जङ्गली नीलगाईले खेती नोक्सान पु–याउँदा किसान चिन्तित

94

प्रस, गरुडा, १७ पुस/
नीलगाईले खेतीमा नोक्सान पु–याउन थालेपछि रौतहटका दर्जनौं गाउँका किसान चिन्तित हुन थालेका छन्। रौतहटको जङ्गलबाट वाग्मती र बकैया नदी किनार हुँदै दक्षिणतिर झरेका नीलगाईहरूले बालीलाई नोक्सान पु–याउन थालेका छन्।
जाडोको समयमा जङ्गलमा नीलगाईले खाने हरियो नरम घाँसको अभाव भएपछि किसानले लगाएको हरियो नरम बाली खान पल्केको किसानहरूको बुझाइ छ। समूहमा खेतमा पस्ने नीलगाईले बालीनालीमा व्यापक नोक्सान पु–याउन थालेको रौतहटको बौद्धीमाई नगरपालिका–२ इनर्वाका शङ्करप्रसाद मस्तानाले जानकारी गराएका छन्।
नीलगाईले गहुँ, खेसारी, मकै, मसुरो तथा तोरीबालीका साथै विभिन्न किसिमका तरकारीबालीलाई नोक्सान पु–याइरहेको छ।
मानिसको आवागमन कम हुने खेततिर नीलगाईले बढी सताउने गरेको छ। कुहिरो र जाडोको फाइदा उठाएर पनि नीलगाईले खेतको बाली खाइरहेको किसानहरूको गुनासो छ। वाग्मतीको किनारै किनार आउने नीलगाईले पनि खेतीमा क्षति पु–याउने गरेको गढीमाई–६ धर्मपुरका मुकेश यादवको भनाइ छ।
नदीको बगरमा रहेका झाडी तथा काँसघारीमा लुकेर बस्ने नीलगाईहरू कहिलेकाहीं समूहमा दिउँसै पनि खेतमा पुग्ने गरेका छन्।
आलु, काउलीजस्ता तरकारी खेत भएर नीलगाईको समूह भाग्दा पनि बालीमा क्षति हुने गरेको छ। जिल्लाका दर्जनौं गाउँमा नीलगाईले दुःख दिएको किसानहरूको गुनासो छ।
नीलगाई संरक्षित वन्यजन्तुको श्रेणीमा पर्दछ। किसानहरूले लखेट्दा तीव्र गतिमा दौड्ने नीलगाईहरू जिल्लाका विभिन्न भागमा देखा पर्न थालेका छन्।
नीलगाईका साथै जङ्गली हात्तीले पनि बालीमा क्षति पु–याएको देखिएको छ। रौतहटको वृन्दावन नगरपालिकाको बलेरीमा जङ्गली हात्तीले पनि दुःख दिएको स्थानीय बैजु पटेलले बताएका छन्। कहिलेकाहीं त राति पनि हात्ती धपाउन खेतमा किसानहरूको समूह पुग्नुपर्ने अवस्था रहेको पटेलको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्