ओली र नेपाली काङ्ग्रेसको मिलेमतोमा संसद् विघटन –उपेन्द्र यादव

0
41

प्रस, वीरगंज, २७ पुस/
जनता समाजवादी पार्टीका  कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपीशर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मिलेमतोमा संसद् विघटन भएको आरोप लगाएका छन्। जसपाले सोमवार वीरगंजमा आयोजना गरेको संसद् विघटनविरुद्धको जनप्रदर्शन तथा विरोधसभामा यादवले सो कुरा बताएका हुन्।
राजनीतिक नियुक्तिलगायत महत्वपूर्ण निर्णयहरूमा ओली र नेका सभापति देउवाको मिलेमतोका साथै भागबन्डासमेत हुने गरेको भन्दै नेता यादवले काङ्ग्रेसले संसद् विघटनविरुद्ध गरेको भनिएका आन्दोलन दोहोरो चरित्र र देखावटी नाटक मात्र भएको बताएका छन्। संसद् विघटन अलोकतान्त्रिक कदम भएको टिप्पणी गर्दै उनले लोकतन्त्रको रक्षाका लागि मुलुकका सबै क्षेत्र, वर्ग, समुदाय,  तह र तप्का एकजुट हुनुपर्नेमा जोड दिए।
ओली सरकारसँग मिलेर संवैधानिक अङ्गलगायत अन्य विशिष्ट तहमा आफ्ना नेता, कार्यकर्तालाई भर्ना गरिरहेको नेपाली काङ्ग्रेस मुलुकका लागि निकै खतरा रहेको बताउँदै अध्यक्ष यादवले देशमा निरङ्कुश सैनिक शासन लाद्न केपी ओली उद्धत रहेको आरोप लगाए। आफ्नै पार्टीसमेत चलाउन नसकेको ओलीबाट मुलुकको कल्याण नहुने भन्दै उनले मुलुकका लागि एक मात्रै विकल्प जसपा रहेको दाबी गरे।
सो पार्टीका केन्द्रीय कार्यकारी सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओली तानशाह बन्दै गएको र संविधान सिध्याउने खेलमा लागेको भन्दै संविधान निर्माणको बेला पनि ओलीले संविधान स्वीकार नगरेको हुँदा यसलाई लागू हुन दिने पक्षमा पनि नरहेको आरोप लगाए। पूर्वसांसद कर्णले संसद् पुनस्र्थापना भएमा ओलीको दिन समाप्त हुने बताए। उनले प्रम ओलीको अर्को योजनाअनुरूप राष्ट्रियसभा र प्रदेशसभा समेत खारेज गर्ने कदम चाल्न थालेको बताए।
विरोधसभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रधानमन्त्री ओलीले जनतालाई भ्रम पारिरहेको बताए। संविधानले दिएको अधिकारलाई संरक्षण गर्दै जसपा अन्य अधिकारको लागि लडिरहेको बेला बीचमैं संविधानविरोधी काम भएकोले आम जनतालाई सडकमा आउन बाध्य बनाएको उनको भनाइ थियो।  
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद प्रदीप यादव, सुनील गोइत, प्रदेश सांसद रमेश पटेल, करीमा बेगमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वागत गरेको उक्त कार्यक्रममा जसपाका नेता, कार्यकर्ता तथा समर्थकहरू गाउँ–गाउँबाट बाजा, हात्तीघोडासहित सभास्थलमा पुगेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्