विकासका संवाहक

95

भनिन्छ अमेरिकामा युरोपेली मुलुकबाट आप्रवासीहरू नगएका भए, अमेरिका आजको जस्तो समुन्नत र शक्तिशाली बन्ने थिएन। यो भनाइ सत्य भए तापनि अर्धसत्य हो। कुनै पनि ठाउँको विकासको निम्ति त्यहाँ विभिन्न समुदायको अन्तर्घुलन आवश्यक तत्व हो। त्यसमा पनि खासगरी बाह्य मुलुक वा बिरानो ठाउँबाट कुनै मुलुक वा स्थानमा बाह्य मानिसहरूको निरन्तर र अविचल आवागमन भइरहने हो भने त्यस ठाउँको विकास असंदिग्धरूपले हुन्छ नै। खासमा आफ्नो थलो छाडेर बाहिर अपरिचित ठाउँमा गई जीवनयापन गर्नु दुस्साध्य काम हो। जसमा अपरिमित जिजीविषा, सङ्घर्ष गर्ने आँट र जाँगर हुन्छ, उही व्यक्ति आफ्नो थातथलो छाडी बाहिर जाने साहस गर्न सक्छ। अर्थात् जो वीर हुन्छ, उही जुनसुकै पनि परिस्थितिलाई आफू अनुकूल ढाल्न सक्ष्Fम हुन्छ। अमेरिकाजस्तो अनकन्टार ठाउँमा जाने मानिसमा अदम्य उत्साह र साहस त हुनु नै पथ्र्यो, र त आज अमेरिका अमेरिका भएको छ। विभिन्न मुलुकहरूबाट साहसी, सङ्घर्षशील मानिसहरू एक ठाउँमा भेला हुनु भनेको नै त्यस ठाउँले उन्नति गर्ने सामेल जोडिनु हो।
यसै पनि हाम्रो पूर्वीय संस्कृतिमा वीरभोग्या वसुन्धरा भनिएको छ। वसुन्धराको भोग वीरहरूले नै गर्दछन्। वीरको अर्थ आधुनिक युगमा सङ्घर्षशील, लगनशील, जिजीविषु पुरुषलाई नै भन्न सकिन्छ। हाम्रा समाचारपत्रहरूमा पनि यस्तै कथाहरू बारम्बार छापिएको भेटिन्छ। स्वदेशमा आजीविकाको जोहो हुन नसक्दा विदेशिन बाध्य भएका नेपाली नागरिकहरूले जब विदेशमा दुःख–कष्ट पाउँछन्, श्रमको मूल्य थाहा पाउँछन्, श्रमलाई हेय होइन, श्रद्धाको दृष्टिले हेर्ने ज्ञानचक्षु पाउँछन् अनि स्वदेश फर्केर उद्यम गर्न थाल्दछन्। त्यस्ताको सफलताको कथा हामी उत्साहपूर्वक छाप्छौं र पढ्छौं पनि। तर हाम्रो लेखाइ, छपाइ र पढाइ स्वान्तः सुखाय प्रवृत्तिको हुने गरेको छ। के सरकार, के सरकारी एजेन्सीहरू र के नागरिक सबै निरपेक्ष हुन्छौं, यस्ता जाँगरिला देशवासीको कामप्रति। त्यस्तालाई हौंस्याउने, प्रेरणा दिने, तिनका अनुकूल नीति नियम बनाउन सरकारलाई दबाब दिने कामबाट हामी पन्छिन मात्र खोज्छौं। सरकारले त्यस्ताहरूका लागि नीति निर्माण त गर्दछ तर सरकारी एजेन्सीहरू ती नीति कार्यान्वयनमा हद दर्जाका पक्षपाती बन्दछन्।
यति नै फरक छ अमेरिका र नेपालमा। हिजो अस्ति अमेरिका पुगेका मानिसले जे गर्न खोज्दथे, सरकारले तिनको काममा होस्टेमा हैंसे गर्दथ्यो। उनका काममा आइपरेका कठिनाईहरूलाई सरकारी कठिनाईको रूपमा हेरिन्थ्यो। काम गर्नेका लागि कस्तो वातावरण आवश्यक पर्छ, त्यसको जोहो गर्न सरकार सदा तत्पर रहन्थ्यो र गथ्र्यो पनि निष्पक्ष तवरले। हामीकहाँ जनस्तरमा त्यो मानसिकता पलाउन सकेन, न सरकारले नै उपयुक्त प्रविधि विकसित गर्न सक्यो। सरकारी एजेन्सीहरूले यस्तै प्रवृत्तिको लाभ उठाए र आफूले काम गर्न नपरोस्, अतिरिक्त लाभ भने प्राप्त भइरहोस् भन्ने धारणालाई बलियो बनाउँदै लगे। जाँगरिलाहरूका लागि सरकारले कुनै योजना ल्यायो भने अकर्मण्यहरूको भागमा बढी पर्छ, गरीबी निवारण योजनाको लाभ धनीमानीहरूले बढी उठाउँछन्। अनि विदेशबाट फर्केर आफ्नै देशमा स्वरोजगारमा लागेका गाईपालक हुन्, तरकारीखेती गर्नेहरू हुन् वा पशुपतिनगरकी कुसुम होऊन्, पर्याप्त प्रोत्साहनको अभावमा पुनः विदेशिन बाध्य हुन्छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्