पर्सामा जन्मजात मोतीबिन्दु भएका आठजना फेला

138

प्रस, वीरगंज, २६ पुस/
पर्सामा जन्मजात मोतीबिन्दु हुनेहरू भेटिन थालेका छन्। माट्रिका आई फाउन्डेशनका महेशसिंह धामीले जन्मजात मोतीबिन्दुको घटना दुर्लभ हुने बताए।
उनले गत वर्ष पर्सा जिल्लामा गरिएको निश्शुल्क आँखा शिविरमा एकजना १९ वर्षीया युवतीमा जन्मजात मोतीबिन्दु फेला परेको तर यसपटकको शिविरमा अहिलेसम्म ८ जना जन्मजात मोतीबिन्दु भएको पाइएको बताए।
सामान्यतया ६० वर्ष उमेर भएपछि मोतीबिन्दु हुने गर्छ तर जन्मजात मोतीबिन्दुको घटना दुर्लभ  भएपनि यसपटकको शिविरमा अत्यधिक भेटिएको र यो क्रम जारी रहेको बताए। धामीले अहिलेसम्म वीरगंज महानगरका नगरप्रमुखको सहकार्यमा फाउन्डेशनले जिल्लाको २८ ठाउँमा सम्पन्न गरेको शिविरमा फेला परेका करीब २ हजार मानिसको मोतीबिन्दुको अपरेशन गरिएको र त्यसमा ८ जना जन्मजात मोतीबिन्दु भेटिएको बताए। उनले सबैभन्दा कम उमेरको पटेर्वासुगौली  गापा निवासी १३ वर्षीय आशीष चौधरी रहेको बताए। यसैगरी धोबिनी गापाकी १४ वर्षीया मुस्कान खातुन, १५ वर्ष उमेरका पर्सागढी नपाकी शोहा देवी, ठेगाना नखुलेको दिनेश वर्णवाल, चाँदनी खातुन, जीराभवानी गापाका २१ वर्षीय अक्षय महतो, २५ वर्षीय लक्ष्मी महतो, ३१ वर्षीय हरेराम राममा जन्मजात मोतीबिन्दु फेला परेको र उनीहरूको सफल शल्यक्रिया भएको बताए।
शल्यक्रियापछि केहीले फलोअप उपचार पनि गराइरहेको उनले जानकारी गराए। जन्मजात मोतीबिन्दु भएकाहरू अहिले राम्ररी हेर्न थालेको धामीले दावी गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्