विकास बजेट खर्च गर्न मन्त्री साहको निर्देशन

92

प्रस, वीरगंज, २२ पुस/
प्रदेश नं २ सरकारले पोखरिया नगरपालिकालाई अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरीद लगायतका लागि पठाएको ४ करोड ४ लाख रकम सम्बन्धमा भएको प्रगति विवरणबारेमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सोधखोज गरेका छन्।
एक कार्यक्रममा सहभागी हुन पोखरिया पुगेका मन्त्री साहले पोखरिया नगरपालिकामा गएर प्रदेश सरकारले पठाएको रकमबारे सोधखोज गरेका थिए। उनले विनियोजित बजेट अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरीदलगायतमा भएको प्रगति विवरणबारेमा जानकारी लिएका थिए।
नगरपालिकाका कर्मचारीले मन्त्री साहलाई प्रदेश सरकारले पठाएको बजेट सम्बन्धित ठाउँमा खर्च गरेको र सो कार्यको प्रगतिबारे जानकारी गराएका थिए।
सो अवसरमा मन्त्री साहले विनियोजित बजेटमा आवश्यक बजेट थप गर्न सकिने बताए। अपुग भएको खण्डमा बजेट पठाउन सकिने तर काममा ढिला नगर्न उनले निर्देशन दिए।
प्रदेश सरकारले ४ करोड रुपैयाँ पठाएकोमा सोबाट औषधि, स्वास्थ्य सामग्री, आक्सिजन सप्लाई उपकरण खरीद, खानेपानीको व्यवस्थापनलगायतमा खर्च हुनेछ। सो बजेटबाट पोखरिया नगरपालिका–६ मा रु २० लाखको बर्थिङ सेन्टर निर्माण, रु १८ लाखमा श्रीसियाटोलमा रहेको चौरमा खेलमैदान निर्माण गर्नुपर्नेछ।
सो अवसरमा नगरप्रमुख दीपनारायण रौनियारले प्रदेश सरकारले पठाएको बजेट समयमैं तोकिएको ठाउँमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।
जनता समाजवादी पार्टीका नेता निजामुद्दीन समानीले यस वर्ष आएको बजेटलाई गत वर्ष जस्तो नगर्न आग्रह गरे।
गत वर्ष सो रकमको दुरुपयोग भएको उनले आरोप लगाए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्