हराएका दुवै बालक पटना घुम्न गएका थिए

105

प्रस, वीरगंज, २७ पुस/
वीरगंज महानगरपालिका वडा नं ४ बिर्ताका दुईजना बालक हराएर भारतको पटना पुगेको घटनामा उनीहरू आफैं घुम्न गएको पुष्टि भएको छ। गएको शनिवार उनीहरू हराएपछि भारत बिहार पटनामा आइतवार फेला परेका थिए।
हराएका जगरनाथप्रसाद कलवारका छोरा सिवेश कलवार र दिपेश शर्माका छोरा प्रनिश शर्मा आज वीरगंज आएका छन्। उनीहरू आफैं पटना पुगेको परिवारजनले बताएका छन्। सिवेश कलवारको आग्रहमा बेतियासम्म पुगेको र पछि प्रनिशले आफ्नो फुपू पटना भएको भनी सो ठाउँबाट रात्रिबसमा पुगेका थिए। वीरगंज–४ बिर्तामा शनिवार ११ बजे ट्युशन पढेर दुवैजना त्यसतर्फ पुगेका हुन्। घरपरिवारका मानिसले भने एकअर्काको घरमा भएको ठानेर दिउँसोसम्म सोधखोज गरेका थिएनन्। सिवेश र प्रनिश दैनिक ट्युशन गर्ने र त्यसपछि ब्याडमिन्टन खेल्ने गर्दै आएको हुनाले दुवै परिवारका अभिभावक एकअर्काको घरमा भएको भनेर विश्वस्त थिए। तर साँझ ५ बजेसम्म दुवैजना घर नफर्केपछि उनीहरूका परिवारले सोधखोज गर्दा बेपत्ता भएको पुष्टि भएपछि उनीहरूको खोजतलाश गर्दै प्रहरीसमेतमा खबर गरेका थिए।
वडा प्रहरी कार्यालय बिर्तामा हराएको सूचित गरेपछि प्रहरी सक्रिय भएको थियो। सो क्रममा उनीहरू अध्ययनरत ट्युशन र त्यहाँबाट निस्केको सिसिटिभी फुटेजहरू प्रहरीले निगरानीमा राखेको थियो। उनीहरूको अपहरण भएको चर्चा परिचर्चा चले पनि प्रहरीले सिसिटिभी फुटेजबाट त्यस्तो नभएको बताए पनि खोजतलाशमा तीव्रता ल्याएको थियो। घरपरिवारले पनि आफन्तहरूलाई बालक हराएको बारेमा सूचना प्रवाह गरेका थिए। सोही क्रममा प्रनिश शर्मा पटनामा रहेको फुपूसमक्ष यो खबर पुगेको थियो। फुफाले स्थानीय पटना प्रहरीलाई खबर गरेपछि बसपार्कबाट आइतवार उनीहरू प्रहरी नियन्त्रणमा परेका थिए। प्रहरीले दुवै बालकका परिवारलाई सूचित गरेपछि वीरगंजबाट उनीहरूलाई लिनका लागि टोली पुगेको थियो। प्रनिश शर्माका परिवारजन र जगरनाथ कलवारका परिवारजन पटना पुगेर आआफ्नो बच्चालाई प्रहरीबाट बुझेका थिए। प्रनिश शर्मा अभिभावकसँगै सोमवार घर फर्केका छन् भने जगरनाथ कलवार पनि आजै फर्कने बताइएको छ। प्रनिशका परिवारजनले छोरा सिवेशसँग बेतिया पुगेको र त्यहाँबाट पटना गएको  बताए। उनीहरू दुवै एउटा साइकलमा रक्सौल पुगेका थिए। त्यहाँबाट बसको यात्रा गरी बेतिया पुगेका थिए र बेतियाबाट रात्रि बस चढेर पटना पुगेका थिए। पटनामा उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र परिवारजनलाई खबर गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्