ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी बढ्दो

0
64

प्रस, सेढवा, २९ पुस/
भारतमा पेट्रोलियम पदार्थ महँगो भएको कारण नेपालको ग्रामीण क्षेत्रबाट अहिले तस्करी बढेको छ।
डिजल र पेट्रोल नेपालभन्दा भारतमा करीब रु ३५ प्रतिलिटर महँगो भएकोले अहिले ग्रामीण क्षेत्रबाट ठूलो परिमाणमा तस्करी भइरहेको छ। मिर्जापुर, आसवारी, जानकीटोला, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि, सुवर्णपुर, विजयबस्ती भएर पेट्रोल र डिजलको तस्करी बढेको छ।
ठोरी गाउँपालिका–४ नेवा पेट्रोलपम्प, जगरनाथपुरस्थित मन्दीप आयल स्टोर्स, धोबिनी गापा, पोखरिया नगरपालिकामा रहेका पेट्रोलपम्पबाट तस्करहरूले ग्यालेनमा पेट्रोल, डिजेल भरेर मोटरसाइकलबाट भारतीय बजार इनर्वा, भङ्गाहा, मैनाटार, घुमाटार पु–याउने गरेका छन्। यो क्षेत्रमा सेढवा, विजयबस्ती, सुवर्णपुर, महादेवपट्टि, पिडारीगुठी, जानकीटोला, आसवारी, मिर्जापुर, बुडगाई, भिस्वामा जनपद तथा सशस्त्र प्रहरीका एकाइहरू छन् तर यही बाटो भएर अहिले दैनिक ठूलो सङ्ख्यामा मोटरसाइकलहरू ग्यालेन बोकेर ओहोरदोहोर गरिरहँदा पनि उनीहरूमाथि कारबाई भएको छैन।
दैनिक पचासभन्दा बढी मोटरसाइकल ग्यालेनमा पेट्रोलियम पदार्थ राखेर बिहानदेखि बेलुकासम्म आवतजावत गरिरहेका छन्। एकजना मोटरसाइकल चालकले दैनिक दुईपटकसम्म ढुवानी गर्ने गरेको बताए। नेपालमा पेट्रोल रु १०६ प्रतिलिटर छ भने डिजल रु ९२ छ। भारतमा भने पेट्रोल भारु ८७/३० र डिजल ७९/५० छ। पेट्रोल र डिजेलमा करीब रु ३५ भिन्नता भएकोले अहिले तस्करी बढेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्