धन्यवादका पात्रहरू

86

मानिसको लागि शरीरका सबै अवयव समानरूपले आवश्यक हुन्छ। तर आँखा यस्तो अवयव हो, जसको पूर्ति कुनै पनि उपायबाट सम्भव हुँदैन। अन्य अवयवमा कमी छ भने त्यसको पूर्ति हुन सक्छ, त्यसले खास प्रतिकूलता नल्याउन सक्छ। तर आँखा छैन भने संसार असार साबित हुन्छ। यस्तै कठिन कामको पूर्ति गर्न वीरगंजमा विजय सरावगी व्यक्तिगतरूपमा र माट्रिका आई फाउन्डेशन संस्थागतरूपमा लागेका छन्। आँखा नभएकालाई दृष्टि प्रदान गर्न एउटा शल्यक्रिया मात्रले सम्भव छ, तर मौसमको प्रतिकूलता, अपरिमित खर्च, गाउँ–देहातसम्म दौडेर रोगी फेला पार्नु अनि शल्यक्रिया गरेर दृष्टि प्रदान गर्न व्यक्ति र संस्थाले देखाएको अदम्य उत्साहको जति प्रशंसा गरे पनि कम हुन्छ। आज विश्व नै एकाङ्गी र कुत्सित स्वार्थपूर्तिमा लागेको बेला किन कोही अरूको सुख–सुविधाका लागि मरिमेट्छ ? आफ्नो सुख साधन जुटाउन अन्यको हत्यासम्म गर्न अन्यथा नठान्ने समयमा कोही बिरानोलाई दृष्टि प्रदान गर्न तमाम उपाय गर्नु मानवीय भावनाको अपार कदर र सहयोगको अप्रतिम नमूना हो।
आँखा मानव अङ्गमध्ये अति संवेदनशील र नभई नहुने अङ्ग हो। यसको अभावमा जीवन नीरस हुन्छ, संसार असार बन्छ। माट्रिका र विजय सरावगीको यस अभियानमा यस्ता पनि व्यक्तिले दृष्टि पाएका छन्, जो जन्मजात अन्धोपनबाट पीडित थिए। तिनमा खासगरी महिला, जसका लागि संसार बाँच्नेयोग्य नै थिएन। किनकि घरका तमाम काम गर्नुपर्ने, चुलोचौकामा अल्झिनुपर्ने व्यक्ति जब अन्धो हुन्छ, उसले आफूलाई निरुपाय त पाउँछ नै, अरूका लागि पनि सास्तीको सामल बनिदिन्छ। यस अभियान अन्तर्गत यस्ता महिलाहरूले दृष्टि पाएका छन्, जसले जीवनमा पहिलोचोटि संसारलाई हेर्न पाए। तर यतिमैं खुशी भने भइहाल्नुपर्ने अवस्था छैन। किनकि यी सबै जन्मजात मोतीबिन्दुका बिरामी थिए। केही यस्ता पनि छन्, जसलाई दृष्टि दिनै सकिन्न। संसारमा त्यस्तो कुनै आविष्कार भएको छैन, जसले सबै प्रकारको अन्धोपन हटाउन सकोस्। तिनका लागि पनि आँखाको उत्तम विकल्प दिन प्रयास गर्नु आजको बेला सामयिक हुन आउँछ।
कुनै बेला समाजसेवाको क्ष्Fेत्रमा अग्रणी रहेका स्व. चिरञ्जीवी सरावगीले आफ्नो जीवनमा हजारौं व्यक्तिको मोतीबिन्दुको शल्यक्रियामा सहयोग गरेर नेत्रज्योति फर्काउन सहयोग गरेका थिए। उनैका पुत्र र आज वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी यस अभियानमा जुट्नु पारिवारिक पृष्ठभूमिको आग्रह होला, तर अस्पताल चलाउनु नाफामूलक व्यवसाय बनेको आजको समयमा माट्रिका आई फाउन्डेशनले गरीब–विपन्न र सङ्कटमा परेका व्यक्तिको निश्शुल्क शल्यक्रिया गर्नु समाजसेवाको क्षेत्रमा अनुकरणीय उदाहरण हो। सानो अवधिमा यस फाउन्डेशनले यस भेगमा मात्रै हजारौं मानिसको निश्शुल्क शल्यक्रिया गरेको छ। आलोचनाबाट आत्तिएर एकपटक पलायन हुने सोच बनाएको यस संस्थालाई मेयरजस्ता व्यक्तिको परोक्ष्F सहयोग होइन, प्रत्यक्ष्F र सक्रिय सहयोग प्राप्त भएपछि यस समाजसेवाले निरन्तरता पाउने कुरामा सन्देह हुने कारण देखिंदैन। हो अरू पनि सहयोगी हातहरू अगाडि आएर आज तात्कालिक राहत दिने काम भइरहेको बेला माट्रिकालाई यहीं जमाउन, स्थापित गर्न सहयोगी हातहरू उठे, समाजसेवारूपी सुनमा सुगन्ध थपिने निश्चित छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्