विद्यालय सञ्चालनमा आए पनि दिवाखाजा शुरू भएन

93

प्रस, पंचगावाँ, १९ पुस/
पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा सानो कक्षाको अध्ययन–अध्यापन पुसदेखि शुरू भएपनि दिवाखाजा भने सञ्चालनमा आउन सकेको छैन।
सामुदायिक विद्यालयहरूमा कक्षा ५ मुनिका बालबालिकाहरूलाई सङ्घीय सरकारले दिवाखाजाको व्यवस्था गरेको छ। सोबापतको रकम सम्बन्धित पालिकाहरूमा पठाइसके पनि पालिकाहरूले दिवाखाजाको व्यवस्थापन गर्न सकेका छैनन्। कोरोना भाइरसको कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरू अहिले सञ्चालनमा आए पनि सानो कक्षाको अध्ययन–अध्यापन भने पुसदेखि मात्र शुरू भएको हो।
साना कक्षामा अध्ययनरत बालबालिकाहरू खाजाको कारण पनि विद्यालय आउने गर्छन्। कोरोना भाइरसको कारण खाजाको व्यवस्था नहुँदा कक्षा ५ मुनिका विद्यार्थीहरूको सङ्ख्या घटिरहेको छ। खासगरी पर्साको ग्रामीण क्ष्Fेत्रमा दलित, विपन्न, गरीब परिवारका बालबालिकाहरू खाजाको लागि पनि विद्यालय जाने गर्छन्। खाजाको व्यवस्थापन नहुँदा उनीहरू विद्यालयमा जान रुचि नदेखाएको एकजना प्रधानाध्यापकले बताए।
गत आवको चार महीनाको खाजाबापतको रकम कोरोना भाइरसको कारण विद्यालय बन्द भएर फ्रिज भएको छ। चालू आवमा सबै पालिकालाई खाजाबापतको रकम पठाइसकिएको छ। सशर्त अनुदान भएकोले यसको व्यवस्थापन हुनुपर्नेमा ढिलाइ भएको देखिन्छ।
बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले आफ्नो पालिकामा रहेका सामुदायिक विद्यालयहरूबाट खाजाबापत रकम माग नगरिएको बताए। उनले माग भएको खण्डमा कोलेनिकाबाट बजेट निकासा गरी उपलब्ध गराउने बताए।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले पनि विद्यालयबाट खाजाबापतको रकम माग नगरिएको बताए। उनले लामो समयसम्म विद्यालय बन्द भएको र भर्खरै खुलेको हुँदा यससम्बन्धी तयारी नभए पनि अविलम्ब खाजाको व्यवस्थापन गर्नेतर्फ प्रयास गरिने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्