नक्कली नम्बर अङ्कित सवारीधनी पक्राउ

102

प्रस, रौतहट, २० पुस/
नक्कली नम्बर प्लेट राखेर गाडी चलाएको अभियोगमा रौतहटबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्ने वृन्दावन नगरपालिका वडा नं ६ घर भई हाल चन्द्रपुर नगरपालिका वडा नंं ४ बस्ने अमन तिवारी हुन्।
यही पुस १२ गते चन्द्रनिगाहपुरको मुख्य चोकबाट बा.१७च ९३६५ नम्बरका दुईवटा स्कार्पियो गाडी एकै स्थानमा भेटिएपछि प्रहरीले दुवै गाडी नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा दुईवटा गाडीमध्ये एउटा गाडीको सवारीधनीले आवश्यक कागजात पेश गरेको तर अर्को गाडीको धनी भने सम्पर्कमा नआएको प्रहरीले बताएको छ। नक्कली नम्बर राख्ने व्यक्ति सम्पर्कमा आउन नचाहेपछि प्रहरीले खोजी गरेको थियो। सोही क्रममा तिवारी पक्राउ परेका हुन्। उनी चन्द्रपुरस्थित  होन्डा कम्पनीको मोटरसाइकलका डिलर सञ्चालक पनि हुन्।
नक्कली नम्बर अङ्कित सवारीधनी पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी गराए। पक्राउ परेका व्यक्तिको साथमा अन्य गिरोह वा अरू सवारीसाधन नक्कली नम्बरको रहे नरहेकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्