जाडो र ग्रामीण विज्ञान

87

सञ्जय मित्र

प्रकृतिले सबै थोक दिएको छ, मानिसलाई। प्रकृतिबाट मानिस निकै प्रभावित छ। मानिस जतिसुकै प्रकृतिबाट टाढा भाग्न खोजे पनि प्रकृतिले मानिसलाई भाग्न दिएको हुँदैन। अहिले पनि ज्ञान र विज्ञानले उत्कर्षता प्राप्त गरिरहेको समयमा पनि प्रकृतिको महत्व कम भएको कसैले भनिरहेको छैन। विज्ञानले विकास गर्नुपर्दछ तर प्रकृतिलाई हानिनोक्सानी पु–याउनुहुँदैन भन्ने मान्यतामा पनि कमी आएको छैन। बरु प्रकृतिको संरक्षणले मानवजीवनको सम्पन्नता सम्भव छ भन्न थालिएको छ।
परिवेश अनुसार पृथ्वीका विभिन्न ठाउँमा विभिन्न किसिमका मौसम रहेको देखिन्छ। नेपालकै उत्तरमा अधिकांश समय जाडो हुने हुँदा लगभग एकै किसिमको मौसम हुन्छ तर जाडो कम हुने र जाडो धेरै हुने दुई मौसम भन्न सकिन्छ। त्यहाँको शब्दावलीमा जाडो र गर्मी होला तर यही नेपालकै दक्षिणी क्षेत्रका मानिसका लागि त्यहाँ जेठमा पनि जाडो हुनु स्वाभाविक हो। हिमाली क्षेत्रमा वर्षाको मौसम हुँदैन भनिन्छ वा पानी निकै कम पर्ने तथा पानीको साटो हिउँ पर्ने हुन्छ। पहाडमा भने जाडो, गर्मी र वर्षा गरी तीन मौसम हुन्छन्। तराईमा कहिल्यै हिउँ पर्दैन। तर पनि जाडो भने हुन्छ। यहाँका बासिन्दाका लागि धेरै जाडो हुने समयमा पनि हिमाली क्षेत्रका मानिसका लागि खासै जाडो हुँदैन यहाँ। हिमालका केही मानिस जाडो छल्न यहाँ झर्ने गर्दछन् र यहाँका बासिन्दाले अत्यन्त धेरै जाडोको अनुभूति गरिरहेको समयलाई पनि जाडो त छैन है भन्दै कुरा गरेको सुनिन्छ। अनुभव बताएको सुनिन्छ।
तराई–मधेसमा वार, महीना, ६ ऋतु र तीन मौसम हुन्छन्। हरेक मौसमका आफ्नै विशेषता छन्। गर्मीमा मानिस घरबाहिर जहाँ पनि बस्न सक्ने हुन्छन्। गर्मी छलेर बस्नुपर्ने भएकोले कम कपडा भएका विपन्न समुदायलाई पनि केहीको अभाव अनुभव हुँदैन। वर्षामा भने छानो चुहिने नहुँदा राम्रो हुन्छ र बाढीले धेरै नसताउँदासम्म बाँच्न खासै असजिलो हुँदैन तर जाडोको मौसम भने निकै निर्दयी हुन्छ। जहाँ गए पनि जाडोले छोड्दैन। जाडोबाट सबैभन्दा प्रभावित हुने वर्ग त निम्न नै हुन्छ। जाडोको पारो जति धेरै चढ्दै जान्छ, सुविधाविहीनहरूमा चिन्ता र समस्या दुवै बढ्दै गएका हुन्छन्।
अहिले सुविधाको युग पनि हो। हुनेखानेको लागि अनेक सुविधा छन्, बजारमा। सुविधा र सुख किनेर पाइन्छ भन्ने भ्रम बढेको युग हो। बजारको चमकदमकले विपन्नलाई किन छुँदैन भने पहुँच हुँदैन। पहुँच नभएपछि जाडो त भोग्नुपर्छ। जाडोजस्तो कठिन समय गरीबको लागि केही पनि हुन्न। जाडोको समय विपन्नहरू आफ्नै किसिमले बिताउने गर्दछन्। सबैभन्दा बढी उपयोग आगोको गर्दछन्।
पहिले मानिस जाडोभरि परालको ओछ्यान लगाउँथे र परालबाटै बनेको सुकुल ओढ्ने गर्दथे। ओढ्ने र ओछ्याउने परालको भएपछि जाडो लाग्दैन भन्ने मान्यता थियो। यसै कारण अझै पनि कतिपय विपन्न परिवारमा प्लास्टिकको बोरालाई काटेर ठूलो बनाइ त्यसभित्र पराललाई टुक्राटुक्रा पारेर हालिन्छ र परालकै नरम ओछ्यान बनाएर सुतिन्छ। अब त सुकुल ओढ्ने चलन करीब–करीब हटिइसकेको छ तर अवशेष भने छँदैछ। अति अशक्त परिवारलाई कम्बल तथा सिरक कतैकतैबाट प्राप्त हुन्छ। यी दुई ओढ्नेलाई अन्य काममा त्यत्ति प्रयोग गरेको पाइँदैन।
न्यानो कपडा भनेकै एउटा ओढना हो गरीबको लागि। सम्भव भए सुइटर वा एउटा पूरा बाहुला भएको सर्ट लगाएर गाउँघरमा ओढना भनिने चादर ओढेर लगभग पूरा जीउलाई जाडोबाट जोगाउने प्रयत्न हुन्छ। ओढनाले टाउकोदेखि कम्मरसम्मको भागलाई सजिलै छोपेको हुन्छ। यसले गर्दा जाडो भगाउन सजिलो हुन्छ। ओढना ओढेर काम पनि गर्न मिल्ने भएको र काम गर्दा अलिकति गर्मी पनि महसूस हुने हुन्छ। भित्रैबाट गर्मी महसूस गराउन पनि कतिपयले जाडोमा अलिक बढी मिहिनेत गर्दछन्।
आगोको बहुमुखी प्रयोग विपन्न समुदायमा हुन्छ। आगोले विपन्न समुदायलाई सबै क्षेत्रमा सहयोग गर्दछ।
जाडोमा गाउँघरमा अहिले पनि के सोचाइ छ भने खाना तात्तातो खानुपर्दछ। तातो खाना खाँदा राम्ररी पच्छ र शरीरले ऊर्जा प्राप्त गर्दछ। अझ अति विपन्न समुदायका मानिस खाना खानेबेलामा सकेसम्म आगोको नजीक नै बसेर खाना खाना खोज्दछन्। घरमा चुलोमा खाना पकाएको अवस्था छ भने चुलोको आगोनेर नै खाना खान्छन् र यदि घरमा भाइबुहारी अथवा बुहारी छिन् भने घरबाहिर आँगनमा कतै घुर लगाएको ठाउँ वरपर खाना खान्छन्। बिहानको खाना हो भने सकेसम्म घाम नै रोज्ने गर्दछन्। खाना खाइसकेपछि अझै पनि धेरै मानिसले ज्वानो खाने गरेका छन्।
खाना खाने कलामात्र होइन, के खाने र कस्तो खाने भन्ने विषयमा पनि ग्रामीण समुदायमा आफ्नै किसिमको सचेतना रहेको छ। के खाँदा शरीरलाई चीसोबाट बचाउँछ र के खाँदा जाडो हुन्छ वा जाडोबाट शरीरलाई पार्ने दुष्प्रभावलाई अझ बढाउन सहयोग गर्दछ भन्ने विषयमा ग्राम्य विज्ञान परम्परागत दृष्टिकोणले नै सचेत छ। के कुरा खानै हुँदैन भन्ने कुरामा अहिले पनि ग्राम्य जीवनले नाघ्न सकेको छैन। सम्भवतः धेरै किसिमका चाडपर्वको प्रकृतिलाई अध्ययन गर्ने हो भने यस कुरालाई बुझ्न सकिन्छ। जाडो महीनामा मनाइने परम्परागत पर्वहरू आफ्नै किसिमका रहेका छन्। यस मौसममा मनाइने चाडपर्वहरूका खान्गी पनि मौसम सुहाउँदो र शरीरलाई ऊर्जा दिने किसिमका नै रहेका छन्।
घरमा कसैलाई रुघा लागेको वा खोकी लागेको अवस्था छ भने बिहान र बेलुकी तातो पानी खान्छन्। खाना पनि तातो, घाम वा आगोनजीक बसेर खाना खाने र तातो पानी खाएर जाडोलाई छल्ने र आफूलाई सकेसम्म स्वस्थ बनाइराख्ने कला ग्राम्य जीवनबाट अझै पनि हराइसकेको छैन।
ग्रामीण जीवनमा अझै पनि पराल, आगो, तातो पानी जाडोसित जोडिएका छन्। नवयुवक तथा भद्र पुरुषहरू घुरनजीक वा आसपासको ठाउँमा उभिएर वा बसेर सामाजिक गफगाफ वा छलफल गर्दा जाडो बितेको पत्तै पाउँदैनन्। ग्राम्य जीवनलाई बुझ्न अझै पनि गाउँ नै रहेको जनजीवनलाई बुझ्नुपर्ने हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्