ओलीको कदम सही रहेको नेकपा पर्साको ठहर

93

प्रस, वीरगंज, २० पुस/
नेकपाको पर्सा जिल्ला कमिटीको बैठक सोमवार वीरगंजमा सम्पन्न भयो। कमिटीका अध्यक्ष प्रभु हजराको अध्यक्षता एवं केन्द्रीय सदस्य निर्मला देवकोटाको मुख्य आतिथ्यमा सम्पन्न बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीको कदम राष्ट्रियता, लोकतन्त्र एवं राजनीतिक स्थिरताको पक्षमा रहेको ठहर गरेको छ।
प्रचण्ड–नेपाल समूहले आफ्नै पार्टीको सरकारविरुद्ध घेराबन्दी गरेर, स्थायी कमिटीको निर्णयविना प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राखेको र पार्टीको समानान्तर समूहसमेत गठन गरेको भन्दै उक्त समूहमा लागेका जिल्लाका नेता, कार्यकर्ताहरूलाई कारबाई गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ। कारबाईमा पर्नेहरूमा जिल्लाका १४ वटा पालिकामध्ये जिल्ला कमिटीका सचिवलगायत केही सदस्य साथै दुईजना  पालिका कमिटीका अध्यक्ष र दुईजना सचिव रहेको पार्टी जिल्ला कमिटीका अध्यक्ष हजराले बताए।
बैठकले यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म जिल्लाका सबै पालिकामा बृहत् भेला गर्ने र घोषित निर्वाचनमा जुट्न तयारी गर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय सदस्य डा विश्वम्भरकुमार शर्माको सहजीकरणमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू राजकुमार गुप्ता, प्रद्युम्न चौहान, बसुरुद्दीन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषादलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्