तिलासक्रातसित जोडिएको समाज मनोविज्ञान

0
39

सञ्जय साह मित्र

कुनै पनि चाडपर्व मनोविज्ञानसित पनि जोडिएको हुन्छ। मनोविज्ञानसित जोडिएका चाडपर्वहरूमा हार्दिकता बढी हुन्छ भने मनोविज्ञानसित नजोडिएका चाडपर्वहरूमा हार्दिकताभन्दा यान्त्रिकता बढी हुन्छ। हाम्रा चाडपर्वहरूमध्ये मुख्यतः आफ्नै माटोमा लामो समयदेखि मनाइँदै आएका चाडप्रति हार्दिकता बढी रहेको पाइन्छ भने बाहिरबाट आएका चाडपर्वहरूमा यान्त्रिकता बढी पाइन्छ। हुनत चाडपर्वलाई नयाँ किसिमले परिभाषित गर्नेहरूले सांस्कृतिक र राजनैतिक दुई किसिमका चाडपर्व हुनुपर्ने तर्क गर्दछन्। कुनै पनि चाडपर्वप्रति तिनको हार्दिकता बढी हुन्छ, जसले बढी कुरा थाहा पाएका हुन्छन्। चाडपर्वबारे थाहै नपाएकाहरूले खासै मतलब राखेको पाइँदैन, चाडपर्व माने पनि मानिदिएको जस्तो गर्दछन्। चाडपर्वलाई हार्दिकतापूर्वक मान्नेहरूले त्यसको स्वरूप बुझेका हुन्छन् वा श्रद्धाले मात्र हार्दिकतापूर्वक मनाउनेहरूले अरू केही नबुझे पनि पहिलेदेखि मान्दै आएकोले मान्नुपर्दछ भन्ने मनोविज्ञान राख्दछन्। यस प्रकारका मान्नेहरूले नै चाडपर्वलाई सकेसम्म बचाइरहेका हुन्छन्।
हाम्रा चाडपर्वहरू सामाजिक प्रकृतिका छन्। अधिकांश चाडपर्व समूहमा मनाइन्छ र केही पारिवारिकस्तरमा मनाइए पनि त्यसको स्वरूप भने सामाजिक, यस अर्थमा हुन्छ कि समाजका सबै परिवारले झन्डै एकै किसिमले मनाउँछन्। हाम्रा हरेक चाडपर्व संस्कृतिसित जोडिएका छन्, यो सामाजिक चाडपर्व र राजनैतिक चाडपर्व दुवैको हकमा लागू हुन्छ। राजनैतिक चाडपर्व पनि संस्कृतिसित कसरी जोडिएका छन् भने राजनैतिक चाडपर्व मनाउने एउटा राजनैतिक संस्कार भइसकेको छ। अधिकांश राजनैतिक चाडपर्व लामो समयदेखि मनाइँदै आएको छ। राजनैतिक चाडपर्व नितान्त सामान्य वर्गसित अझै जोडिन बाँकी छ तर सामाजिक वा सांस्कृतिक चाडपर्व भने बढी मात्रामा सामान्य वर्गसित जोडिएको हुन्छ। सामाजिक तथा सांस्कृतिक चाडपर्व धेरैले मनाउने वा मान्ने आधार यो पनि हो।
नेपालमा विशाल जनसङ्ख्याले मनाउने चाडपर्वमध्ये तिलासक्रात पनि एक हो। यसलाई विभिन्न नामले सम्बोधन गरिएको पाइन्छ। माघे सङ्क्रान्ति पनि यसको प्रचलित नाम हो। थारू समुदायमा ‘माघी’ भन्ने गरिन्छ। बाजी समुदायमा ‘खिचडी’ भनिन्छ। यस दिन तिलको लड्डु खानुपर्ने र तिलको उपयोग गर्नुपर्ने मुख्य मान्यता रहेको छ। पहाडी समुदाय, थारू समुदाय तथा बाजी समुदायमा केही भिन्नताका साथ मनाइने तिलासक्रातमा तिलको प्रयोग चाहिं सबैमा हुने देखिएको छ। तिलको आयुर्वेदिक विशेषता धेरै भएको बताइन्छ। हुनत ‘तिल’ शब्दले पनि अनेक अर्थ दिएको पाइन्छ। बाजी समाजमा तिलको अर्थ नेपाली भाषाको कोठी पनि हो र तिलको अर्थ अत्यन्त थोरै पनि हुन्छ। तर सामान्यतया तिल भन्नाले एक किसिमको वनस्पति र त्यसको फल वा दानालाई बुझाएको हुन्छ जुन बहुउपयोगी मानिएको छ आयुर्वेदमा।
आयुर्वेदले तिलमा औषधीय गुण धेरै भएको बताउँदै आएको छ। तिलको प्रयोगले मानसिक दुर्बलता कम गर्दछ। यसको नियमित सेवन गर्नाले तनाव तथा डिप्रेशनबाट मुक्त हुन सकिन्छ। यसको थोरै मात्रामा हरेक दिन प्रयोग गर्नाले मानसिक समस्याबाट छुटकारा पाइने आयुर्वेदले बताउँदै आएको छ। तिलको तेल वा तिलको नियमित तर थोरै मात्रामा सेवन गर्नाले असमय कपाल पाक्ने तथा झर्ने समस्या कम हुने, अनुहारमा चमक ल्याउने, तिलको तेलले मालिश गर्दा छाला कान्तिमय हुने, तिल खानाले कब्जियत नहुने, बाबासिरमा पनि लाभ हुने बताइन्छ। यसैगरी दाँतको लागि पनि तिल फाइदाजनक मानिन्छ। बिहान र बेलुकी ब्रश गरेपछि तिल चपाउनाले दाँत बलियो हुने तथा क्याल्सियमको आपूर्ति बढ्ने हुन्छ। तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदयरोग लाग्ने सम्भावना धेरै कम हुने पनि बताइन्छ। तिलको नियमित सेवन गर्नाले रूघाखोकीमा आराम हुनुका साथै हाडजोर्नीमा हुने दुखाइ पनि कम हुन्छ। जाडोमा तिलको प्रयोग गर्नाले शरीरलाई स्फूर्ति प्राप्त हुनुका साथै डायबिटिजका बिरामीलाई पनि धेरै फाइदा हुन्छ। तिलमा धेरै प्रकारका प्रोटीन, क्याल्सियम, फाइबर, भिटामिन डी, बी कम्प्लेक्सलगायत कार्बोहाइडे«ट लगायत तत्व प्रचुर मात्रामा पाइन्छ। तिलमा सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ। यसले क्यान्सरका कोषिकाहरूलाई बढ्नबाट रोक्ने गर्दछ। यही कारणले तिलको सेवनले मानिसलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्युकोरिया, प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ भन्ने पनि बताइन्छ। तिलमा पनि कालो तिल सबैभन्दा बढी उपयुक्त मानिन्छ।
मानसिक दुर्बलता हटाउन पनि तिलले काम गर्ने आयुर्वेदको अनुसन्धानहरूमा आएको विभिन्न सञ्चार माध्यमहरूले सार्वजनिक गरेको कुरामा विचार गर्ने हो भने तिलको उपयोगिता अत्यन्त महत्वपूर्ण हुने देखिन्छ। त्यसै पनि निकै पहिलेदेखि आयुर्वेदको पक्षमा वकालत गर्दै आएको ‘आस्था’ नामक हिन्दी च्यानलले तिलको महत्व अत्यधिक हुने र सबै तेलभन्दा तिलको तेल राम्रो हुने बताउँदै आएको छ। हुनत आधुनिक सञ्चार माध्यमको विकास भएको धेरै भएको छैन र सञ्चार पनि आम नागरिकको पहुँचमा आएको धेरै भएको छैन। आम सञ्चारको यति व्यापक प्रयोग भइरहेको जमाना एकातिर छ भने अर्कोतिर सबै किसिमको सञ्चार तथा शिक्षाबाट वञ्चित मानिस वा समाजका सदस्यहरूले समेत तिलको महत्व बुझे वा नबुझे पनि तिलासक्रातमा तिलको उपयोग गर्ने यसबाट बनेका विभिन्न परिकार दिदी–बहिनी तथा छोरीको घर कोसेलीको रूपमा पु–याउने गर्दछन्।
तिललाई संस्कृतिसित जोड्नुको पछाडिको समाज–मनोविज्ञान यही हुनुपर्दछ कि तिल अनिवार्यरूपमा हरेक व्यक्तिले उपयोग गर्नुपर्दछ। हरेक व्यक्तिको पहुँचमा वर्षको कम्तीमा एक दिन तिल पुग्नुपर्दछ भन्ने सामाजिक मनोविज्ञानले तिलको महत्वलाई अगाडि बढाउँदै पर्वको नाम नै तिलासक्रात राखेको हुनुपर्छ। जाडो उत्कर्षमा रहेको समयमा तिलको सेवनले अत्यधिक जाडोको समयमा शरीरलाई आन्तरिक ऊर्जा तथा स्फूर्ति प्रदान हुने र पचाउन पनि सजिलो हुने देखिन्छ। अझ अहिलेको समयमा सख्खरको पनि पर्याप्तता हुने हुनाले तिलको उपयोगलाई सख्खरसित जोडी यसले गर्ने फाइदालाई अझ बढाएको पाइन्छ। यसबाट यो पनि अनुमान लगाउन सजिलो हुन्छ कि तिलबारे आधुनिक अनुसन्धान हुनुभन्दा धेरै पहिले हाम्रा पितापुर्खालाई यसका फाइदाबारे जानकारी थियो। यति धेरै फाइदाजनक वस्तुलाई सबैले अनिवार्यरूपमा सेवन गर्न यसको सम्बन्ध देउता र पर्वसित जोडियो। एउटा निश्चित दिन सबैले अनिवार्य सेवन गर्दा एउटा नयाँ उत्साह पनि हुँदो रहेछ र यस दिन सबैले सेवन गर्दा यस वस्तुको विशिष्ट सम्मान पनि हुने रहेछ।
सामान्यतया गाउँघरमा अहिले पनि के विश्वास छ भने तिलासक्रातभन्दा पहिले जाडो निकै मोटाउँछ। तिलासक्रातको समयमा जाडो निकै बढ्दछ। कुहिरो पनि लाग्दछ। यस मान्यताप्रति सर्वसाधारण यति दृढ छन् कि निकै घाम लाग्यो भने मौसमप्रति अविश्वास प्रकट गर्दछन्। घाम लागेको मौसम छ भने पनि जाडो चाहिं धेरै हुनुपर्ने वा जाडो कम भए कम्तीमा बादल लागेको हुनुपर्ने सर्वसाधारणको सोचाइ अझै पनि रहेको पाइन्छ। हरेक वर्ष अलिकति बढी जाडो यही तिलासक्रातको आसपास हुने गर्दछ। यसले गर्दा तिलासक्रातको आसपासको जाडोसम्बन्धी मान्यताको हस्तान्तरण पुस्ता दर पुस्ता हुँदै आएको छ। कुनै एक गाउँ वा ठाउँमा मात्र नभएर प्रायः समाजमा यो मान्यता यति सामान्य भइसकेको छ कि गाउँ समाजका हरेक पुस्ताले सजीलै स्वीकार गरेका छन्। तिलासक्रातसित जोडिएको समाज–मनोविज्ञान निकै बलियो छ।
तिलासक्रातको समाज–मनोविज्ञान आयुर्वेदको दृष्टिकोणले स्वास्थ्य विज्ञान हो। हेर्दा अत्यन्त सानो दाना हुने तिलको ठूलो महत्व हुने बताएर सानो हुनु प्राकृतिक नियम हुन सक्छ तर महत्व धेरै हुने स्पष्ट पारेको छ। यस पर्व सम्बन्धमा अन्धविश्वास छिर्न नदिएर, धर्म र देवतासित जोडेर यस पर्वका संस्थापक वा संस्कृति बनाउनेहरूले निकै राम्रो काम गरेको स्वीकार गर्नुपर्दछ। यस पर्वलाई विकृतिमूलक बन्न नदिएर यसको परम्परागत महत्वलाई बुझेर स्वास्थ्यको दृष्टिकोणले बढी अनुकूल हुनेगरी मान्नु वा मनाउनुपर्दछ भन्ने लागेको छ। यसको स्वस्थ सांस्कृतिक पक्षको रक्षा र विकास अपेक्ष्Fित छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्