आर्थिक विकास, लघुवित्त र महिला शक्तीकरण

144

शीतल महतो

नेपालको आर्थिक विकास र समृद्धिको बाधक गरीबी र बेरोजगारी हो। सरकारको हरेक योजनामा यो विषय प्राथमिकताको विषय–वस्तु बने पनि अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन। प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक भएपनि पर्याप्त पूँजीको अभावले यस्ता स्रोतहरूको दिगो उपयोग हुन सकिरहेको छैन। मुलुकको आर्थिक वृद्घिदर उकास्न तथा नेपाललाई आर्थिक समृद्घिको दिशातर्फ उन्मुख गराई गरीबी निवारण अभियानमा उल्लेखनीय सफलता हासिल गर्न राज्यको अथक प्रयास र प्रतिबद्घताको खाँचो पर्छ। यसका लागि लघुवित्त कार्यक्रम उपयोगी सिद्ध हुन सक्छ। त्यसैले बढ्दो बेरोजगारी र गरीबी निवारणको अभियानमा लघुवित्त कार्यक्रमलाई केन्द्रित गरी लक्षित वर्ग, क्षेत्र र समुदायलाई लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्दै सामाजिक–आर्थिक रूपान्तरण गर्न सकिन्छ।
हुनत साधन र स्रोतको असमान वितरण प्रणाली, बढ्दो जनसङ्ख्याको चाप, अशिक्षा, सुशासनको अभाव, असन्तुलित विकास, रोजगारका अवसरको अभाव, प्राकृतिक प्रकोप, वित्तीय पहुँचको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचार, हिंसा र द्वन्द्वजस्ता गतिविधि गरीबीका प्रमुख कारण हुन्। प्रादेशिकरूपमा विश्लेषण गर्दा प्रदेश नं २, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरीबीको दर राष्ट्रिय औसतभन्दा उच्च छ भने अन्य प्रदेशमा राष्ट्रिय औसतभन्दा कम छ। बहुआयामिक गरीबी कर्णाली प्रदेशमा सबैभन्दा उच्च र वाग्मती प्रदेशमा सबैभन्दा न्यून छ। समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बावजूद मुलुकको कुल जनसङ्ख्याको करीब १८ प्रतिशत हिस्सा अझै पनि गरीबीको रेखामुनि र २० प्रतिशत हिस्सा औपचारिक वित्तीय पहुँचबाहिर रहेको सन्दर्भमा लघुवित्त आर्थिक विकासका लागि प्रभावकारी साधन मानिन्छ। यस्तो अवस्थामा लघुवित्तले विपन्न तथा सीमान्तकृत वर्गका मानिसमा वित्तीय पहुँच प्रदान गरेर उनीहरूको जीवनयापनमा सुधार ल्याउनुका साथै गरीबी र बेरोजगारी समस्या समाधान गर्न सहयोग पु–याउँछ। यसले विनाधितो लघुकर्जा उपलब्ध गराएर उत्पादनशील क्षेत्रमा लगानी गर्न वा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्छ। परिणामस्वरूप रोजगारका अवसर सिर्जना गरेर विपन्न तथा सीमान्तकृत वर्गका मानिसको आम्दानीमा समेत परिवर्तन ल्याउँछ।
न्यून आय भएका मानिसको जीवनस्तर, पूँजीगत खर्च, महिला शक्तीकरण, सूचनाको पहुँच, स्वास्थ्य, शिक्षा तथा पेशागत स्तरमा वृद्धिजस्ता क्रियाकलापमा लघुवित्त उपयोगी भएको कुरा विभिन्न अध्ययन–अनुसन्धानले समेत पुष्टि गरिसकेको छ। लघुवित्तले वित्तीय सेवाबाट वञ्चित समूहलाई प्रदान गर्ने वित्तीय सेवा जनाउँछ। लघुवित्त अन्तर्गत लघुकर्जा, लघु सापटी, लघु बीमा, बचत र पैसा हस्तान्तरणजस्ता वित्तीय सेवा समावेश हुन्छन्। नेपालमा लघुवित्तको अभ्यास शुरू भएको साढे चार दशकभन्दा बढी भइसकेको छ। यसबीच गरीबी निवारणका धेरै पहल शुरू गरिए पनि लघुवित्त कार्यक्रम मात्र गरीबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ। गरीब समूहको आर्थिक स्तर उकास्नु, लैङ्गिक अन्तर कम गर्नु, महिला शक्तीकरण प्रवद्र्धन गर्नु र आय असमानता कम गर्नु लघुवित्तका प्रमुख उद्देश्य हुन्। नेपालमा लघुवित्त संस्थाहरूको सङ्ख्या बढेसँगै प्रतिस्पर्धा पनि बढ्दो छ। वित्तीय उदारीकरणको नीति अनुरूप लघुवित्त क्षेत्र खुला गरिएपछि नेपालमा निजी क्षेत्रबाट सबैभन्दा पहिले २०५६ साउनदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सञ्चालनमा आएको देखिन्छ। २०७७ असारसम्म लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ८४ पुगेको छ। यी संस्थाहरूका ७७ वटै जिल्लामा शाखा, १० लाख ४० हजार समूह, करीब ४७ लाख सदस्य, २८ लाख ऋणी र १९ हजार कर्मचारी छन्। कर्जा प्रवाह २०७७ असार मसान्तमा अघिल्लो वर्षभन्दा करीब १२ प्रतिशतले वृद्धि भई करीब रु २ खर्ब ६३ अर्ब पुगेको छ। लघुवित्त वित्तीय संस्थाहरूको सबैभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह भएको तथ्याङ्क छ।
नेपालको जनगणना, २०६८ अनुसार कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ प्रतिशत छ। संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो सम्पत्तिको स्वामित्वको अधिकार रहने उल्लेख गरिए पनि धेरै कम महिलाका नाममा जमीनको स्वामित्व छ। एक अध्ययनले १९.७ प्रतिशत नेपाली महिलाको स्वामित्वमा जमीन रहेको र यस्तो स्वामित्व दलितमा ५ प्रतिशत मात्र रहेको देखाएको छ। आर्थिक स्रोतमा महिलाको पहुँच र नियन्त्रण पनि धेरै कम मात्रामा छ। परम्परागत, सांस्कृतिक र पुरुषप्रधान सोचका कारण समानता, सम्पत्ति र भेदभावविरुद्ध संवैधानिक अधिकार प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन। महिलाहरूले पारिवारिक सद्भाव जोगाउन हिंसा सहने गरेका छन्। जग्गा, सम्पत्ति, कर्जाका साथै आधुनिक ज्ञान र जानकारीमा समेत महिलाहरूको सीमित पहुँच रहनुका साथै उनीहरूले गर्ने आर्थिक क्रियाकलाप पनि कम छ। महिलाहरूमा विशेषगरी शिक्षाको कमी, कम बार्गेनिङ क्षमता र प्राविधिक ज्ञानको कमीका कारण कम उत्पादकत्व हुने पेशामा केन्द्रीकृत छन्। त्यसमा पनि ग्रामीण क्षेत्रमा नेपाली महिलाको स्थिति पुरुषभन्दा धेरै पछाडि छ। कर्जाको पहुँचमा पनि पुरुषका तुलनामा महिलाहरू पछाडि छन्। धितो अभाव, बैंक तथा वित्तीय संस्थाहरूको नाफामुखी व्यवहार, लामो र जटिल प्रक्रिया, औपचारिक कागजातको आवश्यकता, शहर केन्द्रित बैंक तथा वित्तीय संस्था, लगानी पहुँचका लागि ग्रामीण महिलाको ढोकासम्म कार्यक्रम पुग्न नसक्नु, वितरणसम्बन्धी समस्या (नियमित बैठक र केन्द्रहरूमा जान समय नहुनु) र क्षमतासम्बन्धी समस्याहरू (पुरुषहरूको तुलनामा ज्ञान, सीप, सूचना र जागरूकता तथा निर्णयसम्बन्धी क्षमता) आदिका कारण नेपाली महिलाहरू लघुवित्तको पहुँचबाट टाढा छन्।
महिला शक्तीकरणले उनीहरूलाई विशिष्ट शक्ति प्रयोग गर्ने अधिकार वा उद्देश्य हासिल गर्न निश्चित साधन प्रदान गर्छ। महिलाको सामाजिक–आर्थिक क्षमता बढाउनु र घरका पुरुष सदस्यमाथिको निर्भरता कम गर्नु, घरेलु निर्णयमा आर्थिक संलग्नता र नियन्त्रणमा सुधार गर्नु, घरेलु खर्चमा योगदान पु–याउनु, आत्मविश्वास बढाउनु र सामाजिक मुद्दाहरूका सम्बन्धमा महिलाको क्षमता अभिवृद्धि गर्नु महिला शक्तीकरणको उद्देश्य हो। लघुवित्त सेवा पुगेका स्थानका महिलाहरू बढी सशक्त देखिएका छन्। अधिकांश लघुवित्त सदस्यहरूले सम्पत्ति किन्ने र बेच्ने, छोरीहरूलाई विद्यालय पठाउने, बालविवाह रोक्नेबारे छलफल गर्ने, परिवारको योजना बनाउने र निर्णय गर्ने गरेका छन्। लघुवित्त कार्यक्रममा सहभागी महिलाहरू लघुवित्तमा सहभागी नहुने महिलाका तुलनामा शारीरिकरूपमा गतिशील, स्वामित्व र उत्पादनमुखी, सम्पत्तिमाथि नियन्त्रण कायम गर्न सक्ने, निर्णय लिने कार्यमा संलग्न, राजनीतिक र कानूनीरूपमा बढी जागरूक र सशक्त हुन्छन्। विभिन्न अध्ययनबाट लघुवित्तले महिलाहरूलाई परिवार र आफ्नै प्रयोगका लागि अतिरिक्त आयआर्जन गर्न मदत गरेको पाइएको छ। यसका अतिरिक्त आयले परिवारका लागि पौष्टिक खाना किन्न, आधुनिक स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न सजिलो हुनुका साथै आफ्ना बच्चाहरूलाई विद्यालय पठाउनसमेत सहज बनाइदिएको छ। लघुकर्जा कार्यक्रममा सहभागिताले महिलाले घरेलु निर्णय लिन, आर्थिक स्रोतमा बढी पहुँच प्राप्त गर्न ठूलो भूमिका खेलेको छ। समूह गतिशीलताले बढी स्वतन्त्रता पाएको छ भने परिवार नियोजन र अभिभावकीय चासोमा समेत महिला बढी सशक्त भएका छन्। कतिपय स्थानमा महिला समुदायले महिला हिंसामुक्त समाज निर्माणका लागि धूमपान र मद्यपान निषेधित क्षेत्र घोषणा गरेर सोको कडा कार्यान्वयनसमेत गराएका छन्। यसरी लघुवित्त कार्यक्रममा सहभागी हुने महिलाहरू पारिवारिक निर्णय क्षमतामा बढी स्वायत्त, समुदायमा बढी सम्मानित, वित्तीयरूपमा स्वायत्त, सामाजिक तथा मनोवैज्ञानिक प्रभावयुक्त, आत्मविश्वासी, राजनीतिमा सक्रिय सहभागी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।
तसर्थ लघुवित्त सेवालाई ग्रामीणमुखी बनाई महिलाको जीवनस्तरमा सुधार ल्याउनेगरी वित्तीय सेवा उपयोग गर्नेबारे लघुवित्त संस्थाले पर्याप्त ध्यान दिनुपर्छ। अधिकांश ग्रामीण बस्ती भएको मुलुकमा महिला शक्तीकरणका लागि वित्तीय समावेशीकरण, गरीबी निवारण तथा रोजगार सिर्जना गर्न लघुवित्त कार्यक्रमलाई उपयोगी र सशक्त वित्तीय औजारका रूपमा लिन सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्