प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा काङ्ग्रेसको विरोधसभा

97

प्रस, वीरगंज, २५ पुस/
संसद् विघटनको विरोधमा नेपाली काङ्ग्रेस पर्साले आज जिल्लाका ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एक साथ प्रदर्शन गरेको छ।
संसद् विघटनलाई असंवैधानिक भनेको काङ्ग्रेसले पर्साका ८ प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो। विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरूले संसद् विघटन असंवैधानिक भएको बताएका छन्। वीरगंज क्षेत्र नम्बर १ को प्रदेश सभा ख अन्तर्गत माईस्थानमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले संविधानमाथि प्रहार हुँदा काङ्ग्रेस चुप लागेर बस्न नसक्ने बताए। उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधका लागि काङ्ग्रेसले चरणबद्ध आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरे अनुसार आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध –याली र सभा भइरहेको जानकारी दिए।
काङ्ग्रेस सभापति द्विवेदीले झन्डै दुईतिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्तरूपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए।
कार्यक्रममा पूर्वसांसद एवं काङ्ग्रेस नेता अनिल रूँगटाले संविधान निर्माणको क्रममा राजनीतिक स्थिरताका दृष्टिकोणले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार हटाइएको उल्लेख गरे।
माईस्थानको विरोध कार्यक्रम शिव बालक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। यता पर्सा प्रदेशसभा निर्वाचन ख अन्तर्गत सम्पन्न विरोधसभा अरविन्द गुप्ताको सभापतित्वमा सम्पन्न भएको र विरोधसभालाई पार्टी सभापति द्विवेदीलगायत नेताहरूले सम्बोधन गरेको नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए।
नेपाली काङ्ग्रेसको क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्ष्Fेत्र क अन्तर्गत पचरूखी बहुअर्वामा आज विरोधसभा सम्पन्न भएको छ। विरोधसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले संसद्ले सरकार दिन नसकेको अवस्थामा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था रहेको अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको आरोप लगाए। उनले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै अवस्थामा हुन नसक्ने भन्दै दुईतिहाईको सरकार भन्ने तर संसद्मा विश्वासको मत लिन नसक्ने सरकारले चुनावबाट जनताको मत लिन्छु भन्नु आकाशको फल भएको बताए।
विरोधसभा बुथसभापति जङ्गबहादुरदास थारूको सभापतित्वमा शुरु भएको कार्यक्रममा पर्सागढीका मेयर लोकनारायण यादव, नेता रोशन लामिछाने, विजय कर्ण, हरेन्द्र सिंह, शैलेन्द्र चौधरी, मदन यादव, वैकुण्ठ श्रीवास्तव, ह्दयनारायण कुर्मी, कृष्णदेव यादव, समसुद्दीन देवान, मेराज यादव, प्रेमचन्द्र कुशवाहा, छोटेलाल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम उमेशसाह तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यसैगरी पर्सा क्षेत्र नं १ को (क) मा पनि मोटरसाइकल –याली र वीरगंज २२ मनियारीको जगरनाथपुर चोकमा विरोध सभा सम्पन्न भएको नेपाली काङ्ग्रेस पर्साका नेता रामनारायण कुर्मीले जानकारी गराए।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति पर्सा क्षेत्र ३ (क)को आयोजनामा आज श्रीपुर–पचगावामा विरोधसभा सम्पन्न भएको छ। विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले केन्द्र र प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए। उनले प्रदेश नम्बर २ मा सबै भन्दा बढी बलात्कारको घटना भएको र यस्ता घटनामा प्रदेश सरकार मौन रहेको आरोप लगाए। पूर्वमन्त्री चौधरीले नेकपा भित्रको आन्तरिक द्वन्दको कारण ओलीले देशलाई विषम परिस्थितिमा पु–याएको बताए।
कार्यक्रम नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुलमान मियाँ दर्जीको अध्यक्षतामा सम्पन्न भएको थियो।
यसैगरी क्षेत्र नम्बर ४ को जीराभवानी गाउँपालिकाको सेढवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए। पाँच वर्षको अवधि रहेको संसद् विघटन गरी पुनः निर्वाचन गराउन नेपालको आर्थिक अवस्था नरहेको बताउँदै नेता रिजालले कम्युनिस्टले देशलाई बन्धक बनाउन लागेका कारण नेपाली जनताले पनि निर्वाचन चाहेको बताए। उनले देशमा जनताले राजालाई हटाउन त बाँकी राखेन भन्दै अब ओली सरकारलाई जनताले लखेटनने बताए।
नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्य समिति पर्सा क्षेत्र नं ४ का सभापति श्रीकान्त यादवको सभापतित्वमा सम्पन्न विरोधसभामा प्रदेशसभा सदस्य शङ्कर चौधरी, बृहष्पतिकृष्ण श्रेष्ठ, रामबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी आजै काङ्ग्रेसले क्षेत्र नम्बर २ अलौ, क्षेत्र नम्बर ३ विश्रामपुर र क्षेत्र नम्बर ४ मुडलीमा समेत विरोधसभा सम्पन्न गरेको नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए।
आज बारामा आठवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस बाराले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेको छ। बाराको फेटामा आयोजित विरोधसभामा तरुण दल बाराका अध्यक्ष लोकेश सिंहलगायत नेताहरूले सम्बोधन गरेका थिए।
प्रस, सिम्रौनगढ/
संसद विघटनविरुद्ध नेपाली काङ्ग्रेसले आज निजगढमा विरोध प्रदर्शन गरेको छ। क्षेत्र नं १ का सभापति विजयशङ्कर यादवको नेतृत्वमा निस्केको विरोध जुलूस निजगढ  बजार परिक्रमा गरी शहीद चोक पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा  प्रमुख अतिथि नेपाली काङ्ग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखरप्रसाद यादव, क्षेत्र नं १ का सभापति विजयशङ्कर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम क्षेत्र  नं १ (क) का अध्यक्ष  रामकुमारी घलेको अध्यक्षतामा भएको थियो। नेपाली काङ्ग्रेसको राष्ट्रव्यापी केन्द्रीय विरोध कार्यक्रम अनुसार प्रदेश निर्वाचन क्षेत्र स्तरमा विरोध कार्यक्रम आयोजना गरिएको हो।
प्रस, रौतहट/
संसद् विघटनको विरोध गर्दै आज  नेपाली काङ्ग्रेसले रौतहटमा जुलूस प्रदर्शन गरेको छ । पुस ५ गते नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काङ्ग्रेसले शनिवार गौर विपी चोकदेखि भन्सारसम्म विरोध जुलूस प्रदर्शन गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्