बाँधिएका कृष्णसित सारथि श्रीकृष्णलाई मिलाउँदा

108

सञ्जय मित्र

नजीकको तीर्थलाई हेला गर्नु पनि मानवीय स्वभाव हो। नजीकको तीर्थको सबै कुरा थाहा हुन्छ, यसै कारण केही हो जस्तै लाग्दैन। यसको महत्व बुझ्ने र बुझाउने मनोवैज्ञानिक प्रवृत्ति पनि उच्चस्तरको सकारात्मक रहँदैन। सामान्य भएको जस्तो बुझिने किसिमको मात्र हुन्छ। जसले गर्दा धेरै अवसरलाई थप उपलब्धिमूलक बनाउनबाट रोक्न पुग्दछौं र अवसरलाई स्मरणीय बनाउने अवसर पनि अवसर बनेर आउँदो रहेछ।
हेटौंडा मलाई मेरो माइतीजस्तो लाग्छ। माइती पुग्ने अवसर आउँदा चेलीको अभ्यन्तरमा हुने औत्सुक्य, प्रतीक्षाको पलपलको मनोवैज्ञानिक प्रतीक्षा तथा स्फूर्तिको आभाषित मग्नताले मलाई छोइरहन्छ, हेटौंडा पुगाइको सन्दर्भले। हरेकपटकको माइती पुगाइको अनुभूति आफैंमा नवीन हुने गर्दछ। मैले २०६१ मा हेटौंडा छाडेपछिको त्यहाँ पुगाइ यस्तै हुने गर्दछ।
खासै कुनै अवसर त होइन तर कोरोना महामारीको दशैं भने छ। मधेसी समुदायको दशैं त विजयादशमीसँगै सकिएको छ तर पूर्णिमा आइनसकेकोले पहाडी समुदायमा अझै दशैं सिद्धिइसकेको छैन। हेटौंडामा एउटा सामान्य काम पनि छ– मित्र राम अविकासलाई भेट्नुपर्ने।
सामान्य अवस्था भए त हेटौंडा बजारमैं भेटिन्थ्यो तर अविकासको लागि अलिक असामान्य अवस्था छ। अविकासकी अर्धाङ्गिनीले स्कूटर रोक्दै गर्दा दुवैजना लड्न पुगेर सामान्य घाइते भएका छन्। हातमा साधारण ब्यान्डेज लगाइएको छ, अविकासको। यसले गर्दा अविकासलाई बाइक चलाउन चिकित्सकले रोकेका छन्। अनुषा पनि सामान्य घाइते भएको अवस्था छ। यस्तो समयमा हटियाबाट हेटौंडा बोलाउनुभन्दा उनको डेरामैं गएर भेट्नु नै श्रेयस्कर। अनि त्यहीं डेरामा बिहानको खाना खाने गरी गरुडाबाट एकाबिहान निस्कछौं।
निस्कन्छौं भन्नुको मतलब हो– श्रीकृष्णलाई सारथि बनाएर उनकै बाइकरूपी रथमा सवार छौं, दुवैजना। एकाबिहानै जाडो हुँदो रहेछ। चन्द्रपुरको जङ्गलले जाडोको मात्रा अलिक बढाएको छ।
एकैपटक चिया खान रोकिन्छौं, तीन नम्बर पुलमा। चिया खाएर उकालो यात्रा शुरू हुन्छ। दश बजेतिर हेटौंडा नपुग्दासम्म अविकासको फोन तारन्तार आइरहन्छ– खाना खान ढिलो भइसक्यो भनेर।
बाटोमा म र श्रीकृष्णले छलफल ग–यौं– मकवानपुरगढी घुम्ने भनेर। श्रीकृष्ण छन् जिज्ञासु स्वभावका। इतिहास, संस्कृति र साहित्यप्रति गहिरो रुचि राख्छन्। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिले हामी मकवानपुर राज्यकै प्रजा थियौं र हाम्रो राजधानी मकवानपुरगढी नै थियो। हाम्रा राजा त्यहींबाट हामीमाथि शासन गर्दथे र मकवानपुरका राजाले मधेसी संस्कृति मान्दथे। त्यहाँ अझै पनि राजदरबारको अवशेष रहेको छ भनेपछि श्रीकृष्णको उत्सुकता बढेको थियो। अझ त्यहाँ त भगवान् कृष्णको मूर्ति र मूर्तिलाई सिक्रीले बाँधिएको छ भनेर बताउँदा मेरा सारथि श्रीकृष्ण एकछिन विस्मित भएका थिए। किन बाँधिएका हुन् कृष्ण ?
मोबाइलको घण्टी बजिरहेको छ। जवाफ फर्काउँछु– हाम्रो सल्लाह भयो, माथि डाँडामा पुगेर गढी हेरेर आउने अनि खाना खाने। कृष्णको दर्शन श्रीकृष्णलाई गराएर अनि खाना खाने कुराले अविकास अलिक अविचलित हुन्छन्। हामी पनि भोकै छौं, सँगै खाने भनेर।
तपाईंहरू खाँदै गर्नुहोस्, हामी दर्शन गरेर फर्केपछि मात्र खाना खान्छौं। यस्तो किसिमको दृढतापूर्ण जवाफले “हस्”को सूचक पाएपछि हामीलाई पनि सजिलो हुन्छ।
हेटौंडाबाट १६ किलोमिटर पूर्वमा अवस्थित छ, मकवानपुरगढी। महाभारत पर्वत शृङ्खलाको तल्लो पहाडको दक्षिणी टुप्पोमा रहेको मकवानपुरगढी वर्तमान संरचनाको गढी गाउँपालिका अन्तर्गत पर्दछ। यसै ठाउँको नामको आधारमा गाउँपालिकाको नाउँ रहेको छ। यसको ऐतिहासिकता र सान्दर्भिकतालाई गाउँपालिकाको नामले सम्मान दिएको छ।
कुनै ठाउँको नाम किन वा कसरी रहन गयो ? यसको उत्तरले एकातिर ऐतिहासिकता दर्शाउँछ भने अर्कोतिर वर्तमानको सान्दर्भिकतापूर्ण महत्वलाई झल्काउँछ। ठाउँको नाम यत्तिकै रहन पुगेको हुँदैन र कुनै पनि नाम वर्तमानमा जे प्रचलित छ र त्यही नामसित जोडिएको इतिहास नै अन्तिम हुन्छ भन्ने होइन। इतिहास त्योभन्दा पुरानो पनि हुन सक्छ तर वर्तमानमा प्रचलनमा रहेको नामसँगको ऐतिहासिकता जान्न पाउनु पनि ठूलो कुरो हुन्छ।
हेटौंडाबाट कान्तिराजपथ हुँदै पूर्वतिर सुन्दर हरियाली र सुन्दर पिचको नागबेली घुमाउरो उकालो सडक चढ्दै गर्दा श्रीकृष्णको प्रश्न आउँछ– किन त्यहाँ मन्दिरमा कृष्णलाई सिक्रीले बाँधिएको छ ?
त्यहाँ दरबारको बीचमा कृष्णप्रति अत्यन्तै धेरै आशा र भरोसा गरेर मन्दिर र मूर्ति स्थापना गरी बिहान–बेलुकी पूजा गर्नुको मुख्य कारण रक्षा गर्छन् भन्ने न हो। भगवान्बाट गरिने आशा त त्यही न हुन्छ ? कुनै दिन कसैले के देखेछन् भने भगवान् कृष्णको मूर्तिमा तोरीको फूल टाँस्सिएको छ। भोलिपल्ट अझ लुगामा पनि तोरीको फूल टाँस्सिएको देखा परेछ। दिनदिनै तोरीको फूल मूर्तिमा टाँस्सिएको देखा पर्न थालेपछि त्यहाँका पुजारी र अन्यलाई शङ्का लागेछ– हो न हो, राति राति कृष्ण तोरीबारीतिर जाँदा रहेछन्। राति हाम्रो, हाम्रो किल्लाको र राज्यको रक्षा गर्ने भगवान् नै तोरीबारीतिर जान थालेपछि हाम्रो रक्षा कसले गर्ने ?
दरबारमा एउटा सन्त्रासको वातावरण फैलिएछ। सबैमा एक किसिमको डर पसेछ। अब हाम्रो भगवान् नै बेपत्ता हुन थालेपछि सबै त्यत्तिकै अनाथ हुने रहेछौं। अनि पुरोहितले उपाय निकालेछन्– भगवान्लाई बाँधेर राख्ने। हो, अनि कृष्णलाई सिक्रीले बाँधिएछ। साँच्चै, त्यस समयदेखि कृष्णको लुगामा तोरीको फूल देखिन छाडेछ। सिक्रीले भगवान्लाई बाँधेर राखिएको अवस्थामैं पूजा गर्न थालिएछ। पुराण अनुसार सिक्रीले बाँधिएका बुबा र आमाबाट कारागारमैं भगवान् श्रीकृष्णको जन्म भएको हो। मकवानपुरगढीमा रहेको श्रीकृष्ण मन्दिरभित्र अहिलेसम्म कृष्णलाई बाँधेर राखिएको छ।
स्वच्छ वातावरण, घमाइलो दिन। सूर्य बिस्तारै उकालो लागिरहेको छ तर पहाड र जङ्गलको वातावरणले हामीलाई लोभ्याइरहेको छ। रमाउँदै हामी केहीबेरमा मकवानपुरगढी गेटमा पुग्छौं।
म पहिलोचोटि सम्भवतः २०५१ मा साथीहरूसित पश्चिमबाट उकालो चढ्दै पैदलै यहाँ पुगेको हुँ। दोस्रोपटक भने पूर्वी मोहोडाबाट मुख्यगरी यही राजपथ हुँदै मकवापुरगढी पुगेको हुँ। त्यतिबेला राजपथ नाम मात्रको थियो, कच्ची। साँघुरो पनि। अहिले भने फराकिलो भएको छ। झन्डै दुई दशकपछि म पुग्दैछु।
करीब साढे दुई सय खुड्किलो चढ्नुपर्छ। पहिले ढुङ्ग्याइलो बाटो थियो र अहिले सिंढी बनाइएको छ। सजिलो त भएको छ तर दुईतिरबाट दुईचोटि पहाड चढेको स्वाद भने पटक्कै छैन सिंढी चढाइमा।
दुई दशकमा अलिकति व्यस्थित भएको छ गढी। मुख्य प्रवेशद्वार नयाँ जस्तै भएको छ। गढीको चारैतिरबाट खाल्डो रहेको र खाल्डोको पारिपट्टि अग्लो पर्खाल रहेको मकवानपुरगढीमा एउटा मात्र प्रवेशद्वार रहेको छ। प्रवेशद्वारमा पहिले फलेक राखिएको हुन्थ्यो र रात परेपछि फलेक झिकेर द्वार बन्द गरिन्थ्यो। द्वार बन्द भएपछि खाल्डोमा पानी भरिन्थ्यो। अहिलेको अवस्थामा पनि सामान्यरूपमा कोही मुख्यद्वारभन्दा बाहिरबाट किल्लाभित्र प्रवेश गर्न सकिने अवस्था रहेको छैन। एकदमै बलियो किल्ला र सामरिक महत्वले पनि महत्वपूर्ण किल्लाको रूपमा त्यो जमानामा यो गढी रहेको अहिले पनि बुझ्न सकिन्छ।
अहिले मुख्यद्वारमा एउटा डरलाग्दो फलेक छैन। केही व्यवस्थित बनाइएको छ। सजिलै आवतजावत गर्न सकिने बनाइएको र मुख्यद्वारमा लेखिएको पनि छ– ऐतिहासिक मकवानपुरगढी।
किल्लाभित्र प्रवेश गरेपछि कृष्णको दर्शन गर्न सकिन्छ। सानो मन्दिरले अहिले पनि ऐतिहासिकताको छाप दिन्छ। मन्दिरभित्र कृष्णको नाम रहेको छ– वंशगोपाल। वंशगोपाललाई दुवैतिर बलिया खम्बाको फलामे सिक्री बाँधेर कम्मरमा बाँधिएको छ। हिन्दू र बौद्धमार्गीहरू वंशगोपाललाई बाँधिएकै अवस्थामा अहिले पनि श्रद्धापूर्वक पूजा गर्दछन्। किल्ला परिसरभित्र सिद्धेश्वर महादेव मन्दिर पनि छ। अन्य केही देवताका मूर्ति र मन्दिर पनि छन् तर कवि भूपि शेरचनले भनेजस्तै उदास छन्।
किल्लाभित्रको वातावरणले अहिले पनि गौरवान्वित बनाउँछ। इतिहासको संरक्षण भएको जस्तो लाग्छ। केही नयाँ कुराहरू पनि थपिएका छन्। सेतो एकदन्ते हात्तीको प्रतिकृति बनाइएको छ। विजयोत्सव मनाइन थालिएको छ। यी सबले एकातिर इतिहासको संरक्षण भएको अनुभव हुन्छ भने अर्कोतिर इतिहासको बारेमा जान्न चाहनेहरूका निम्ति पर्यटनको आधार पनि खडा गरेको हुन्छ।
मेरा सारथि श्रीकृष्णले बाँधिएका कृष्णको दर्शन पाएर दङ्ग छन्। एउटा ऐतिहासिक ठाउँको भ्रमणको गौरवबोधले अनुहार धपक्क बलेको छ।
मोबाइलको घण्टी बज्दा स्क्रिनमा अविकासको नाम देखिएपछि अलिक झस्कन्छौं हामी। झर्न थाल्छौं। तलको मुख्य प्रवेशद्वारमा भक्तपुरको टोली आइपुगेको छ, पाँच घण्टामा। कान्तिराजपथ भएर पाँच घण्टामा आरामले मकवानपुरगढी आइपुगेको सुन्दछौं। रहर त लाग्छ तर अहिले हतार भइसकेको छ तल झर्नलाई। हटियामा खाना सेलाइसकेको छ। अझ एकछिन बात मार्नु छ। हेटौंडामा पत्रकार भाइ गिरिजा अधिकारी पर्खेर बसेका छन्।
ओहो। लौ, छिटो फर्कौं। अबेला भइसकेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्