वृक्षरोपण मात्र बहादुरी होइन

82

वृक्षरोपण अहिले फेशन भएको छ। कसैको जन्मजयन्ती आयो वृक्षरोपण, जन्मदिनको अवसरमा वृक्षरोपण, विभिन्न दिवसमा वृक्षरोपण मुख्य कार्य भएको छ। यसअलावा हरियाली बनाउन, सार्वजनिक पर्ती जग्गालाई अतिक्रमणबाट जोगाउन विगतदेखि नै वृक्षरोपण हुँदै आएको छ। वीरगंज महानगरपालिकाले मुख्य सडकबीचमा र फूटपाथमा हरित वीरगंज बनाउने उद्देश्यले वृक्षरोपण गरेको छ। साप्ताहिक, मासिक र वार्षिकरूपमा हुने वृक्षरोपणका समाचारहरू प्रकाशनमा आउने गर्छन्। तर एकपटक वृक्षरोपण गरिएपछि दायित्व सकिएको ठानेर त्यसपछि त्यसको बारेमा वास्ता गरिन्न। वृक्षरोपणको वार्षिक तथ्याङ्क निकाल्ने हो भने वीरगंज महानगरपालिका तथा पर्सा जिल्ला हरिया रूखैरूखले ढाकिसक्नुपर्ने थियो। तर वास्तविकता ठीक विपरीत छ। रोपिएका बिरुवाको हेरचाह, संरक्षण छैन र रोपिएसँगै नष्ट हुने क्रम जारी छ। वनविनाश पनि तीव्र गतिमा भइरहेको छ।
लकडाउनमा त वनविनाश झनै बढेको पाइन्छ। पेशेवर काठ तस्करहरूको कारण जिल्लाका वन विनाश हुँदै आएको छ। लकडाउनमा विद्यालय बन्द भएपछि विद्यार्थीहरू पनि वनविनाश गर्न खनिए। लकडाउनको कारण विद्यालय बन्द भएपछि बालबालिका खेलकूद मात्र गर्ने, कामधन्दा केही नगर्ने भनेर अभिभावकहरूले हप्कीदप्की लगाउन शुरू गरेपछि साना विद्यार्थीहरू अभिभावक रिझाउन वनविनाशतर्फ उन्मुख भए। वनमा जाने स्याउलोका लागि वृक्षरोपण गरिएको क्षेत्र तहसनहस पार्ने अनि दाउराको लागि रूख ढाल्नेसम्मका कार्य गरेको लकडाउन अवधि र अहिलेसम्म पनि समाचारमा आएका विषय हुन्। बालबालिकाहरूले यसो गर्दा अभिभावकले उनीहरूलाई वनविनाश गर्नुहुन्न भनेर सम्झाउने गर्दैनन् भने विद्यार्थीहरू पनि वनविनाश गर्नुहुन्न भनेर आफूले पढेका कुरालाई बिर्सेका छन्। स्याउलो, जलावनको लागि दाउरा ल्याएपछि अभिभावकहरूको कचकच अनि खेलमा निषेध नहुने बुझेका उनीहरूको दैनिकी अहिले जङ्गल पस्ने भएको छ। अहिले प्रदेश २ सरकारले हरित प्रदेश अभियान चलाएको छ। गत वर्षदेखि हरित प्रदेश अभियान अन्तर्गत प्रदेश २ का  आठ जिल्लामा हजारौं बिरुवा रोपिए। प्रदेश सरकारले वृक्षरोपण गर्ने दायित्व निर्वाह ग–यो। सम्बन्धित डिभिजन वन कार्यालयले तारजालीले बिरुवा घेर्ने अनि स्थानीय पालिकाले हेरालु, मलजलको व्यवस्था गरी बिरुवाको संरक्षण गर्ने समझदारी बनेको थियो।
पोखरिया नगरपालिकाका चारवटा वडामा गत र यस आवमा करीब पाँच सय बिरुवा रोपिएको थियो। तर ती बिरुवाहरू अहिले संरक्षणको अभावमा नष्ट हुँदैछन्। वृक्षरोपण गरेर तारजालीले घेर्ने र हेरालुको व्यवस्था गरिएन, अनि मलजल गर्ने काम पनि भएन। संरक्षणको अभावमा अधिकांश वृक्ष नष्ट भएका छन्। तारजाली स्थानीयका लागि कपडा सुकाउन र बाख्रा बाँध्ने काममा प्रयोग भइरहेका छन्। पोखरियाले नै आठ जिल्लाको हरित प्रदेश अभियानलाई प्रतिनिधित्व गरेको हुनुपर्छ। यस अर्थमा वृक्षरोपण गर्नेले सोको संरक्षणमा पनि ध्यान दिन आवश्यक छ। यस अर्थमा आगामी दिनमा वृक्षरोपणको ढोल पिट्नेहरूले वृक्षहरूलाई हुर्काउन, बढाउन अवलम्बनका उपायहरूबारे व्यवस्थापन गरेको खण्डमा उद्देश्यले सार्थकता पाउनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्