असफलताका संवाहकहरू

89

नेपालमा कुन यस्तो पार्टी छ, जसमा फुट छैन ? प्रत्यक्ष वा परोक्ष सबै पार्टीमा उच्च नेतृत्वबीच एकअर्कालाई तल खसाउने, आफू सर्वोच्च नेता हुने कुत्सा व्याप्त छ। स्वार्थका खातिर जुट्नु, स्वार्थकै खातिर फुट्नु नेपाली राजनीतिक दलहरूको नियति बनेको छ। भन्नका लागि त देशमा लोकतन्त्र छ, राजनीतिक दलहरू पनि लोकतान्त्रिक भावना अनुसार चलेका छन् भनिन्छ, तर लोकतन्त्रको हैसियत नेताहरूका लागि रखौटीभन्दा बढी कहिले भएन। प्राविधिक कारणले मात्र दलहरूमा कोही नेतृत्वमा पुग्छ, नेता चुनिन्छ, भावनात्मक नेतृत्वको सर्वथा अभाव देखिन्छ। त्यसैले एकजना पार्टी अध्यक्ष्F चुनिनेबित्तिकै उसलाई असफल बनाउन दौंतरी नेताहरू हानथाप गर्न थाल्छन्। आफ्नो नेतालाई सहयोग गरी सफल बनाउने ध्येय हुँदैन, तल खसालेर असफल देखाउनु नै राजनीतिको परम साध्य ठानिन्छ। प्रजातन्त्रकालीन अवस्थादेखि तीन दशकको अवधि पार गरेर लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा कुनै पनि नेताले, तिनका नेतृत्वमा बनेका सरकारहरूले केही गर्न नसक्नु नै यसको ज्वलन्त प्रमाण हो।
हिजो नेकपा एमाले र माओवादी मिले, किनकि सत्ता प्राप्त गर्नु थियो, आज टुक्रिने अवस्थामा पुगे, किनकि सत्ता प्राप्त गर्नुछ। एकै कार्यकालमा धेरै व्यक्ति सत्ताशीर्षमा पुग्नु थियो भने हिजो दुई दल एकबद्ध किन भए ? एकबद्ध भएपछिको नतीजा थियो, संसद्मा बहुमतमात्र होइन, अतिबहुमत। अब के भयो र पुनः टुक्रिने प्रक्रिया ? हिजै एकबद्ध नभएको भए  आज तीन वर्षको अवधिमा प्रचण्ड दुईपटक र माधव नेपाल दुईपटक प्रधानमन्त्री भइसकेका हुन्थे। तर त्यो लोकतन्त्रमैत्री राजनीति हुने थिएन। यहाँ त लोकतन्त्रवादी भनेर देखाउनु पनि छ। त्यसैले लोकतन्त्रको महत्व यिनका लागि अँध्यारोको संसर्गसम्म सीमित छ। होइन भने अविश्वासको प्रस्ताव आएपछि ओलीले सामना गर्ने बाटो रोज्ने थिए। लोकतन्त्रमाथि विश्वास भएको भए प्रचण्ड–नेपालले निर्वाचनको बाटो रोज्ने थिए। ओलीले गलती गरेकै हुन्, तर देशको राजनीतिलाई अल्झाएर प्रचण्ड–नेपाल तथा तिनका बाटोमा हिंड्ने अन्य समर्थनमा आएका दलहरूले पनि गलती नै गर्न लागेका छन्। यी नेता र दलहरूले भनेजस्तै उनीहरू लोकतन्त्रका हिमायती हुन् भने निर्वाचनमा जाऊन् तर यस शर्तमा कि अब सत्ताशीर्षमा पुगेकाहरू कहिले पनि निर्वाचन लड्ने छैनन् वा निर्वाचित भएपनि शीर्ष पदका लागि उम्मेदवार बन्ने छैनन्।
के यत्रो सङ्घर्ष गरेको नेपाली काङ्ग्रेस, वर्गविहीनताको लागि लामो जुझाइ गरेका वामपन्थीहरूले आजसम्म दोस्रो पुस्ताको नेता जन्माउनै सकेका छैनन्, जसले देश र सम्बद्ध दललाई अगाडि बढाउन सकून् ? देशकै माया हो, दलको सिद्धान्तप्रति आस्था हो भने नेतृत्व हस्तान्तरणमा किन सामन्तवादी प्रवृत्ति ? केपीशर्मा ओली नभई, प्रचण्ड नभई, माधव नेपाल नभई नेपाल कम्युनिस्ट पार्टी चल्नै नसक्ने, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कोइरालाहरू नभई नेपाली काङ्ग्रेस चल्नै नसक्ने ? यस्तो हो भने यी दलका अगुवाहरूले आफूलाई धिक्कार्नैपर्छ कि उनीहरूमा आफ्नो उत्तराधिकारी जन्माउने हुती नै छैन। मरेपछि डुमै राजा भन्ने मनोग्रन्थिबाट पीडित यी तथाकथित नेताहरूलाई  आजसम्म भिरु मनस्थितिका पार्टी कार्यकर्ताहरूले पनि बुझाउन सकेनन्। जनतामा पनि त्यो जागृति छैन कि मतरूपी ब्रह्मास्त्र प्रयोग गरेर यस्तालाई तिनको नियति देखाउन सकोस्। त्यसैले देशले यी असफलताका अगुवा नेताहरूको कुत्सित स्वार्थी झेलमा रुमलिनुपरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्