उल्टो दिशामा वीरगंज महानगरको राजस्व सङ्कलन, ५ महीनामा साढे १५ करोड असुली

99

राधेश्याम पटेल, परवानीपुर, २७ पुस/
वीरगंज महानगरको विकासे योजना प्रोजेक्ट बैंकमा थन्किदै गएको छ। चालू आवमा कोरोना महामारी र जनप्रतिनिधिको उदासीनताका कारण आन्तरिक राजस्व असुलीमा गिरावट देखिएपछि विकासे योजनाहरू प्रोजेक्ट बैंकमा थन्किदै गएको हो।
चालू आवको लागि वीरगंज महानगरले ३ अर्ब ८६ करोडको बजेट प्रस्ताव गरेकोमा आन्तरिक स्रोतबाट १२ महीनामा ५० करोड ७५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको थियो। सो बमोजिम राजस्व असुली नभएको वीरगंज महानगरका राजस्व महाशाखा प्रमुख विकास मिश्रले बताए। चालू आवको ३ अर्ब ८६ करोडको बजेटमा २ अर्ब १७ करोड पूँजीगततर्फ विकासे योजनालाई छुट्याइएको थियो। तर आन्तरिक स्रोतको अभाव देखिएपछि विकासे योजना अघि बढ्न नसकेको हो।
वीरगंज महानगरले चालू आवको गत साउनदेखि मङ्सिरसम्म पछिल्लो ५ पटकसम्म १५ करोड ४९ लाख ८३ हजार मात्र राजस्व असुली गर्न सकेको छ। कोरोना महामारीको कारण साउनदेखि असोजसम्म सबैभन्दा बढी प्रभावित भएकोले राजस्व असुली पनि उत्साहजनक नभएको उनले बताए।
महानगरले चालू आवको १२ महीनामा सम्पत्ति करतर्फ रु ११ करोड ५० लाख लक्ष्य लिएकोमा मङ्सिरसम्म ५ महीनामा २२ लाख ३२ हजार, भूमिकर/मालपोततर्फ १ करोड १० लाख लक्ष्य लिएकोमा ३० लाख ७७ हजार, घरबहाल कर रु ८ करोड लक्ष्य लिएकोमा १ करोड ९२ लाख १९ हजार, बहाल बिटौरी करमा २० लाख लक्ष्य लिएकोमा ५ लाख १५ हजार, सवारी साधन कर (सवारी दर्ता र वार्षिक सवारी कर तथा पटकेकर ४ करोड लक्ष्य लिएकोमा मङ्सिरसम्म शून्य राजस्व असुली भएको छ।
त्यसैगरी पूर्वाधार सेवाको उपयोगमा लाग्ने करमा लक्ष्य नतोकिए तापनि २ करोड ५० लाख ९० हजार असुली भएको छ भने विज्ञानतर्फ १२ महीनाको लागि ४५ लाख लक्ष्य तोकिएकोमा मङ्सिरसम्म १४ लाख ७८ हजार, अन्य मनोरञ्जन करतर्फ ४ लाख लक्ष्य पाएकोमा ७ लाख, व्यवस्थापन रजिस्ट्रेशन दस्तुरतर्फ ४ करोड लक्ष्य पाएकोमा मङ्सिरसम्म ५९ लाख ४९ हजार, अखेटोपहारमा लाग्ने करतर्फ डेढ करोड लक्ष्य पाएमा मङ्सिर सम्म ७९ लाख २६ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आयमा १ करोड ८० लाख लक्ष्य पाएकोमा प्रथम ५ महीनामा १ करोड ३३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टीमा १ करोड लक्ष्य राखिएकोमा ५८ लाख, अन्य सेवा शुल्कतर्फ ८ करोड लक्ष्य राखिएकोमा  ६२ लाख २२ हजार मात्र असुली भएको राजस्व महाशाखा प्रमुख तथा प्रशासकीय अधिृकत विकास मिश्रले बताए।
त्यसैगरी अन्य प्रशासनिक सेवा शुल्कमा ३० लाख लक्ष्य राखिएकोमा हालसम्म करीब ४ लाख, पार्किङ शुल्कमा ३० लाख लक्ष्य लिएकोमा १२ लाख २३ हजार मात्र असुली भएको देखिन्छ। यसैगरी नक्शापास दस्तुरतर्फ ५ करोड लक्ष्य लिएकोमा ८५ लाख १४ हजार, सिफारिश दस्तुरतर्फ डेढ करोड लक्ष्य लिएकोमा पौने ३१ लाख, प्रशासनिक दण्ड जरिवानातर्फ २० लाख लक्ष्य लिएकोमा २ लाख ३५ हजार र अन्य राजस्व शीर्षकमा १ करोड लक्ष्य राखिएकोमा उक्त शीर्षकमा शून्य हात लागेको छ।
वीरगंज महानगरले ३३ प्रकारको शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। एकातिर कोरोना महामारीको त्रासको कारण राजस्व प्रभावित बनेको छ भने अर्कोतर्फ जनप्रतिनिधि र करदाताले समयमा कर चुक्ता नगर्दा पनि राजस्व सङ्कलन प्रभावित बनेको प्रशासकीय अधिकृत मिश्रको भनाइ छ। यता योजना महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार वीरगंजको बहुप्रतीक्षित योजनामध्ये चालू आवको लागि प्रोजेक्ट बैंकमा राखिएको योजनामध्ये व्यवस्थित शहरी विकास अन्तर्गत श्रीसिया करिडर, पोखरी परिसर निर्माण, शहर सौन्दर्यीकरण, नगर पार्क, पुल, चक्रपथ, लगायत योजनाहरू थन्किएका छन्।
चालू आवमा डाकिएको नगर परिषद्बाट आन्तरिक आय स्रोतबाट उठ्ने राजस्वबाट यी योजनाहरूको डिपिआर गरी निर्माण काम अघि बढाउने निर्णय भएको थियो। तर चालू आवमा राजस्व सङ्कलन उल्टो दिशामा गएपछि समस्या देखिएको उनको भनाइ छ। पछिल्लो ५ महीनाकै अनुपातमा राजस्व सङ्कलन चलिरह्यो भने यो चालू आवको १२ महीनामा करीब ३७ करोड १९ लाख मात्र राजस्व सङ्कलन हुने देखिएको छ। जबकि वर्षभरिमा पौने ५१ करोड राजस्व असुली गर्ने लक्ष्य राखिएको छ।
मासिक ४ करोड २२ लाख राजस्व सङ्कलनको लक्ष्य लिए तापनि ३ करोड ९ लाखको हाराहारीमा राजस्व संकलन भइरहेको देखिएको छ। गत आव २०७६/०७७ को लागि ९६ करोड ६७ लाख राजस्व लक्ष्य लिएकोमा महानगरले ३२ करोड ९० लाख मात्र सङ्कलन गरेको थियो। त्यसैगरी अघिल्लो आव २०७५–०७६ मा ४७ करोड ४८ लाख लक्ष्य राखेकोमा ८४ करोड ६६ लाख राजस्व असुली गरेको थियो। उक्त आवमा वीरगंज महानगरले राजस्वको दर १० गुणाभन्दा बढी निर्धारण गरेकोले राजस्व असुली बढी भएको थियो। त्यसपछि विरोध भएपछि गत दुई आवदेखि महानगरले राजस्व दरबन्दीमा कर घटाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्