स्वार्थ र अहङ्कार

0
49

मुकुन्द आचार्य

एकताका हाम्रो नेपालमा राजनीतिक पण्डितहरूलाई ‘दादा’ भन्ने चलन थियो। फिलिमहरूमा चैं गुन्डा, बदमाशलाई दादा भन्थे। वर्तमानमा चैं नेता जति सबै दादा र दादा जति सबै नेता भएर छ्यासमिस भएका छन्। को नेता हो, को दादा हो, को बाहुबली हो– यो छुट्याउनै गा–हो भएको छ।
एक आदरणीय व्यक्तित्व छन्। जिन्दगीभरि राजनीति गरे। अचेल राजनीतिलाई बाइपास गरेर घरमैं बस्छन्। तर जतिखेर पनि राजनीतिकै कुरा गर्नु उनको विशेषता र कमजोरी बनेको छ। जुनसुकै घटनालाई पनि राजनीतिको थोत्रो चश्मा लाएर हेर्छन्। आफ्नै खाले विश्लेषण गरेर सुनाउँछन्। लास्टै बोर गर्छन्। गाईभैंसीले जस्तै खाएर अनि फुर्सतमा उग्राएर बस्छन्।
ती विद्वान् विश्लेषकको गफ सुन्न त्यस्तै कामधाम नभएका जनता जनार्दन भेला हुन पुग्छन्। पुराण भन्ने पण्डितले व्यासासनमा पल्थी मारेर प्रवचन गरे जस्तै पारामा यी बिचरा असफल राजनीतिज्ञ पनि चपाइचपाइ कुरा गर्छन्। पहिले आफूलाई वामपन्थी भन्थे पछि काङ्ग्रेसी झन्डा बोकेर उफ्रन थाले। वल्लो घाटका न पल्लो तिरका भए। ‘द्विविधा में दोनो गए माया मिली न राम’ भनेजस्तै चौटा खान गएका नेताजी त झोलमा डुबेर मरेछन्। ‘इतो भ्रष्ट, उतो भ्रष्ट’ यस्तैलाई भन्छन्।
नेपालमा राजनीतिक क्षेत्र निकै उर्वर छ भनेर अर्का सज्जन यस्ता पोलिटिकल पण्डितका पट्टु शिष्य हुन पुगेका छन्। एक दिन मौका छोपेर बूढाको मूड ठीक भॉबेलामा शिष्यले गुरुचरण थिचिरहेको बेलामा सोधे, “दादा १ हजुरले त राजनीतिमैं हग्नु भो, राजनीतिमैं खानु भो, राजनीतिमैं चुठ्नु भो, राजनीतिमैं लुट्नु भो– अब जीवनको यो चौथो अवस्थामा आइपुग्दा कस्तो लाग्छ ? के यस्तो राजनीतिले देश उँभो लाग्छ ? नढाँटी भन्नुस है १ कुरो चैं खाँटी भन्नुस् है। राजनीति किन यस्तै फोहरी र बदनाम भयो ?
बूढो बाघले जुँगा हल्लायो। गम्भीर गर्जना ग–यो, हेर बाबै देश भनेको हिंसक पशुहरू बस्ने वन हो। शासक प्रधानमन्त्री वा राष्ट्रपति वनको राजा सिंह हो। अरू मन्त्रीगण आसेपासे, चाकरीबाज चै बाघ–भालु, चितुवा, ब्वाँसो, स्याल, कुकुर, सर्प आदि हुन्। सबैको वासस्थान जङ्गल नै हो। सबै आआफ्ना स्वार्थ र अहङ्कारले पीडित छन्। तँभन्दा म के कम ? यस्तै कुविचारले राजनीतिको बजार तातेको हुन्छ।
हाम्रा नेताहरू कुनै पनि काम गर्दा पहिला आफ्नो दुनो सोझ्याउँछन्। मलाई के फाइदा हुन्छ त यसो गर्दा ? त्यसपछि मेरा नातागोता आफन्तहरू यस कामबाट कसरी कति कमाउन सक्छन् ? सबभन्दा अन्त्यमा देशको पालो आउँछ। उल्टो भयो। सबभन्दा पहिला त देशका बारेमा सोच्नुपर्ने थियो तर लाभ पाउने बेलामा देश लास्टमा पर्न आउँछ। नेपालीको दुर्भाग्य १
हाम्रो अर्को ठूलो शत्रु हो– अहङ्कार १ स्वार्थी भएर कमाएपछि तुजु्रक बढ्छ। जुँगाको लडाइँ शुरू हुन्छ। तँभन्दा म के कम ?१ भन्ने भावले… सङ्घर्ष भित्रभित्रै चलिरहन्छ। अनि ससानो कुरामा ठूलठूला झगडा हुन्छन्। पावर, पैसा, प्रतिष्ठा र पद– यी चार चरण हुन्छन् कुर्सीको। त्यसैले सबै तहका नेता कुर्सी भनेपछि हुरुक्कै हुन्छन्। प्राण जाहिं पर कुर्सी नजाहिं १
ताजा उदाहरण नै हेरौं न। अमेरिकाको धन, सैन्य शक्ति विश्वमा नम्बर वन मानिन्छ। तर राष्ट्रपतिको चुनाउ हारेर पनि ट्रम्पले हार मानेनन्। पैसा खर्च गरेर गुन्डाहरू भिडाएर ट्रम्पले गर्नु गरे। अमेरिकाको दम्भ उदाङ्गो भयो। प्रजातन्त्र हैन, भीडतन्त्रको शासन अमेरिकामा रै‘छ, भन्ने कुरो त छर्लङ्ग भयो नि १
हैन भने ट्रम्प जस्ता एक नम्बरका गुन्डालाई कानूनी कारबाई गरेर दण्डित गर्न सक्नुप–यो। अमेरिकाले त्यसो गर्न सक्दैन भने उसले फोस्रो धाक लाउन छोडे हुन्छ– “हामी डेमोक्रेसीका ठेकेदार हौं।” भन्न सुहाउँदैन अब अमेरिकाले १ धाकभन्दा धक्कू ठूलो हिंड्न लाग्दा खुट्टा लुलो १
व्यक्तिको जीवनमा पनि स्वार्थ र अहङ्कारको प्रमुख भूमिका हुन्छ। त्यसैले सर्वत्र अशान्तिकै एकछत्र साम्राज्य छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्