न एवं फलफूल उत्पादन गर्न सक्छौं। मासु उत्पादन गर्न सक्छौं। यी कार्य गरेर नेपाली मुद्राको क्रयशक्ति, विनिमय शक्ति वृद्धि गर्न सक्छौं।
नेपाली मुद्राको क्रयशक्ति वृद्धि गर्न, कम मूल्यका नोटहरू (रु १, ५, १० आदि) को खरीद क्षमता वृद्धि गर्न हामीले उत्पादन परिमाणमा वृद्धि गर्नुको विकल्प छैन। जुनसुकै अवस्थामा भए पनि हामीले उत्पादन वृद्धि गर्न आवश्यक छ। यदि उत्पादन वृद्धि नगर्ने हो भने हाम्रो हालत पनि कुनै बेला जिम्बाब्वेजस्तो हुनेछ। केही वर्ष पहिले जिम्बाब्वेमा यस्तो मुद्रास्फीति भएको थियो कि सामान्य किनमेल गर्न जाँदा पनि झोलामा पैसा बोकेर जानु पथ्र्यो। सरकारले करोडौं मूल्यका नोट निष्कासन गर्नुपरेको थियो। अर्थात् एउटा नोटको दाम एक करोड डलरभन्दा बढी थियो। त्यहाँको जनतालाई आफ्नो देशको मुद्रामा कम विश्वास भएर विदेशी मुद्रामा कारोबार गर्नुपर्ने अवस्था देखिएको थियो।
हामीले गमलामैं भएपनि तरकारी उत्पादन गरेर विदेशबाट तरकारी आयात गर्ने अवस्था अन्त्य गर्न आवश्यक छ। हाम्रो राष्ट्रिय जनऊर्जा उत्पादन वृद्धिमा लगाउन आवश्यक छ। यो समयको माग हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्