लोहडी

294

जसपाल सिंह

लोहडीको धूम पञ्जाबमा देख्न सकिन्छ। भारतको उत्तर पञ्जाब राज्य तथा पञ्जाबीहरू कृषि, उद्योग, व्यापार, मेहनत, इमानदारी, बहादुरी तथा सांस्कृतिक विविधताको लागि विश्वभर प्रसिद्ध छन्। अनाज उत्पादनमा विशेष स्थान राख्ने भएकोले उसको आफ्नो छुट्टै चिनारी पनि छ। घरघरमा साना, ठूला सबै खालका उद्योगले निकै सम्मान पाएको छ। कुनै पनि चाडपर्वमा हर्ष, उल्लास तथा खुशीयाली मनाउँदै, पुरुषहरूले रङ्गबिरङ्गी फेंटामा सजाएर भाँगडा र रङ्गबिरङ्गी दुपट्टामा महिलाहरूको गिद्धा नृत्यले संसारभरि ख्याति कमाएको छ।
यो चाड जनवरी १३ तारिखमा मनाइन्छ। गहुँ खेती आश्विनतिर रोपिन्छ। चैत्र, वैशाखमा पाक्छ तर पुस, माघतिर खेतीको अवस्था ज्ञात हुने गर्दछ।
त्यस कारणले पनि यो मौसम र लोहडीको त्योहार अति उत्साहवद्र्धक हुने गर्दछ। यस चाडमा किसानले सूर्यको आभार व्यतm गर्ने गर्दछन्। सूर्यको प्रताप र तापले खेती राम्रो भयो भन्ने गर्दछन्। लोहडी पर्व जाडोलाई बिदा गर्ने सङ्केत पनि हो।
यो मान्यता छ कि लोहडीको भोलिपल्ट सूर्य मकर राशिमा उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने गर्दछ। त्यो समय सात महीनाको रहने गर्दछ। यसलाई उत्तरायण भनिन्छ। यस दिन पञ्जाबमा केटाकेटीहरू बिहानदेखि नै घर, घरमा गई दाउरा–काठ इत्यादि माग्ने, बटुल्ने गर्दछन्। धेरै अघि पञ्जाबमा दुल्ला भट्टी नामको एक डाँका थियो, उसले लुटेको धन, सम्पत्ति दीन, दुःखी तथा गरीबहरूको लागि खर्च गर्दथ्यो। त्यसलाई सबैले नायक सरह मान्दथे। दाउराहरू जम्मा गरेर आगो बालेर उसकै गीत गाएर रमाइलो गरिन्छ। काठ, दाउरा जम्मा गरेर आगो बालेर त्यसलाई घुमेर, परिक्रमा गरेर त्यस तल गोबरको लोहडीको प्रतिमा राखिन्छ।
यस प्रकार राम्रो खेती तथा सम्पन्नताको लागि यो अग्निपूजा सरह नै हुने गर्दछ। आगोको परिक्रमा  गर्ने क्रममा आगोमा तिल, उखु, मकै, बदाम इत्यादि हालिन्छ। आफूभन्दा ठूला मान्यजनलाई दण्डवत गरी आशीर्वाद लिने–दिने, शुभकामना आदानप्रदान गर्ने, परिकारहरू बनाउने, खाने, खुवाउने चलन छ। नवविवाहित जोडी तथा नवजात शिशुको जन्म भएको परिवारमा, पहिलो वर्षको लोहडी विशेष चाडको रूपमा दोब्बर आनन्दका साथ मनाउने गरिन्छ। यस अवसरमा एक अर्कालाई उपहार पनि दिने चलन छ। गजक (तिल, बदाम सख्खरको मिठाई), तथा मकैको रोटी, सरसों (तोरी) को साग मख्खन, लस्सी खाने गरिन्छ। नाचगान, पञ्जाबी भाँगडा तथा गिद्धा नृत्य गरी अत्यन्त धूमधाम साथ मनाइन्छ। हाम्रो देशमा पनि नेपाली सीख, पञ्जाबी तथा सिन्धीलगायत समुदायले यो चाड धूमधामका साथ मनाउने गर्दछन्।
लोहडी, माघी तथा मकर सङ्क्रान्ति लगभग एकै खालका चाड हुन्। प्रकृतिको सुन्दरता, यसको गुणगान, ऋतुको परिवर्तन नयाँ मौसमको स्वागत। मौसम चीसोबाट तातोमा बदलाव, खेतीको हरियाली, आपसी सद्भाव, प्रेम तथा उमङ्ग नै हुन्–यी चाडहरू। लोहडी, माघी तथा मकर सङ्क्रान्तिको सबैमा लाख लाख बधाई तथा शुभकामना १
ऋतु परिवर्तन, नयाँ मौसमको आगमनका साथ सबै महामारी तथा प्रकृति प्रकोपबाट यस धरातलका समस्त जीव–प्राणीहरूको रक्षा होस् भन्ने प्रार्थना गर्दै आफ्नो परम्परा अनुसार चाड मनाऔं।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्