द्रोण पर्व–२५

117

उमाशङ्कर द्विवेदी

राजा मरूतले तरूणावस्थामा रहेर प्रजा, मन्त्री, धर्मपत्नि, पुत्र र भाइहरूका साथ एक हजार वर्षसम्म राज्यको शासन गरे। सृञ्जय, यस्तो प्रतापी राजा पनि, जो तिमी तथा तिम्रा पुत्रहरूबाट धेरै बढी थिए, यदि उनी पनि मृत्युबाट बच्न सकेनन भने तिमीले पनि आफ्नो पुत्रको शोक गर्नु हुदैन।
नारदजीले पुनः भने–राजा सुहोत्रको पनि मृत्युको बारेमा सुनिन्छ। उनी अफ्नो समयका अद्वितिय वीर थिए, देउताहरूसम्मले उनीतिर आँखा जुधाएर हेर्न सक्दैन्थे। उनी प्रजाको पालन, धर्म, दान, यज्ञ र शत्रुहरूमाथि विजय पाउने–यी सबैलाइ कल्याणकारी ठान्दथे। धर्मबाट देउताहरूको अराधना गर्दथे, बाणबाट शत्रुहरूमाथि विजय पाउदथे र आफ्नो सद्गुणले समस्त प्रजालाइ प्रसन्न राख्दथे। उनले म्लेच्छ र डाकाहरूको नाश गरेर यस सम्पूर्ण पृथ्वीमाथि राज्य गरेका थिए। उनको प्रसन्नताकोलागि बादलले अनेकौ वर्षसम्म उनको राज्यमा सुवर्णको वर्षा गरेका थिए। त्यहां सुवर्णको खोलो बग्दथ्यो। त्यसमा सुनका गोही र माछा रहन्थे। मेघबाट अभिष्ट वस्तुहरूको वर्षात् हुन्थ्यो। राज्यमा निकै ठूल्ठूला तलाउहरू थिए जसमा पनि सुनका गोही, मकर,कछुवा र माछाहरू रहन्थे। ती जम्मैलाइ हेरेर राजालाइ अत्यन्त आश्चर्य हुन्थ्यो। उनले कुरूजाङ्गल देशमा ठूलो यज्ञ गरे र त्यो अपार सुवर्णराशी ब्राह्मणहरूमा बाडि दिए। राजा सुहोत्रले एक हजार अश्वमेघ, एकसय वटा राजसूय तथा धेरै दान दक्षिणावाला अनेकौ यज्ञ गरे र नित्य–नैमित्तिक यज्ञहरूको अनुष्ठान गरे। हे सृञ्जय, ती सुहोत्र पनि तिमी र तिम्रो पुत्रभन्दा सर्वथा श्रेष्ठ थिए तर मृत्युले उनलाइ पनि छाडेन। यस्तो विचार गरेर तिमीले पुत्रको निम्ति शोक गर्नु हुदैन।
नारदजीले फेरि भन्न थाले–राजन्, जसले सम्पूर्ण पृथ्वीलाइ छाला झै आफ्नो जिउमा बेरेका थिए। ती उशिनरपुत्र राजा शिबि पनि मरेका थिए। उनले सम्पूर्ण पृथ्वीलाइ जितेर अनेकौ राजसूय यज्ञ गरेका थिए। उनले दश अरब सुवर्णमुद्रा दान गरेका थिए। साथै हात्ती, घोडा, पशु, धान्य, मृग, गौ, बाख्रा, भेडा, आदिका साथै अनेकौ भूखण्ड ब्राह्मणहरूलाइ दानमा दिएका थिए। वर्षदै गरेको मेघमा जति पनि धाराहरू खस्दछन, आकासमा जति पनि ताराहरू देखिन्छन, गंगाको बगरमा जतिपनि बालूवाका कणहरू छन, मेरूपर्वतमाथि जति पनि शिलाका टुक्राहरू छन र समुद्रमा जति पनि रत्न र जलचरहरू छन त्यतिनै गाइ शिबिले ब्राह्मणहरूलाइ दानमा दिएका थिए। प्रजापतिले पनि शिबिको समान महान् कार्यभारलाइ वहन गर्ने कुनै अर्को महान पुरूष भूत, भविष्य तथा वत्र्तमान्मा हेरेका थिएनन। उनले कैयन यज्ञ गरे जसमा प्रार्थीहरूको सम्पूर्ण कामना पूर्ण हुन्छ। ती यज्ञहरूमा यज्ञस्तम्भ, आसन, गृह, पर्खाल र बाहिरी ढोका जम्मै वस्तु सुनले बनेको थियो। यज्ञको भण्डारमा दूध–दहीको बडेमानका कुण्डहरू बनेका थिए तथा दूध–दहीको खोलो बगिरहेको थियो। शुद्ध अन्नको पर्वतको समान राश लागेको थियो। त्यहां सबै मानिसकोलागि घोषणा गरिएको थियो–सज्जनहरू, नुहाइ–धुवाइ गरेर जसको जस्तो रूची छ त्यसको अनुसार खानुहोस्, पिउनुहोस्। भगवान् शिवले राजा शिबिको पुण्यकर्मबाट प्रसन्न भएर यो वर दिएका थिए–राजन्, सधै दान गरिरहदा पनि तिम्रो धन क्षीण हुने छैन। यसै प्रकार तिम्रो श्रद्धा, सुयश र पुण्यकर्म अक्षय रहने छ। तिमीले भने बमोजिम सबै प्राणी तिमीसित प्रेम गर्ने छन र अन्तमा तिमीलाइ उत्तम लोकको प्राप्ति हुनेछ। यस्ता उत्तम वर पाएर राजा शिबि पनि समय आएपछि दिव्यलोकमा गइसके। उनी तिमी र तिम्रो पुत्र भन्दा पनि बढी पुणयात्मा थिए। जब उनी पनि मृत्युबाट बच्न सकेनन, त्यसैले तिमीले पनि आफ्नो पुत्रको शोक गर्नु हुदैन।
सृञ्जय, जसले प्रजामाथि पुत्रको समान प्रेम भाव राख्दथे ती दशरथनन्दन राम पनि परमधाम गइ सके। उनी अत्यन्त तेजस्वी थिए। आफ्नो पिताको आज्ञाबाट उनी धर्मपत्नि सीतार भाइ लक्ष्मणका साथ चौदह वर्षसम्म वनवास गरेका थिए। जनस्थानमा रहेर तपस्वी, मुनिहरूको रक्षार्थ उनले चौदह हजार राक्षसहरूको वध गरेका थिए। त्यहा बस्दा लक्ष्मण सहित रामलाइ मोहमा पारेर रावण नामक राक्षसले उनकी पत्निलाइ हरण गरेर लग्यो। यद्यपि रावण देउता र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूकोलागि कण्टकरूपी थियो। रामले उसलाइ उसका आफन्तहरू सहित मारेर स्तिालाइ फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्रज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नामक महायज्ञको अनुष्ठान गरे। क्रमशः…।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्