राजमार्गमा पाटेबाघ

99

शनिवार बिहान पर्सा राष्ट्रिय निकुञ्जभित्र महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–अमलेखगंज सडकखण्डमा कारको ठक्करबाट एउटा पाटेबाघको मृत्यु भयो। टाउकोमा गम्भीर चोट लागेको बाघ जहाँ ठक्कर लागेको हो, त्यहीं ठहरै भएको थियो। यसको एक दिन पहिले शुक्रवार बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा पाटेबाघले एक महिलाको ज्यान लियो। राति करीब साढे आठ बजे मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टिएर आक्रमण गरेको हो। दुर्लभ वन्यजन्तुमा सूचीकृत पाटेबाघको एकातर्फ राजमार्गमा सवारीसाधनको ठक्करबाट मृत्यु हुनु र अर्कोतर्फ सवारीसाधनमैं आक्रमण गरी मानिसको ज्यान लिएको घटना संरक्षणका पक्षधरहरूका लागि चिन्ताको विषय बनेको छ।
निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र विश्वका अधिकांश मुलुकहरूमा छन्। हरेक निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रको आआफ्नै विशेषता हुन्छ। उदाहरणको लागि चितवन राष्ट्रिय निकुञ्ज एक सिङ्गे गैंडाको लागि प्रसिद्ध छ भने पर्सा राष्ट्रिय निकुञ्ज पुड्के बँदेलको लागि प्रसिद्ध मानिन्छ। उक्त वन्यजन्तुहरूको संरक्षण त गर्नु नै छ, त्यसमा पनि दुर्लभ वन्यजन्तुको संरक्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा समेत विशेष जोड दिइन्छ। पाटेबाघ दुर्लभ वन्यजन्तुमा सूचीकृत प्राणी हो। विश्वमा दुर्लभ मांसाहारी स्तनधारी प्राणीमध्ये पाटेबाघ पनि पर्छ। विश्वभर  करीब चार हजारवटा रहेको पाटेबाघको सङ्ख्या नेपालमा पछिल्लो गणना अनुसार २३५ वटा पाइएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै १८ वटा छन्। चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग सीमा जोडिएको कारण पर्सा राष्ट्रिय निकुञ्ज बाघको लागि सहजरूपमा आउने जाने मार्ग हो। यसरी आउने जाने बाघको सङ्ख्या घटबढ भइरहने भए तापनि पर्सा निकुञ्जमा बसोवास गर्नेको सङ्ख्या भने निश्चित रहन्छ। सन् २०१० देखि २०२२ सम्म मुलुकमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यका साथ संरक्षण योजना लागू गरेको कारण मुलुकमा बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो।
राजमार्गमा मानिसमाथि बाघले आक्रमण गर्नु र दुर्घटनामा बाघ मारिनु फरक कुरा जस्तो लागे पनि यसको कारक तत्व भने एउटै हो। दैनिक हजारौं सवारीसाधन गुड्ने राजमार्ग क्षेत्र जनावरमैत्री नहुनु र संरक्षित क्षेत्रको नियम–कानून एवं विश्वव्यापी मान्यतालाई अङ्गीकार नगर्दाको परिणति हो। मुलुकमा संरक्षित क्षेत्रहरूमा सवारीले ठक्कर दिंदा बर्सेनि करीब १५० वटाको आसपासमा वन्यजन्तु मारिन्छन्। त्यसमाथि दुर्लभ पाटेबाघसमेत मारिन थालेपछि चिन्ता स्वाभाविक छ। अधिकांश वन्यजन्तु बाटो काट्ने क्रममा मारिने गरेका छन्। बाघ आफैंमा पनि मानवभन्दा टाढा रहने प्राणी हो, तर उसको आसपास भइरहने प्राणीको दैनिकी राम्रोसँग रेकी गर्न पाएमा मौका पाउनेबित्तिकै आहार बनाउन बाँकी राख्दैन। संरक्ष्Fित क्षेत्रमा राति नहिंड्ने, हर्न नबजाउने, ४० भन्दा बढी सवारीको गति नबढाउने र वन्यजन्तुलाई असर पर्ने कुनै गतिविधि गर्न नहुने न्यूनतम शर्त हुन्। नत्र वन्यजन्तुले जिस्काएको सम्झने, रिसाउने अनि आक्रमण गर्ने गर्छन्। राजमार्ग क्षेत्रमा जनावरको लागि आवतजावत गर्न अन्डरपास निर्माण गर्नुपर्छ। यो मापदण्ड पालना गराउन निकुञ्ज तथा वन्यजन्तु विभाग सचेत हुनुपर्ने हो। तर यहाँ त लथालिङ्ग देशको भताभुङ्ग चाल छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्