पर्सागढीमा २०६औं विजय उत्सव मनाइयो

130

प्रस, पर्सागढी, १९ पुस/
नेपाल र भारतमा तत्कालीन ब्रिटिश सरकारका सेनाबीच विसं १८७१ मा भएको युद्धमा विजयी प्राप्त भएको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६औं विजयोत्सव मनाइएको छ।
पर्सागढी नगरपालिकाको आयोजनामा पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, पर्यटक पत्रकार सङ्घ पर्सा, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा, वीरगंज उद्योग वाणिज्य सङ्घको सहकार्यमा विजयोत्सव मनाइएको हो। नगरपालिकाबाट निकालिएको बाजासहितको –याली नगरपरिक्रमापछि पर्सागढी मन्दिरमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो।
कोणसभामा नगरप्रमुख लोकनारायण यादवले भारतमा रहेका ब्रिटिश सेनाको टुकडीले पर्सागढी नगरपालिकामा विसं १८७१ मा आएर टेन्ट गाडी कब्जा गर्न खोज्दा नेपाली सेनाले ब्रिटिश सेनालाई भगाएको सम्झनामा आज विजयोत्सव मनाइएको बताए।
उपप्रमुख अर्चना चौधरीले ऐतिहासिक महत्वको पर्सागढी मन्दिरलाई अझै राम्रो बनाउनेतर्फ नगरपालिकाले पूर्ण सहयोग गर्ने आश्वासन दिइन्।
चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजङ्ग राणाले पर्सागढीमा गौरवका साथ उत्सव मनाउनुपर्ने बताए। हाम्रा पुर्खाले ज्यान दिएर यो ठाउँको रक्षा गरेको हुनाले ऐतिहासिक महत्वको पर्सागढीको संरक्षण, संवद्र्धनमा सबैले सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा अशिक्षादेवी थरुनी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, होटल व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, वडाध्यक्षहरू तुलाराम चौधरी, किसुनदेव प्रसाद, उद्धव उप्रेती, किशोरीराउत अहिर, वेदमनदास थारू, नेका बुथ सभापति जङ्गबहादुर दास थारू, समाजसेवी अच्छेलाल यादव, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीलगायतको सहभागिता थियो। कार्यक्रममा इन्जिनीयर जगविजय साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण गिरिराज कँडेलले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्