आगलागी नियन्त्रणका उपायबारे सचेतना

89

प्रस, वीरगंज, २० पुस/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अन्तर्गतको विपद् व्यवस्थापन गुल्मले घरेलु आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक कार्यक्रम गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साको चौरमा आयोजना गरिएको विपद् व्यवस्थापन अन्तर्गत घरेलु आगलागीका सम्भावित घटनाहरूबारेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रदर्शन गरेर देखाइएको थियो। प्रदर्शनको क्रममा घरमा रहेको ग्यास सिलिन्डर, खाना पकाउने भाँडा र मानिसको शरीरमा आगो लाग्दा कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतनामूलक कार्यक्रम गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले घरेलु आगलागी नियन्त्रण सम्बन्धमा गरिएको कार्यक्रमबाट धेरै कुरा सिक्न सकिएको र यसलाई आमजनतासमक्ष पु–याउन सकेको खण्डमा आगलागीबाट हुने घरेलु खतरा टर्ने बताए। उनले विपद् व्यवस्थापन कोषबाट यसका लागि आवश्यक सामग्रीहरू खरीदमा सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रमकी अध्यक्ष प्रहरी उपरीक्षक गङ्गा पन्तले  शहरमा हुने घरेलु आगलागीका घटनामा कार्यक्रममा देखाइएको विधि अपनाउँदा दुर्घटना न्यूनीकरण हुने बताए। उनले विपद् बाजा बजाएर नआउने हुँदा यसको पूर्वतयारीमा लाग्दा जोखिम न्यूनीकरण हुने बताइन्।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ता, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्