नदीजन्य पदार्थ निकासीमा नक्कली रसीद प्रयोग, एकजना जेल चलान दुईजना धरौटीमा रिहा

131

प्रस, निजगढ, १८ पुस/

जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगङ्गा, पसाहा खोलामा नक्कली रसीद प्रयोग गरी नदीजन्य पदार्थको निकासी कर काटेको घटनामा संलग्न एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने दुईजना धरौटीमा रिहा भएका छन्।

घटनामा पक्राउ परेका कलैया उपमहानगरपालिका–१८ का ३८ वर्षीय सन्तोष साह पुर्पक्षका लागि जेल चलान भएका र वीरगंज उपमहानगरपालिका–२ का ३६ वर्षीय अजयकुमार साह र जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ४५ वर्षीय मनोजकुमार न्यौपाने जनही रु १ लाख ५० हजार धरौटी तिरेर रिहा भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा प्रहरीले गत मङ्सिर १६ गते बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले यही पुस १२ गते फैसला सुनाएको इप्रका सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

उपमहानगरपालिकाको सरकारी छाप, नक्कली रसीद प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेको सूचना पाएपछि बारा प्रहरी, प्रशासनलाई जीतपुरसिमरा उपमहानगरपालिकाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न पत्राचार गरेपछि बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जिल्ला प्रहरी कार्यालय बारालाई सक्रिय भई अनुसन्धान गर्न निर्देशन दिएका थिए।

प्रहरीको सक्रियता र ठेकेदार कम्पनीका कर्मचारी एवं कामदारहरूलाई पक्राउ गरेपछि खोला ठेक्का सकार गर्ने कम्पनीका मुख्य सञ्चालक कलैया उपमहानगरपालिका—१६ का अध्यक्ष शेषनाथ साह प्रहरीको सम्पर्कबाहिर थिए। बारा प्रहरीले निगरानी बढाए पनि उनीहरू त्यस बखत फेला नपरेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

सो अवधिमा ठेकेदार साह भारतमा लुकीछिपी बसेको स्रोतले बताएको छ। अवैधरूपमा नदीजन्य पदार्थ निकासी करबापत तीनवटा खोलाबाट एकै दिनमा ५–७ लाखभन्दा बढी रकम उठ्न सक्ने भएकोले ठेकेदारले कर्मचारी, कामदारहरूलाई प्रयोग गरेको आरोप छ।

खोलाहरूको ठेक्का परे पनि उत्खनन अनुमति लिनुअघि विनोद निर्माण सेवाले सो खोलामा नक्कली छाप, रसीद प्रयोग गरी नदीजन्य पदार्थ निकासी गरेको आरोप लागेको थियो। ठेकेदार कम्पनीले भने सो आरोप अस्वीकार गर्दै आएको थियो। तर कम्पनीकै कर्मचारी, कामदार संलग्न भएको पुष्टि भएपछि कामदारलाई फसाउने र ठेकेदारलाई उम्काउने खेल भएको हुन सक्ने आशङ्का गरिंदैछ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगङ्गा, पसाहा खोलाको ९४ लाख घनफिट नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न रु १२ करोड ७८ लाखमा आफूले ठेक्का सकार गरेको ठेकेदार शेषनाथ साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्