महलमा विलासिता र झुपडीमा चोखा–भात

194

राजेश मिश्र

‘नइखे कुछु त, भात–चोखा बना दीह, सुनलु।’ एक समय थियो, जतिबेला सामान्य नागरिकलाई खानाको लागि भात र चोखा मात्र सम्भव थियो। विगतकालका देहाती जीवनशैलीमा भात र चोखा निर्विकल्प भोजन थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। सम्पन्न परिवार वा राज्यका हुकुमाधिराजसँग आबद्ध पात्रजनबाहेक सामान्यवर्गको हैसियतमा थरीथरीका व्यञ्जन, मनोरञ्जन र विलासिता स्वप्न जस्तै थियो। उतिबेला रानीगंज दरबार, कलैया दरबार, सिम्रौनगढलगायत विभिन्न दरबारमा नृत्य र सङ्गीतको धुनमा मदिरापानसँगै राजा, महाराजाहरूको विलासिता उफानमा थियो। अर्कोतर्फ आमजन माटोको घरमा भात र सागपातको चोखा खाइरहेको हुन्थ्यो। अन्ततोगत्वा पुर्खाहरूको अश्रुजनित शापले विलासीजनहरूको पापकर्म ध्वस्त भयो र आज हामी गणतन्त्रात्मक व्यवस्थामा छौं।    
जीवनका कैयौं दशक पार गरिसकेका पुरनियाँहरूको विगतकालका तन्त्रको सम्झना ह्दयविदारक नै भन्नुपर्छ। उनीहरूका अनुसार राणाकालीन र शाहीकालीन शासन व्यवस्थाताका राज्यमा हुकुमत चलाइरहेका पात्रहरूले मद्यपान, नृत्य र गीत–सङ्गीतमा रमाइरहेका बेला हाम्रा पुर्खाहरू तरकारीको अभावमा भात र चोखा खाएर जीवन धानिरहेका थिए। गाउँदेहातमा पाइने सागपातको चोखा नै भात वा रोटीसँग उपभोग गरिन्थ्यो। खेंसारी, बथुवा वा अरुईलगायतका सागपात तरकारी वा चोखाको रूपमा उपभोग हुन्थ्यो। केही पनि उपलब्ध नभएको खण्डमा खुर्सानी, नून र तेलको मिश्रण भातसँग उपभोग गरिन्थ्यो।
आलु, भन्टा र खुर्सानीको चोखा जस्ता स्वादहरू विशुद्धरूपमा देहाती परिवेशका उत्पत्ति हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। यो बेग्लै कुरा हो कि आज यो देहाती परिकार खानामा थप स्वादको रूपमा प्रचलनमा छ। चोखाको सम्झना भएमा मात्र पनि मुखमा पानी नआउने कोही नहोला। जाडोको महीनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भुजा र चोखा’ देहातको पहिचान हो। घोन्सारमा भुजेको आनन्दी चामलको भुजा र घोन्सारको भट्टीमा पकाएको भन्टा वा आलुको चोखाको आनन्द लिनेहरूबाहेकलाई उक्त देहाती भोज्य पदार्थको स्वाद स्वप्न जस्तै हो। दिनभरि खेतमा काम गरी घर फर्किएका किसान खाजाको रूपमा भुजा र आलु वा भन्टाको चोखा खान्थे। पानी खाएपछि मुखबाट निस्कने ‘आह’ युक्त ध्वनिले मन कति प्रफुल्लित होला भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्नेबाहेकलाई अनुमान गर्न कठिन छ। धानको नियारीले निर्मित ‘तरई’ वा बाँस र ‘साबे’को जोरले निर्मित ‘खटिया’ मा बसी ‘दौरी’ (डलिया) मा खाजा खाने देहाती शैली अपवादबाहेक लोपप्रायः छ।
आजका पुस्ताले खानामा ‘चोखा’लाई अपवादको रूपमा लिन्छन्, किनभने समयको गतिसँगै विभिन्न प्रकारका तरकारीको सहज उपलब्धता र सुधारोन्मुख आर्थिक अवस्थाको कारण खानामा ‘चोखा’ हुनैपर्छ भन्ने छैन। यद्यपि आजको परिवेशमा समेत भोजनको रूपमा चोखा र भातमा मात्र आश्रित समुदाय छैनन् भन्न सकिने अवस्था पनि छैन। खानाको सवालमा सम्पन्न वर्गको थालमा सागपातको ‘चोखा’ अतिरिक्त स्वादको रूपमा सामेल होला त्यो भिन्दै कुरा हो तर विपन्न परिवारको लागि भात र चोखा नै निर्विकल्प भोजनको रूपमा आज पनि विद्यमान छ।
पारम्परिक देहाती ‘चोखा’ समयको गतिसँगै शहरीया थालमा मात्र होइन, यसको लोकप्रियता विदेशसम्म पुग्नु देश र देहातको लागि गौरवको विषय हो। कामको खोजीमा विदेश पलायन हुने क्रम अत्यन्त दुःखद भएपनि श्रमिकमार्फत देहातका मूलभूत परिवेश विदेशसम्म प्रवाहित हुनु सुखद पक्ष हो। देहाती जीवनशैलीका विशेषता तथा यस क्षेत्रका प्राकृतिक आयामहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाहित गर्नु राज्यपक्षको नितान्त कर्तव्य हो। यद्यपि देहातको उत्थानको निमित्त यस क्षेत्रबाट प्रतिनिधित्व जनाइरहेका पात्रहरूको मानसपटलमा मुख्य सरोकार अङ्कुरित नहुनु स्वार्थी मानसिकताको पराकाष्ठा हो भन्ने भुइँतहको बुझाइ नकार्न सकिंदैन। किंकर्तव्यविमूढताका कारण मूलभूत सरोकार नारा, जुलुस, टिकट, मत र पदलगायतका स्वार्थअनुकूल मानसिकताले देहातको गरिमामय विषयवस्तुहरू ओझेलमा परेका छन् भन्ने जनस्तरको आरोप सो–ह आना जायज हो।
सत्तामा लिप्त पात्रहरूको ह्दयमा ‘जनमत’को अपेक्षाबाहेक स्थान नपाउने भुइँमान्छेको सपना सुख–शान्तिका साथ कम्तीमा पनि सामान्य भोजन र अतिरिक्त स्वादको रूपमा सागपातको चोखा प्राप्त गर्ने आकाङ्क्षा पूरा होला कि नहोला ? जो पुरनियाँहरू जीवनकालमा कैयौं परिवर्तन देखिसकेका छन्, उनीहरूलाई विगतका शासन व्यवस्था र गणतन्त्रीय शासन व्यवस्थाको बीचमा फरक छुट्टाउने सन्दर्भमा प्रायः पुरनियाँहरू निश्शब्द हुन्छन्, किन ? पुरनियाँहरूको अनुभवलाई मान्ने हो भने अचेलको प्रवृत्तिमा एक असल काम गरेर मुद्दती खाता जस्तै जीवनभरि लाभ लिइरहने मानसिकता बढ्दो छ। त्यसैले संविधानले अपेक्षा गरेको परिवर्तन अनपेक्षित क्रियाकलापको चाङभित्र लोप हुँदै गइरहेको छ।
हिजोको शासन व्यवस्थामा संविधानभन्दा पनि व्यक्तिको हुकुम नै सर्वोपरी थियो, जे हुकुम भयो त्यहीं कानून हुने। तर गणतन्त्रमा संविधान सर्वोपरी हो अर्थात् संविधानभन्दा माथि कोही हुँदैन। संविधानमा अङ्कित अक्षरहरू जनताबाट चुनिएका जनप्रतिनिधिहरूले बनाएका हुन्। संविधानको पानामा देश र जनताको मर्म कोरिएको छ। संविधानको मूलभूत परिकल्पनाभन्दा पनि आफूलाई सर्वेसर्वा मान्ने मनस्थिति फरक शैलीमा हिजोकै पुनरावृत्ति हो भन्ने आममानिसको बुझाइलाई नकार्न सकिंदैन।
धेरै यस्ता परिवार छन्, जो आर्थिक अभावको कारण खानामा प्रतिदिन भातसँग दाल र तरकारी उपभोग गर्न अक्षम छन्। उनीहरूको लागि भात वा रोटीसँग स्थानीयस्तरमा उपलब्ध सागपातको चोखाबाहेक अर्को विकल्प छैन। वृद्धभत्ता, एकल महिला भत्ता जस्ता असहायहरूले पाउने सुविधामा आँखा लगाउने बानीले भ्रष्टाचार र कुशासन कति व्याप्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। विगतमा चोखा नै तरकारीको विकल्प थियो। आजको प्रचलनमा ‘चोखा’को महत्व त्यसरी छैन, जसरी हाम्रा पुर्खाहरूको लागि थियो।
केही दशकदेखि दाल र तरकारीको भरपूर उपलब्धताले ‘चोखा’ अपवादमा परेको बुझ्न सकिन्छ। पुर्खाहरूले भोगेको वृतान्त नै ‘स्वविकास’को अवधारणामा देहातीजनलाई उत्प्रेरणा प्रदान गरेको कतिपयको भनाइलाई मान्ने आधारहरू प्रशस्त छन्। जस्तै विदेशमा श्रम बेच्ने र परिवारलाई पाल्ने मनोविज्ञानले परिवारलाई मात्र सुखशान्ति प्रदान गरेको छैन। अपितु राज्यलाई पनि विप्रेषणमार्फत टेवा पु–याइरहेका छन्। देहातीजन सुखशान्ति र प्रगतिका साथै खानाको सवालमा परिस्थिति सुधारोन्मुख छ तर निर्मूल भइनसकेको अवस्था छ।
दिनभरि हलो कोदालो चलाएर पाँच सय रुपैयाँ ‘बनिहारी’ (ज्याला) आर्जन गर्ने नागरिकलाई खानामा विभिन्न परिकार र पुष्टिबर्धक व्यञ्जन कसरी सम्भव हुन सक्छ ? केही धुर घडेरीमा बनेको फुसको झुपडी र एक/दुई कट्ठा खेतमा आश्रित परिवारका पुर्खाहरू जसरी चोखा र भातमा सीमित थिए, उनीहरूका नवपुस्ता पनि त्यसैगरी जीवन बाँच्न बाध्य हुन्छन् भने हिजोका ‘राजा’ र आजका ‘जनप्रतिनिधि’बीच फरक के त ? यो देहातीजनहरूको प्रश्न हो र यसको जवाफ कुनै पात्रसँग छ भने जनताको घरमा पुगेर धुत्र्याइँरहित उत्तर फर्काउने साहस आफूभित्र ल्याउन सक्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्