पर्सा जिल्लामा माघी महोत्सवको तयारी

139

ओमप्रकाश चौधरी, सेढवा, २८ पुस/
आदिवासी थारू समुदायको बाहुल्यता भएका क्षेत्रमा थारूहरूको महान् चाड माघी (खिचडी) पर्व धूमधामका साथ मनाउने तैयारी भएको छ। माघ १ गते मकर सङ्क्रान्तिका दिन थारू समुदायले पर्साका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी यो पर्व धूमधामका साथ मनाउँदै आएको छ।
थारू  संवत् २६४५ नयाँ वर्ष तथा माघी (खिचडी) पर्व मनाउने तयारी भएको माघी खिचडी मूल समितिका अध्यक्ष प्रभु चौधरीले बताए। उनले यस वर्ष पनि पर्सा, बारा र रौटहटका थारू समुदायले वीरगंजको आदर्शनगरस्थित स्वीमिङ पुलमा माघी पर्व मनाउने तैयारी गरेको जानकारी गराएका छन्।  माघ १ गते घण्टाघरमा झाँकीसहित थारू संस्कृति झल्कने पहिरनको प्रदर्शन गर्दै  स्वीमिङ पुलसम्म –याली निकालिने, खुला रक्तदानलगायतका कार्यक्रम आयोजना गरिने तयारी भएको बताएका छन्। स्वीमिङ पुलमा यसअघिदेखि मनाइँदै आएको यो पर्वमा यस वर्ष पनि थारू परम्परागत झम्टा, घाटोलगायतका गीत, नृत्य प्रस्तुत गरिने अध्यक्ष चौधरीले बताए। यसका साथै थारू समुदायका  संस्कृति झल्कने विभिन्न सामाजिक क्रियाकलापको प्रदर्शन गरिने उनले बताए।
यसैगरी, जीराभवानी गाउँपालिका–३ को वडा कार्यालयले पनि माघी (खिचडी) महोत्सव आयोजना गर्ने वडासदस्य राधेश्याम रायले बताए। सो वडामा रहेको बितो महतो जनता मावि जीतपुरको खेल मैदानमा माघी महोत्सव मनाउन लागेको उनले जानकारी गराए। सो स्थानमा पनि थारू कला, संस्कृति झल्किने पहिरन, लोपोन्मुख बाजा, सांस्कृतिक कार्यक्रमहरूको व्यवस्था गरिएको उनले बताए। जीराभवानीमा हुने माघी महोत्सवमा घोङ्गी, गङ्गटो, माछा, पिठा, चिचर, भुजालगायतका थारू समुदायको खानाहरू प्रदर्शन गर्न स्टल पनि राखिने सदस्य रायले बताए। त्यस्तै, माघीको अवसरमा जीराभवानी गापा–४ सढीमा पनि खुला रक्तदान कार्यक्रम आयोजना हुने जनाइएको छ। संयुक्त युवा समाज सढीको आयोजनामा रक्तदान हुने संस्थाका सदस्य महासागर राउत थारूले बताए।
यसैगरी, पर्सागढी नगरपालिका–३ पकडिया बढनियारको खेलमैदानमा पनि माघी (खिचडी) पर्व मनाउने तैयारी भइरहेको छ।
पर्सागढी नगरपालिका थारू मूल समारोह समितिको आयोजनामा माघी मनाउने तैयारी भइरहेको समितिका सदस्य जङ्गबहादुर चौधरीले बताए। पर्सागढीमा थारू समुदायले माघी महोत्सव पहिलोपटक आयोजना गर्न लागेको र सोको तयारी अन्तिम चरणमा पुगेको वडासदस्य प्रदीप चौधरीले बताए। पर्सागढी नगरपालिकामा पनि वीरगंज र जीराभवानीमा झैं थारू कला, संस्कृति झल्कने भेषभूषाका साथै गीतसङ्गीतका कार्यक्रमहरू गरिने उनले बताए। यसैगरी, सखुवाप्रसौनी गाउँपालिकाले पनि यस वर्षदेखि माघी महोत्सव मनाउने तयारी गरेको वडासदस्य चौधरीले जानकारी गराए। वडा नं २ को औराहा पंचगावाँको खुला मैदानमा हुने महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्