अध्ययन ः कला र विज्ञान

96

अनन्तकुमार लाल दास

नेपाली परिवेशमा परीक्षामा बढी अङ्क कसरी ल्याउन सकिन्छ भन्ने कुरामाथि लामो अध्ययनपश्चात् के पाएँ भने स्वअध्ययन विद्यार्थीहरूको लागि अति आवश्यक छ। स्वअध्ययनको अभावले गर्दा नै विद्यार्थीहरू परीक्षामा बढी अङ्क ल्याउन सकिरहेका छैनन्। स्वअध्ययन भनेको कसैको सहयोगबेगर आफूलाई सिकाउने प्रक्रिया हो, जसले विद्यार्थीहरूको बुझाइलाई स्पष्ट पार्दछ। यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई कल्पनाशील बनाउँछ। उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ र शिक्षकबेगर पनि रुचि अनुसारका क्षेत्रहरूको पहिचान र खोज गर्न प्रेरित गर्दछ।
यस आलेखमा शोधबाट प्राप्त अनुभव विद्यार्थी समक्ष प्रस्तुत गने जमर्को गरिएको छ। अध्ययन प्रक्रियामा यसलाई समावेश गरियो भने धेरै लाभदायक हुनेछ। अध्ययन सम्बन्धमा विन्स्टन चर्चिलले एकपटक के भनेका थिए भने म सधैं सिक्न चाहन्छु तर मलाई सधैं पढाइयोस् भन्ने चाहन्नँ। यसैगरी मैल्कम फाब्सले–“अध्ययनको उद्देश्य खाली मस्तिष्कको ठाउँमा खुला मस्तिष्क निर्माण गर्नु हो” भनेका थिए। त्यहीं रैल्फ वाल्डो इमर्सनले भनेका छन्– विद्यालयमा जे कुरो पढाइन्छ त्यो ज्ञान होइन, ज्ञानको माध्यम मात्र हो। अर्थात् तपाईं कुनै किताब किन पढिरहनुभएको छ भन्ने तपाईंलाई स्पष्ट हुनुपर्दछ।
तपाईं यो आलेख पढिरहनुभएको छ। यसको अर्थ के हो भने तपाईं अध्ययन गर्न रुचाउनुहुन्छ तर अध्ययन गर्नु एउटा ‘कला’ पनि हो भन्ने कुरा तपाईलाई थाहा छ वा छैन म जान्दिनँ। अध्ययन गर्नु ‘कला’ मात्र हैन, ‘विज्ञान’ पनि हो। मैले जति विद्यार्थीसँग यस सम्बन्धमा कुरा गरेको छु, सबैले मलाई निराश नै पारेका छन् किनभने उनीहरूको जवाफ थियो, “हामी पढ्ने गर्छौं। यसमा बुझ्ने कुरा के नै छ र ?”
प्रायः हामी सबैले ‘कला’ र ‘विज्ञान’ लाई बेग्लाबेग्लै विषय ठान्छौं तर गहिरो अध्ययनले के देखाएको छ भने यी दुवै विषय एउटै सिक्काका दुई पाटा हुन्। कलाको अर्थ हो, कुनै पनि कामलाई राम्रो तरीकाले गर्ने जानकारी। जस्तै, हामीसबै गीत गुनगुनाउँछौं तर जुन बेला गाउने कलाको ज्ञान प्राप्त हुन्छ हामी ‘गायक’ कहलिन्छौं। हामी सबै केही न केही खेल खेल्छौं तर जब राम्ररी खेल्न थाल्छौं हामी खेलाडी कहलिन्छौं। हामी सबै पढ्छौं तर जब राम्ररी पढ्छौं परीक्षामा राम्रो अङ्क पनि प्राप्त गर्छौं।
विज्ञान के हो ? ज्ञानको व्यवस्थित रूप नै विज्ञान हो। वैदिक ग्रन्थमा विज्ञानलाई व्यावहारिक ज्ञान (एप्लाइड नालेज) भनिएको छ। अर्थात् जुन बेला प्राप्त ज्ञानलाई हामी प्रयोगमा ल्याउन थाल्छौं त्यो विज्ञान हुन्छ। विज्ञान भनेको रसायन, भौतिक वा जीव विज्ञान मात्र होइन। विज्ञानको अर्थ धेरै व्यापक छ। जुन ठाउँमा एउटा निश्चित व्यवस्था हुन्छ, त्यहाँ विज्ञान हुन्छ। अर्थात् हाम्रो जीवन पनि एउटा विज्ञान हो किनभने सास फेर्नु, भोक लाग्नु, खाना खानु, आराम गर्नु, सुत्नु यी सबै जीवनका व्यवस्थित रूप हुन्।
प्रकृति र जीवनमा घट्ने सबैखाले घटनाहरू एउटा निश्चित वैज्ञानिक नियम अनुसार नै हुने गर्दछ भने अध्ययन गर्नु कसरी विज्ञान बाहिरको विषय हुन सक्छ ? यो त विज्ञानको पनि विज्ञान अर्थात् अद्भुत विज्ञान हो। अद्भुत यस कारणले कि हामी जे पढ्छौं त्यसको चित्र मस्तिष्कमा बन्दछ। तत्पश्चात् मस्तिष्कले त्यसको सम्पादन गर्छ। कहिलेकाहीं त मस्तिष्कले त्यसमा आफ्नो कुरासमेत समावेश गरी त्यसको रूप नै परिवर्तित गरिदिन्छ। एउटा निश्चित अवधिसम्म मस्तिष्कले त्यसलाई सुरक्ष्Fित राख्छ। केही समयपश्चात् त्यसमध्ये केही नष्ट हुन्छ तर कहिलेकाहीं कस्तो हुन्छ भने चाहिएको बेला पुनः त्यसलाई खोजेर हामीलाई सुम्पिन्छ पनि।
यहाँ तपाईं यसको तुलना कम्प्युटरमा हुने प्रक्रियासँग पनि गर्न सक्नुहुन्छ। तपाईंले कम्प्युटरमा जे टाइप गर्नुहुन्छ त्यो त्यसको ‘मेमोरी’मा जान्छ। त्यसपछि तपाईंले त्यसलाई ‘अडिट’ गरेर ‘सेभ’ गर्नुहुन्छ। जुनबेला तपाईंलाई त्यसको आवश्यकता पर्छ, सम्बद्ध फाइल खोजेर पुनः स्क्रीनमा ल्याउनुहुन्छ। मेरो प्रश्न तपाईंहरूसँग के छ भने यदि कम्प्युटर विज्ञान हो भने के हाम्रो मस्तिष्क विज्ञान हुन सक्दैन ? मस्तिष्क भनेको एउटा विलक्षण कम्प्युटर हो। यो त कम्प्युटरको पनि कम्प्युटर हो। यस कारण मैले अध्ययनलाई ‘विज्ञानको पनि विज्ञान’ भनेको हँु।
अध्ययन विज्ञान मात्र होइन, किनभने अध्ययन गर्ने तरीका विद्यार्थीपिच्छे बदलिन्छ। विज्ञानमा यस्तो हुँदैन। विज्ञानको निष्कर्ष सधैं एकनास हुन्छ तर अध्ययनको हुँदैन। स्वामी विवेकानन्दका लागि कुनै किताबलाई एकपटक पढ्नु नै पर्याप्त थियो तर आम विद्यार्थी त्यसलाई कैयौंपटक पढेर पनि याद राख्न सक्दैनन्। यस कारण अध्ययन कला पनि हो। कुनै काम गर्ने नियम एकनासको भए पनि गर्ने तरीका जब विद्यार्थीपिच्छे फरक हुन्छ त्यो प्रक्रिया कला बन्दछ। अर्थात् ‘कसरी हुन्छ’ भन्ने कुरा विज्ञान हो भने ‘कसरी गर्ने’ भन्ने कुरा कला हो।
अध्ययनको एउटा निश्चित वैज्ञानिक पद्धति हुन्छ तर जब यस पद्धतिको उपयोग गरिन्छ, विद्यार्थीपिच्छे फरक–फरक परिणाम देखापर्छ। भन्न के खोजिएको हो भने पढ्ने पद्धति एउटा हुन्छ भने पढ्ने विद्यार्थी एकनासका हुँदैनन्। प्रकृतिले हरेक विद्यार्थीलाई हरेक दृष्टिकोणले फरक बनाएको छ। हरेकको रुचि फरक छ। हरेकको मानसिक र शारीरिक क्षमता पनि फरक हुन्छ। हरेकको परिस्थिति र वातावरण फरक छ। यस कारण अध्ययनको नियम एक भए तापनि परिणाम बेग्लाबेग्लै प्राप्त हुन्छ।
विद्यार्थीहरूले अध्ययन कला बुझ्न सके भने राम्रो परिणाम हासिल गर्न सक्छन्। यदि कुनै कामलाई व्यवस्थित तरीकाले गरियो भने परिणाम पहिलेभन्दा राम्रो हुन्छ भन्ने प्रकृतिको नियम हो। जस्तै रूखलाई यदि व्यवस्थित तरीकाले रोपियो र त्यसको उचित स्याहारसुसार गरियो भने छिट्टै ती रूख ठूलो व्यास भएको लामो रूखमा छिट्टै परिणत हुन्छन्।
अध्ययनको सरल अर्थ हो – पढ्नु। व्यापक अर्थमा अध्ययनको सम्बन्ध मात्र किताब पढ्नु होइन। तपाईंले एउटा व्यक्तिले गर्ने व्यवहारको अध्ययन गर्न सक्नुहुन्छ। पुतलीले गर्ने गतिविधिको अध्ययन गर्न सक्नुहुन्छ। तपाईं पर्यावरणको अध्ययन गर्न सक्नुहुन्छ। पर्यवेक्षण पनि एक प्रकारको अध्ययन नै हो। तर हामी यहाँ जुन कुरोको चर्चा गदैछौं त्यसको सम्बन्ध पुस्तक अध्ययनसँग नै रहेको छ तर व्यापकतामा अध्ययनको अर्थ कुनै कुराको जानकारी प्राप्त गर्नु हो। त्यो जानकारी पुस्तक पढेर प्राप्त गर्न सकिन्छ, सुनेर वा हेरेर पनि हासिल गर्न सकिन्छ। यसको अर्थ के हो भने जुनसुकै बेला तपाईं अध्ययनरत हुनुहुन्छ। यस कारण के भन्न सकिन्छ भने हेरेर, सुनेर, पढेर, सिखेर, सोचेर, बुझेर, लेखेर वा बोलेर अध्ययन गर्न सकिन्छ वा यी प्रक्रियाबाट हामी अध्ययन गर्दछौं। अर्थात् जुन कार्य गर्दा हाम्रो मस्तिष्क पनि त्यसमा सामेल हुन्छ, त्यो हाम्रो अध्ययनको गतिविधि बन्न पुग्छ।
विद्यार्थीहरूले अध्ययनलाई हरेक क्षण केही न केही जनकारी हासिल भइरहेको छ भन्ने अर्थमा लिनु उचित हुन्छ। पढ्दाखेरी कुनै कुरालाई ग्रहण गर्ने हाम्रो मस्तिष्कको क्षमता कस्तो छ भन्ने कुरामा निर्भर गर्दछ। हाम्रो अनुभव जति फराकिलो हुन्छ, ग्रहण गर्ने क्षमता त्यतिकै बढी हुन्छ। यो अनुभव किताब पढेर होइन हेरेर, सुनेर, सोचेर, बुझेर, सोही अनुरूप व्यवहार र कुराकानी गरेर प्राप्त हुन्छ। प्रायः विद्यार्थीहरू यिनै कुराको उपेक्षा गर्ने गर्छन् किनभने उनीहरूको दृष्टिमा पुस्तक अध्ययन नै वास्तविक अध्ययन हो। यस्ता ‘पढाकू’ विद्यार्थीहरू विद्यालयमा सफल भए तापनि जीवनको धरातलमा असफल हुन्छन्। उनीहरू सोच्छन्–“म पढाइमा यति राम्रो थिएँ, तर जीवनमा किन असफल भइरहको छु ?” यसको एकमात्र जवाफ हो उनीहरूले आफूलाई पुस्तकमा मात्र सीमित राखे। मर्लिन वास सेवेन्टले भनेका छन्–ज्ञान प्राप्त गर्न पढ्नुपर्छ र बुद्धिमत्ताको लागि अवलोकन गर्नुपर्छ। यस कारण विद्यार्थीहरूलाई के सल्लाह  छ भने उनीहरूले अध्ययनलाई व्यापक अर्थमा ग्रहण गर्नुपर्छ। पढ्नुको साथसाथै  पढेको कुरा बुझ्नु पनि पर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्