मधेसमा महिला शिक्षाको आवश्यकता

103

अनन्तकुमार लाल दास

कुनै पनि राष्ट्रमा शिक्षित नागरिकले नै सभ्य समाजको निर्माण गर्छ र त्यसमा महिलाको अहम् योगदान हुन्छ। एकाइ–एकाइ परिवार मिलेर समाज निर्माण हुन्छ तर परिवारको केन्द्रबिन्दु महिला हुन्छन्। यदि महिला शिक्षित छिन् भने त्यो परिवार शिक्षित हुन्छ र जब सबै परिवार शिक्षित हुन्छ, सम्पूर्ण राष्ट्र शिक्षित हुन्छ। महान् दार्शनिक रूसोले भनेका छन्–“यदि मलाई सयजना आदर्श आमा दिनुहुन्छ भने म एउटा आदर्श राष्ट्र दिनेछु।” २०६८ सालको जनगणना अनुसार नेपालमा महिला साक्षर दर ४४.५ प्रतिशत छ। पुरुषलाई यस संसारमा जति अधिकार छ त्यतिकै अधिकार महिलाको पनि हुन्छ। महिलाहरूलाई पनि शिक्षाको लागि त्यतिकै प्रोत्साहन दिनुपर्छ जति पुरुषलाई दिइन्छ। महिला र पुरुषबीच शिक्षामा लिङ्गभेद गर्नु एक प्रकारको मूर्खता हो। आज यदि महिलाहरूलाई समान शिक्षा दिइयो भने उनीहरू पनि पुरुष सरह नै सबै ठाउँमा आफ्नो वर्चस्व स्थापित गर्न सक्छन्।   
मधेस र मधेसी संस्कृति सम्पन्न भए तापनि विकास कार्यमा मधेसी महिलाहरूको सहभागिता न्यून रहेको छ। उनीहरूलाई उन्नति गर्ने पर्याप्त मौका दिइएको छैन। उनीहरूलाई मधेसमा भान्सा र केटाकेटीहरूलाई खेलाउने काम मात्र दिइन्छ। मानिसलाई के डर छ भने यदि घरको महिला शिक्षित हुन्छिन् भने परिवार व्यवस्था समाप्त हुन्छ र उनीहरूको लागि योग्य वर खोज्न गा–हो हुन्छ। अर्को, आजको आधुनिक युगमा पनि हाम्रो देशमा पुरुष प्रधान समाज भएको कारण यदि महिला पुरुषको तुलनामा अत्यधिक शिक्षित हुन्छिन् भने पुरुषहरूको अहङ्कारमा चोट पुग्छ। यस बाहेक गरीबीको कारणले पनि धेरैजसो आमाबुवाले केटीहरूलाई शिक्षा दिंदैनन्। तर संसारका विभिन्न देशमा गरिएको अनुसन्धानले के देखाएको छ भने यदि आमा शिक्षित छिन् भने उनका बालबच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ। ती बच्चा स्कूलमा पढ्न पठाइन्छ र उनीहरू स्कूलमा राम्रो पनि गर्दछन्। आमाले पनि घरभित्रै वा बाहिर कुनै न कुनै काम गरी आय आर्जन गर्छिन् र त्यो परिवार सुखी र आर्थिक दृष्टिकोणले पनि उच्च स्तरको हुन्छ। यसरी उनीहरूको बोलीचाली, पारिवारिक रहनसहन र सिङ्गो सभ्यता नै राम्रो हुन्छ।
महिलाहरूले पढेर नौकरी गर्नु छैन, कुनै घरको मालकिनी नै बन्नु छ। यस कारण शिक्षा होइन, घरगृहस्थीको काम सिक्नुपर्छ भन्ने मधेसमा मान्यता रहिआएको छ। विवाहोपरान्त भनिन्छ बुहारी घरको शोभा र परिवारको लाज हो, बाहिर निस्कनुहुँदैन, जसले गर्दा मधेसी महिला अशिक्षित रहने गरेका छन्। यसको मूल कारण मधेसी समाजमा छोरा सरह छोरीलाई मान्यता नदिनु हो। नम्रता र लज्जा मधेसी महिलाहरूको गहना हो तर आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिला जबसम्म शिक्षित हुँदैनन्, समुन्नत मधेसको कल्पना गर्न सकिन्न। भनिन्छ महिला र पुरुष समाजरूपी रथका दुई पाङ्ग्रा हुन्। तर यदि एउटा पाङ्ग्रा होचो र अर्को पाङ्ग्रा अग्लो हुन्छ भने रथ कसरी राम्ररी अगाडि बढ्न सक्छ ?
शिक्षाले महिलामा आत्मविश्वास र आत्मसम्मान उत्पन्न गर्छ, जसबाट उनीहरू आफ्नो क्षमता विकसित गर्न सक्छन्स नयाँ विचार र नवीन पथमा अग्रसर हुन सक्छन्। शिक्षाबाट लिङ्गभेद समाप्त हुन्छ। महिलाहरू स्वयं निर्णय लिन सक्षम हुन्छन्। सामाजिक अस्थिरता सम्बन्धी समस्या समाधानमा महिला शिक्षाले अग्रणी भूमिका निर्वाह गर्छ जसबाट समुदाय र समाज समृद्ध हुन्छ। महिला शिक्षाको परिणामस्वरूप नै आज आमा र शिशु मृत्युदरमा कमी आउनुको साथै जीवनरक्षा दर, विद्यालय शिक्षा र सामाजिक उत्पादकतामा वृद्धि भएको छ। शिक्षित महिलाहरूले आर्थिक चुनौतीको सामनाः जस्तै कृषि उत्पादनको क्षेत्रमा, भोजन आत्मनिर्भरता, पर्यावरणीय समस्या विरुद्ध, पानी र ऊर्जाको संरक्षण गर्न सक्षम र सहायक हुन्छन् जसबाट देश उन्नतिको पथमा अग्रसर हुन सक्छ।        
संस्कृतमा श्लोक छ–“अथ शिक्षा प्रवश्यमः मातृमान पित्रमानाचार्यवान पुरुषो वेदः” अर्थात् जब तीन उत्तम शिक्षक– आमा, बुवा र गुरु भए भने मात्र मानिस ज्ञानवान् हुन्छ। शिक्षित, सक्षम र स्वस्थ महिला व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक वा कुनै पनि क्षेत्रमा उपयोगी हुन्छन्। यदि उनीहरूलाई घरको पर्खालभित्र सीमित नगरिदिने हो भने समाजको प्रगतिले तीव्र गति लिन सक्छ। यस्ता कैयौं उदाहरण छन् जसले महिलाको प्रतिभालाई उजागर गरेको छ। जस्तै ‘मान्टेसरी’ शिक्षा पद्धतिकी प्रतिष्ठापिका इटली निवासी महिला मान्टेसरी एउटा गरीब परिवारमा जन्मेकी थिइन्। यसैगरी  हेलेन कीलर, मैडम क्युरी, एलिजाबेथ फ्राई, एमिली ग्रीन, इजरायलकी गोल्डा मेयर, श्रीलङ्काकी भण्डारनायके, भारतकी इन्दिरा गाँधीले प्राप्त गरेको सफलता कसलाई थाहा छैन।
भारतीय स्वामी दयानन्द सरस्वतीका अनुसार “एउटा पुरुष शिक्षित हुनुको अर्थ ऊ मात्र उपयोगी हुनु हो तर एउटी महिला शिक्षित हुनुको अर्थ पूरा परिवार शिक्षित र समृद्ध हुनु हो। युगोस्लोवाकियामा महिलाहरूले नै कृषि व्यवस्था सम्भालेका छन्। चीन वा रूसमा समेत पारिवारिक, राष्ट्रिय सुरक्षा र सुख–सुविधा बढाउन महिलाहरूको बढी योगदान रहेको छ। रूसी शिक्षा व्यवस्थाको अधिकांश हिस्सा महिलाहरूले नै ओगटेको छ। अस्पताल र स्वास्थ्य संस्थानहरूमा पनि महिलाहरूको भूमिका बढी देखिन्छ। त्यस्तै जापानी महिलाहरू पुरुष सँगसँगै औद्योगिक विकासमा सहयोग पु–याइरहेका छन्। हरेक घरमा घरेलू उद्योग सञ्चालन गरी परिवार सँगसँगै राष्ट्र विकासमा सहयोग गरिरहेका छन्। जर्मनीका महिलाहरूले कलकारखाना व्यवस्थापनमा आफ्नो दक्षता प्रदर्शित गरेका छन्। यसैगरी इङ्गल्यान्ड, फ्रान्स, क्यानाडा र अमरिकी महिलाहरू पसल सञ्चालनमा दक्ष छन्। त्यसैले ती राष्ट्र सुखी र समृद्ध पनि छन्।
यसरी मधेसको सन्दर्भमा भन्नुपर्दा महिलाहरूको क्षमतालाई गौण राख्नुमा अशिक्षाले ठूलो भूमिका निर्वाह गरेको छ। मधेसी समाजमा छोरीहरूको शिक्षामा खर्चिएको समय, श्रम र धनबाट छोरा सरह प्रत्यक्ष प्राप्त नहुने भएकोले पनि छोरीहरूलाई विभिन्न बहानामा नपढाउने चलन रहेको हुन सक्छ। के कसैलाई शिक्षा दिनुको अर्थ मात्र आर्थिक लाभ आर्जन गर्नु हो ? पढेर आर्थिक लाभ आर्जन गर्ने चलन ब्रिटिश शिक्षाको देन हो। प्राचीन कालमा शिक्षाको उद्देश्य यो थिएन।
महिलाहरूलाई शक्तिको प्रतिमूर्ति पनि भनिन्छ। पुरुषहरूले जुन शक्ति, ज्ञान र अर्थोपार्जनको उदाहरण दिन्छन् त्यो सबैको श्रेय महिलालाई नै जान्छ किनभने शक्तिकी देवी दुर्गा, धनकी देवी लक्ष्मी र ज्ञानकी देवी सरस्वती सबै महिला हुन्। अशिक्षित हुनाले नै महिलाहरू घर भित्र बस्न बाध्य छन्। महिलाहरूलाई आफ्नो अधिकार र अस्तित्वको बोध नहोस् भन्ने अभिप्रायले पुरुषहरूले उनीहरूलाई अशिक्षित राख्छन् किनभने शिक्षाले उनीहरूको मुख खोल्छ, हृदयमा भावनाको सञ्चार गर्छ र आत्मामा जागरण ल्याउँछ जसले गर्दा उनीहरू शोषणमुक्त हुन्छन्।
भारतीय कवि मैथिलीशरण गुप्तले भनेका छन्–“भागें न क्यों, हमसे भला फिर, दूर सारी सिद्धियाँ। पाती स्त्रियाँ आदर जहाँ, रहती वहीं सब सिद्धियाँ।।” यी पङ्क्तिहरूलाई कविको कल्पना मात्र भन्न मिल्दैन। कुनै पनि परिवार, समाज र राष्ट्रको समग्र विकासमा महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ। कुनै पनि समाजको आधा हिस्सा अकर्मण्य हुन्छ भने बाँकी आधाले नै त्यस निष्क्रिय भागको भार वहन गर्नुपर्छ।
वर्तमानमा मधेसी महिलाहरूको प्रतिभा कूपमण्डुकजस्तै कुण्ठित भइसकेको छ। यस कारण उनीहरूलाई समाजको सम्पर्कमा ल्याउनु र आफ्नो प्रतिभा प्रदर्शित गर्न दिनु मधेसी समाजको सबैभन्दा ठूलो चुनौती रहेको छ किनभने शिक्षासँगै वैचारिक क्रान्तिको पनि शुरूआत हुन्छ। यसका लागि मधेसी युवा पीढीलाई समेत यसतर्फ जागरुक बनाउनुपर्छ साथै पुरुषलाई जन्म दिने भएकाले महिलाले समेत आफ्नो शक्ति र महत्व बुझ्नुपर्छ। मधेसी समाजले पनि अब महिलाप्रति परम्परागत दृष्टिकोणमा पुनर्विचार गर्नु जरूरी छ।
इतिहासले आधुनिक नगर सभ्यताको निर्माणमा समेत महिलाहरूको देनलाई देखाएको छ। यदि महिला हुँदैनथे भने पुरुषले घर बनाउने थिएन। परिवार र समाजको निर्माणमा महिलाहरूको महत्वपूर्ण योगदानलाई दृष्टिगत गरी आज पनि कैयौं देशका आदिवासीहरूबीच मातृप्रधान सामाजिक व्यवस्था कायम छ। महिलाहरू सङ्घर्ष र शक्तिमा समेत पुरुषभन्दा कम छैनन्। द्वितीय विश्वयुद्धको बेला जब आजाद हिन्द सेनाको ‘रानी झाँसी रेजिमेन्ट‘को महिला पल्टनले बैंककको राजमार्गमा परेड ग–यो त्यस बेला त्यहाँका नागरिकले “जुन देशको महिला शक्ति जागृत भइसकेको छ त्यो देश धेरै दिन परतन्त्र रहन सक्दैन” भनेका थिए र केही वर्ष उपरान्त भारतले स्वतन्त्रता प्राप्त गरेको थियो।
महिला जागरणको आवश्यकता र महत्व सबैको सामु छर्लङ्ग छ किनभने कुनै पनि समाजको मूल्याङ्कन शिक्षा र दक्षताको आधारमा नै गरिन्छ। मधेसी जनसङ्ख्याको आधा हिस्सालाई भान्साघरसम्म सीमित राखिएको छ। यस कारण मधेसको विकासका लागि दुवै पक्षमा शिक्षाप्रति जागरुकताको आवश्यकता छ। मधेसको विकासका लागि मधेसी महिलाहरूलाई शिक्षित बनाउने कार्यमा सम्पूर्ण मधेसवासीको चासो हुनुपर्छ। छोरीलाई पनि विद्यालय पठाउन प्रेरित गर्नुपर्दछ। धेरै महिलालाई दक्षता हासिल गराउन मधेसमैत्री स्तरीय तालिम दिनुपर्छ।
यसका लागि प्रयास पनि भइरहेका छन्। लोकतान्त्रिक समाजमा हाम्रो विचार पनि लोकतान्त्रिक हुनुपर्दछ। महिला हाम्रा सम्पत्ति हुन् र जसको उपयोग हामी आफ्नो सुविधा अनुसार गर्न सक्छौं भन्ने मान्यता त्याग्नुपर्छ। महिलाहरूलाइ समर्थ बनाउन सबैभन्दा पहिले उनीहरूलाई सुशिक्षित बनाउनुपर्छ। यसका साथै गृहस्थ तथा प्रौढ महिलाहरूका लागि पनि विशेष कक्षा सञ्चालन गर्नुपर्छ। उनीहरूलाई स्वावलम्बी बनाउन मधेसको हरेक घरमा ससाना गृह उद्योग जस्तै मसला उद्योग, लुगा धुलाइ, सिलाइ, स्थानीय स्रोत र साधनको प्रयोगबाट हस्तकला निर्माण, सानो ठाउँमा सागसब्जी उत्पादन आदि।  
विकासको लागि शिक्षित हुनु आवश्यक छ र जब कुरा महिलाको गरिन्छ त्यसबेला यो झनै आवश्यक हुन्छ। आज महिलासामु घर–परिवार, छर–छिमेक, रीति–रिवाजको नाउँमा अनेकन समस्या र चुनौती उपस्थित छ। त्यसको निराकरण शिक्षाबाट नै सम्भव छ। स्वस्थ र प्रगतिशील मधेसी समाजको निर्माणकार्य अरूले होइन तपाईं, हामीजस्ता शिक्षित मधेसीहरूले नै थालनी गर्नुपर्छ। यस कार्यमा मधेसमा कार्यरत महिला सङ्घसंस्था वा महिला सञ्जालले पनि सहयोग पु–याउन सक्छन्। यसका लागि सञ्चार माध्यमहरूले पनि सहयोग गर्न सक्छन्। यस कार्यको थालनी हामी सबैले आआफ्नो घरबाट नै गर्नुपर्छ। यसरी अगाडि बढियो भने आधी पिछडिएको जनसङ्ख्याले पनि पुरुषसँगसँगै काम गर्न थाल्छ र अन्ततः एउटा समुन्नत मधेसको परिकल्पना साकार हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्