मधेससँग अन्तरङ्ग सम्बन्ध–पद्मा नेपाल

0
72

राजेश मिश्र

“आइल साल फुलल गाल, भादो महिनवा उहे हाल” अर्थात् अन्नबाली भिœयाइसकेको केही महीनासम्म मीठोमसिनो खान पाइन्थ्यो। वर्षात्को समयमा खाद्यान्न सकिन्थ्यो। खानाको लागि पुनः समस्या झेल्नुपथ्र्यो। उपरोक्त देहाती कहावत ९० वर्षीया वृद्धाको आवाजमा सुनूँ–सुनूँ जस्तो लाग्छ। मधेसको परिवेशसँग जन्मजात उनको अन्तरङ्ग सम्बन्ध छ। सामुदायिकरूपमा मात्र उनी पहाडी हुन्। पर्सा जिल्लाको देहात उनको जन्मधर्ती हो। ७५ वर्षअघि वीरगंज शहरमा विवाह भयो। जीवनको ९ दशक व्यतीत गरिसकेकी वीरगंज मनपा–२ की उनी हुन्– वृद्धा पद्मा नेपाल। संयोग नै भन्नुपर्छ, वृद्धाको नाम पद्मा नेपाल त हो नै उनको सासूको नाम पनि पद्मा नेपाल थियो। अहिले बुहारीको नाम पनि पद्मा नेपाल नै हो। तीन पुस्तासम्म एउटै नामको निरन्तरता आश्चर्यजनक संयोग भन्नुपर्छ।
म बिहान करीब नौ बजे पुगें। मौसम चीसो थियो। उनी सिरकले जीउदेखि अनुहारसम्म छोपेर ओछ्यानमा पल्टिरहेकी थिइन्। निद्रामा थिइनन्। नजीक उभिएर मैले भनें, “आमा प्रणाम, तबियत कैसन बा ? उनले सिरकभित्रैबाट उत्तर फर्काइन्, “खुशी रह, तबियत ठीक बाटे।” यति भन्दै उनले प्रश्न गरिन्, “के ह ? कथि नाम ह ? कहाँ घर ह ?” योभन्दा पहिले उनीसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको थिएन। त्यसैले होला शायद यति धेरै प्रश्न् गरेकी हुन्। मैले भने, “हमर नाम राजेश ह आमा।” यतिमात्र भनें। केहीबेर चुप रहें। घर बताउन अलि ढिलो गरें।
म उनको माइतीको नाम लिएर माइतीप्रतिको उनको भावनात्मक प्रतिक्रिया जान्न आतुर थिएँ। उनले सिरकभित्रबाटै पुनः प्रश्न गरिन्, “घरवा (घर) ना बाताव कहाँ ह ?” उनी पत्रकार शत्रुघ्न नेपालकी आमा हुन्। त्यसैले उनको माइती पर्साको धर्मपुर हो भनेर मलाई पूर्वजानकारी थियो। वीरगंजदेखि करीब २० किलोमिटर पश्चिम–उत्तर झखरा मसिहानीनजीक धर्मपुर गाउँ पर्छ। मैले भनें, “आमा हम सुननी हँ– कादून अपने के तबियत खाराब बा ? ओहीसे आइल बानी अपने के धर्मपुर लेजाए ला।” यति सुनेपछि उनी सिरकसहित जुरुक्क उठिन्।
अपवादबाहेक महिलाहरूको लागि सन्तानपछि संसारको सबैभन्दा प्यारो केही छ भने ‘आमा र माइती’ नै हो। अस्वस्थ वा विषम परिस्थितिमा रहेको भएपनि ‘माइती’ शब्दले महिलाहरूलाई ओखतीको रूपमा शान्ति प्रदान गर्दो रहेछ। माइतीको नाम सुन्नेबित्तिकै महिलाहरूको अनुहारमा मुस्कान र मनमा शान्ति न छाउने कुरै हुँदैन।
उनी चिहाएर मेरो अनुहार हेर्न थालिन्। वास्तवमा यसअघि उनको आँखाले मेरो अनुहार कहिल्यै देखेको थिएन। उनको कानले मेरो स्वर कहिल्यै सुनेको थिएन। त्यसैले मेरो अनुहार र स्वर उनको लागि नौलो थियो। उनको लागि म बिल्कुल अपरिचित थिएँ। त्यत्तिकैमा शत्रुघ्न दाइ आए र आमालाई मेरो परिचय बताइदिए। शत्रुघ्न दाइकी पत्नी मेरी भाउजू (पद्मा नेपाल)ले मलाई गर्मागरम चिया ल्याइदिइन्। भाउजू भान्सामा र दाइ कम्प्युटरतिर लागे। म र आमाबीच ठेट भोजपुरीमा कुराकानी हुन थाल्यो।
नौ दशकअघि पर्सा जिल्लाको झखरा मसिहानीनजिकै रहेको धर्मपुर गाउँमा उनको जन्म भएको थियो। दुई दिदीबहिनी र दुई भाइमध्ये उनी जेठी हुन्। बुबा र आमाको पहिलो सन्तानको रूपमा उनको जन्म भएपछि परिवार त खुशी थियो नै गाउँलेसमेत हर्षित थिए। आमा (उमादेवी ढुङ्गाना)ले भनेको कुरा उनलाई झल्झल्ती याद छ। गाउँका मानिसहरू एकले अर्कोलाई भन्दै थिए, “हो, थाह बा तोहरा ? उमा काकी के बेटी नु भइल खिय।” एक कान दुई कान हुँदै वरिपरिका गाउँहरू झबराहा, मसिहानी, सन्ठी, मनिअर्वा तथा निचुटाका आफन्तजनसम्म उनको जन्मोत्सवको खबर पुग्यो।
वृद्धाको माइती गाउँ धर्मपुरमा ६ घर पहाडी परिवारको बसोबास रहेको थियो। यसअलावा झखरा, मसिहानी, सन्ठी र लमरियामा पनि पहाडी समुदायको बसोबास थियो। गाउँघरका मानिससँग कुराकानी गर्ने माध्यम भोजपुरी भाषा नै थियो। अपवादबाहेक परिवारमा समेत भोजपुरी भाषा नै चलनमा थियो। यद्यपि कुटुम्बहरूसँग नेपाली भाषामा कुराकानी गरिन्थ्यो।
१५ वर्षको उमेरमा उनको बिहे वीरगंजको छपकैया निवासी धुनप्रसाद शर्मासँग भएको थियो। असार महीनामा भएको बिहेमा दुलहा पालकी चढेर आएका थिए। ‘बाराती’ (जन्ती)हरू बैलगाडामा र केही पैदल पुगेका थिए। आजको जस्तो विभिन्न परिकार वा माछा/मासुको चलन थिएन। आम्दानी र खाद्यान्न सामग्रीको उपलब्धता आजको जस्तो थिएन। बारातीलाई दाल–भात वा दही–चिउरा खुवाइन्थ्यो। राति बिहे भयो। एकाबिहान ‘बरियात’ फर्कियो। मोहरफा (मेहना)मा दुलहीको शृङ्गारमा सजिएर पतिको घर आएको कुरा उनको सम्झनामा ताजै छ।
उनी आफ्नो जीवनकालका तीता–मीठा पलहरू पार गर्दै बाँचिरहेकी छन्। उनी भन्छिन्, “जीवनमा पीडादायी समयको सामना नगर्ने कोही पनि नहोला। दुःख र सुख भनेको जीवनका अभिन्न साथी जस्तै हुन्।” एक छोरा र एक छोरीको सानैमा अवसान भयो। दुई छोरा र दुई छोरी बाँचे। पति पनि परमधाम गइसकेको धेरै भयो। पछिल्लो समय नाति (शत्रुघ्न दाइको कान्छो छोरा) गुमाएको गहिरो पीडा मनमा बिझिरहन्छ। छोरा–बुहारी, छोरी–ज्वाइँ र नाति पनातिहरूलाई देखेर विगतका पीडा कम हुने बताउँछिन्। पहाडी समुदायका उनी फर्रर भोजपुरी भाषामा कुरा गर्दा पहाडी हुन् कि मधेसी ठम्याउन मुश्किल पर्छ।
विगतमा सुत्केरी महिलाको प्रसूति सम्बन्धमा उनको अनुभव यस्तो छ, “उतिबेला गाउँ–गाउँमा स्वास्थ्य केन्द्र थिएन, एकमात्र वीरगंजमा स्वास्थ्य सेवा उपलब्ध थियो। वीरगंज आउनलाई सडक र सवारीको उपलब्धता आजको जस्तो थिएन। सुत्केरी महिलाको प्रसूतिको लागि ‘चमइन’ नै चिकित्सक सरह सहयोगी थिइन् भन्नुपर्छ,” उनले भनिन्, “गाउँमा एउटा भनाइ नै प्रचलित थियो– जे जराइ पेटा, ऊ खेलाइ बेटा।” यसको भावार्थ के हो भने पेटमा बच्चा रहेदेखि जन्मेपछिको केही महीनासम्म गरिष्ठ वा अपाच्य भोजन सुत्केरीले गर्नुहुँदैन। जिब्रोले मागे अनुसारको भोजन गर्नुहुँदैन। जुन सुत्केरीले सुपाच्य भोजन गर्छिन्, उसले आफू र बच्चालाई स्वस्थ राख्छिन्।
माइतीमा उनले नजरबन्दको तमाशा देखेको कुरा आजसम्म याद छ। खलियानीमा सोहोरेको धानले दुलदुल घोडाको खेल, भालु र बाँदरको खेल, नजरबन्दको खेल आदि हेर्न पाइन्थ्यो। एक प्रसङ्गमा उनले भनिन्, “रहिला (चना), खेंसारी आ काँच गहुँके ‘होरहा’ (आगोमा पोलेको) खाए में बडी स्वादिष्ट लागे।” अहिले थरीथरीका खाद्य सामग्री उपलब्ध छन् तर हाम्रो बेलाको पारम्परिक खाद्यान्न विषादीरहित थियो। अचेल विषादीरहित पाउन मुश्किल छ। देहातको छानामा फलेको कोंहडा (फर्सी)को तरकारी र भथुवा (कोभिन्डो)को अदौरी (मस्यौरा) उनलाई धेरै मन पर्छ।
वीरगंजदेखि माइती धर्मपुरसम्म धेरैपटक पैदल यात्रा गरेको स्मरण छ उनलाई। माइतीको यात्राबारे उनी भन्छिन्, “तीन घण्टा हिंडेर पोखरिया पुगें, एकजनाको ठाटीको घर थियो, कसको थियो नाम याद छैन, एक बूढी आमाले भन्थिइन्– बबी सुस्ता ल, खा ल त जइह (नानी आराम गर, खाऊ अनि जानु), केही बेर आराम गरिन्थ्यो, खाना खाइन्थ्यो, त्यसपछि धर्मपुरको यात्रा गरिन्थ्यो।”
यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक सङ्घ पर्साले सम्मान गरेकोमा उनी हर्षित छिन्। जन्मदेखि आजसम्मको जीवनयात्रा फर्केर हेर्दा लामो यात्रा गरेझैं अनुभूति हुँदो रहेछ, उनलाई। हिजो बुबाआमाको काखमा हुर्कियो। सखी सहेलीसँग रमाइलो गरियो। बिहे भयो। पतिसँग जीवन बिताइयो। आमा भइयो। छोराछोरी हुर्काइयो। सासू भइयो। जीवनमा नातिनातिना आए। हजुरआमा भइयो। स्मरण् गर्दा, सगरमाथाको शिखरमा पुगे जस्तै नौ दशक लामो जीवनयात्रा हिजोको कुरा जस्तो लाग्छ उनलाई। छोरा र बुहारीले ‘आज के खाने आमा ?’ भनी सधैं सोधिरहने कुराले आत्मसन्तुष्टि हुँदोरहेछ उनलाई। चीसो भएकोले आज उनलाई चम्सुरको साग र भन्टाको तरकारी खान मन छ र उनले छोरा शत्रुघ्नलाई बताइसकेकी छन्। आमाको जीवनयात्रा सुखशान्तिसँग बितोस्, हाम्रो यही कामना छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्