ट्रम्प र नेतृत्वमाथि प्रश्न

90

संयुक्त राज्य अमेरिका विश्वलाई नै नेतृत्व दिने मुलुकको रूपमा उदय भइरहेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको भूमिका सङ्कुचित पार्दै देशलाई एकोहोरो बाटोमा डो–याउने प्रयास त गरेकै हुन्, मपाइँतन्त्रको नयाँ सूत्र पनि आविष्कार गर्न भ्याए। लोकतान्त्रिक व्यवस्थामा बहुमत वा बहुजनको कुरा मान्य हुने सामान्य सिद्धान्त हो। तर ट्रम्पले शुरूदेखि नै विश्व समुदायको आकाङ्क्षालाई लत्याउँदै देशको विश्व नेतृत्वको भूमिकामात्र खुम्च्याएनन्, प्रत्येक अतिवादी निर्णयलाई प्रश्रय दिंदै आए। ट्रम्पभन्दा पहिले अमेरिका उदारवादको नमूना राष्ट्र थियो। विभिन्न मुलुकका नागरिकलाई आफैंले बोलाएर देशलाई कोस्मोपोलिटन बनाउने दिशामा हिंडेको अमेरिका ट्रम्प शासनकालमा आएर जेनोफोबियाग्रस्त भयो। कहाँसम्म भने नाबालकहरूलाई अभिभावकसँग छुट्याउने निकृष्ट कर्मसमेत भयो। विश्व सभ्यता र संस्कृतिको नौलो आयाम बनाउन हिंडेको अमेरिका माओकालको चीनजस्तै एकलकाटो बन्ने लहडमा रुमलियो। विश्व वातावरण सम्बन्धमा ट्रम्पको लिंडेढिपी, इरानसँग भएको सम्झौताको समाप्ति, विश्व स्वास्थ्य सङ्गठनबाट बहिर्गमन गैरअमेरिकी त के अमेरिकी नागरिकलाई समेत पाच्य थिएन।
ट्रम्प सत्तामा आएपछि सत्तामातले यस्तो भएको होइन, शायद उनीमात्र यस्ता राष्ट्रपति भए, जसको विरोधमा शुरूदेखि जनप्रदर्शनहरू भए। कुनै पनि लोकतान्त्रिक मुलुकको शासकले निर्वाचन हारेपछि, आफ्नो पराजय कबुल नगरेको इतिहास पाइँदैन। हो तानाशाह प्रवृत्तिका, राजनीतिक अस्थिरता व्याप्त केही अफ्रिकी मुलुकहरूमा यस्ता शासक नभएका होइनन्स अन्यत्र ट्रम्पजस्तो गैरलोकतान्त्रिक स्वभावका व्यक्ति पाइँदैन। शासनसत्ता सुम्पिने अन्तिम मिति आइपुग्दासमेत निर्वाचन आयोग, सांसदलगायत सबैको बेवास्ता गर्दै पराजय स्वीकार नगरेको मात्र होइन, आफ्ना कार्यकर्ता उचालेर संसद्मा खुनखराबा गराउनेजस्तो अमानवीय आचरणसमेत देखाए। योभन्दा लज्जास्पद अवस्था के होला कि अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका राष्ट्रपतिको ट्विटर नै सधैंका लागि प्रयोगविहीन पारियो। अमेरिकी राष्ट्रपति देशको सर्वोच्च पद मात्र होइन, राष्ट्रप्रमुख पनि हुन्छ, उसमा असीमित अधिकार हुन्छ, उसले संसद्को बहुमतको निर्णय पनि लत्याउन सक्छ, तर जस्तोसुकै पनि अप्ठ्यारो अवस्थामा कुनै पनि राष्ट्रपतिले त्यस अधिकारको फाइदा उठाएको पाइएको छैन।
अब जनवरी २० नजीकिंदै छ। यो दिन निर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता ग्रहण गर्छन्। तर ट्रम्पको मनोविज्ञान र कार्यशैलीले कुनै उधुमविना सत्ता हस्तान्तरण सहज होला भन्ने कुरामा सन्देह गर्ने प्रशस्त ठाउँ छ। ट्रम्प अमेरिकाका यस्ता एक्ला राष्ट्रपति हुन्। नेपालमा त प्रत्येक सरकारको नेतृत्व गर्ने व्यक्तिहरूमा त्यो रोग व्याप्त छ। ओलीलाई ट्रम्पको संस्करण भन्ने कि ट्रम्पलाई ओलीको संस्करण भन्ने त्यो आफ्नो ठाउँमा छ। एक्ला ट्रम्पले गर्दा देशले फजीहत भोग्नुप–यो, यहाँ ‘हर शाख पे उल्लू बैठा है’ भन्ने अवस्था छ। अमेरिकालाई त होलो छ, जो बाइडेन आउँदैछन् उनले देशलाई पुनः लिकमा ल्याउलान्। नेपालमा भने ओली मात्र आफ्नो संस्करणका व्यक्ति होइनन्, प्रचण्ड, माधव नेपाललगायत सत्ताका दाबेदार जति छन् सबै एउटै रोगका अलग–अलग संस्करणहरू हुन्। आज ओली जे गर्दैछन् वा गरे, भोलि आउनेले पनि गर्ने त्यही हो। सत्तामा बस्ने, स्वार्थ साध्ने र देश र दुनियाँलाई अत्याउने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्