बहुदरमाईमा ओलीपक्षको वृहत् भेला

93

प्रस, वीरगंज, २५ पुस/
बहुदरमाई नगरपालिकामा नेकपा ओली पक्षको वृहत् नगर भेला शनिवार सम्पन्न भयो। संसद् विघटन र अबको बाटोबारे पार्टीका नेता कार्यकर्ताहरूलाई प्रस्ट्याउन भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ।
सो पार्टीका नेता प्रमोद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले प्रधानमन्त्री ओलीको कदम राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा रहेको बताउँदै पार्टी भित्रैबाट असहयोग र मुलुकमा अस्थिरता फैलाउन खोज्नेहरूबाट निकास पाउन पनि जनमतमा जानुपरेको बताए।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ताले हिजो ओलीको नेतृत्वलाई पत्याएर मतदाताले मतदान गरेको भन्दै आज उनै ओलीलाई कामै गर्न नदिएर भाँजो हाल्ने र पदच्युत गर्ने षड्यन्त्रसमेत भएकोले जनताको नासो जनतामा नै बुझाउनु प्रधानमन्त्री ओलीको लोकतान्त्रिक अध्यासको नमुना भएको बताए।  नियम कानुन बनाउने, स्थानीय तह र प्रदेशलाई व्यवस्थित गर्दै नयाँ प्रणाली अनुसार मुलुकलाई लैजान निकै चुनौतीपूर्ण काम वर्तमान सरकारले गरेको चर्चा गर्दै नेता गुप्ताले राष्ट्रियता, जनजीविका र विकास निर्माणमा पनि महत्वपूर्ण कामहरू भएको दाबी गरे।
सो अवसरमा संविधानसभा सदस्य एवं केन्द्रीय सदस्य प्रद्युम्न चौहान, फूलझरीदेवी, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेकपा युवा नेता यशवन्त यादव, हनिफ अंसारी, सुरज कलवार, विन्ध्याचल ठाकुर, खुरम आलमलगायतले मन्तव्य व्यक्त गरेका जिल्ला कमिटी सदस्य सञ्जीव मिश्राले जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्