चाडबाडहरूलाई गरीबहरूको हितमा कसरी प्रयोग गर्ने ?

0
57

विश्वराज अधिकारी

चाडबाडहरूको धार्मिक र सांस्कृतिक महत्व मात्र हुँदैन। यिनको आर्थिक महत्व पनि हुन्छ। चाडबाडले धनीहरूको पैसा (बचत) गरीबहरूको हातमा पु–याउने कार्य गर्छ। चाडबाडहरूले अर्थतन्त्रलाई गति प्रदान गर्छन्। यस कारणले गर्दा चाडपर्वहरूको पनि ठूलो आर्थिक महत्व हुन्छ। चाडपर्वहरूको आर्थिक महत्व भएकोले चाडपर्वलाई कसरी गरीबहरूको हितमा उपयोग गर्न सकिन्छ त्यसबारे गम्भीर भएर सोच्नुपर्छ।
बचत हुनेहरूले चाडपर्वमा अनेक किसिमले खर्च गर्छन्। उपहारमा खर्च गर्छन्, खानपिन, भ्रमणमा खर्च गर्छन्। यस्ता खर्च गरेर, थप उत्पादन हुने अवसर सृजना गरेर, रोजगारका नयाँनयाँ अवसर सृजना गर्छन्। अप्रत्यक्षरूपमा गरीबहरूको हातमा आय पु–याउँछन्।
अमेरिका एवं युरोपमा केही दिन पहिले मात्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिने वा आर्थिक महत्वको ठूलो चाड सम्पन्न भएको छ। केही दिने पहिले मात्र अमेरिका एवं युरोपका बासिन्दाले ठूलो मात्रामा वस्तु एवं सेवा खरीद गरेर क्रिसमस मनाए। खासमा यो चाड क्रिश्चियन धर्मावलम्बीहरूको भएता पनि गैरक्रिश्चियनहरूले पनि अमेरिका र युरोपभरि मनाए। गैरक्रिश्चियन धर्मावलम्बीहरूले पनि क्रिसमससँग सम्बन्धित अनेक वस्तु (क्रिसमस ट्री, सजावटका सामग्री, बत्ती, कपडा आदि) खरीद गरे। उपहार पनि ठूलो परिमाणमा खरीद गरे। उपहार एकआपसमा साटासाट गरे।
क्रिसमसमा व्यक्ति एवं परिवारहरूले मुख्यरूपमा तीन किसिमका महत्वपूर्ण आर्थिक क्रियाकलाप गर्छन्। पहिलो, ठूलो परिमाणमा वस्तु खरीद गर्छन्। क्रिसमसमा परस्पर उपहार दिने हुनाले बजारमा ठूलो परिमाणमा वस्तुहरूको खरीद–बिक्री हुन्छ। उपहार मात्र होइन, उपहारलाई सुरक्षित एवं आकर्षक बनाउन कागजको पनि ठूलो मात्रामा खरीद हुन्छ। अर्थात् उपभोक्ताहरूले प्याकिङमा पनि ठूलो रकम खर्च गर्छन्। क्रिसमसमा ठूलो मात्रामा उपहार दिनका लागि अनेक वस्तु खरीद गरिने हुनाले यो चाडलाई ‘उपहारको चाड’ पनि भन्ने गरिन्छ। दोस्रो, क्रिसमसमा भोज–भतेरमा पनि अधिक खर्च हुन्छ। यो चाडमा खाद्य सामग्री पनि ठूलो परिमाणमा खरीद–बिक्री हुन्छ। होटलहरूले पनि ठूलो परिमाणमा अनेक परिकार बिक्री गर्छन्। क्रिसमसमा अन्य समयभन्दा खाद्य वस्तुको माग ह्वात्तै बढेर जान्छ। तेस्रो, क्रिसममा व्यक्तिहरूले यात्रा पनि सामान्य समयभन्दा बढी गर्छन्। अमेरिका र युरोपभरि नै ठूलो सङ्ख्यामा आवतजावत हुन्छ। यो चाडलाई परिवारिक भेटघाटको चाड पनि भन्ने गरिन्छ। क्रिसमसमा भेटघाटको क्रम तीव्र गतिमा चल्ने हुनाले यो चाडमा यातायात (हवाई, बस, रेल, कार आदि) सेवा प्रदायकहरूले पनि अप्रत्यक्षरूपमा राम्रो आय हात पार्छन्।
खासमा अमेरिका एवं युरोपमा डिसेम्बर महीनालाई आर्थिक महत्वको महीना मान्ने गरिन्छ। यो महीनामा उपयोक्ताहरूले क्रिसमसका लागि भनेर अनेक किसिमका वस्तु एवं सेवा त खरीद गर्छन् नै, नयाँ वर्षका लागि भनेर पनि अनेक वस्तु एवं सेवा अग्रिमरूपमा खरीद गर्छन्। यो महीनामा खर्च गर्ने भनेर नै बचत गरेका हुन्छन्। यो कुरा, त्यो कुरा खरीद गर्ने पूर्व योजना बनाएका हुन्छन्।
अमेरिकी अर्थतन्त्र खर्चमा आधारित अर्थतन्त्र भएकोले अमेरिकीहरूले त क्रिसमसमा झनै धेरै पैसा खर्च गर्छन्। क्रिसमस अवधिभर अमेरिकामा क्रिसमस ट्री मात्र लाखौ डलरको बिक्री हुन्छ। सजावटका सामान पनि लाखौ डलरको बिक्री हुन्छ।
यो वर्षको चाडबाड आदिमा, प्रत्येक व्यक्तिले अमेरिकामा औसत ९९८ डलर खर्च गर्ने अपेक्षा गरिएको छ। यो अपेक्षा भने अमेरिकाको ‘नेशनल रिटेल फेडेरेशन’ ले गरेको हो। यो खर्च दैनिक आवश्यकताका वस्तु एवं सेवाहरूमा नभएर उपहार, भ्रमणसम्बन्धी तथा अन्य कुरामा हुने अपेक्षा गरिएको छ। अमेरिकीहरूले जति आवश्यकताका वस्तु एवं सेवा खरीद गर्छन् त्योभन्दा बढी विलासी एवं अर्ध विलासी वस्तु खरीद गर्छन्। र यो यस्तो गर्नाले नै अमेरिकी अर्थतन्त्रले राम्रो गति पाएको छ। यदि धेरैले बचत गर्ने हो भने लगानीको राम्रो अवसर सृजना हुँदैन। यो तथ्यलाई अमेरिकी अर्थशास्त्री एवं नीति निर्माताहरूले राम्ररी बुझेका छन्।
अमेरिकीहरूले मनाउने अर्को महत्वपूर्ण चाड ‘थैंक्सगिभिङ’ हो। यो चाडलाई अमेरिकीहरूले चाडको रूपमा मात्र नभएर ‘खरीद–दिवस’ को रूपमा पनि मनाउँछन्। यो चाड हरेक वर्षको नोभेम्बर महीनाको अन्तिम बिहीवार मनाइन्छ। बिहीवार टर्की खाएर यो चाड मनाइन्छ भने त्येही बिहीवारको भोलिपल्ट अर्थात् शुक्रवारको दिन अनेक किसिमका र मुख्यगरी विलासी एवं अर्ध विलासी सामग्री खरीद गरेर यो चाड मनाइन्छ। यो चाडमा टर्की ठूलो सङ्ख्यामा बिक्री हुन्छ तर सर्वाधिक बिक्री भने घरघरायसी सामानहरूकै हुन्छ। यसैगरी इलेक्ट्रोनिक सामानहरू (टिभी, कम्युटर, सेलफोन) पनि ठूलो परिमाणमा बिक्री हुन्छ। थैंक्सगिभिङमा ठूलो परिमाणामा खरीद हुने भएकोले उनीहरूलाई थप उत्साहित बनाउन आपूर्तिकर्ता ( बिक्रेता एवं उत्पादक) हरूले अनेक किसिमका ‘आर्थिक छुट’ घोषणा गरेका हुन्छन्। यो चाडको समयमा खरीद गर्दा अनेक छुट पाइने हुनाले कतिपय मानिस सामान खरीद गर्न यो चाड पर्खेर बसेका हुन्छन्। थैंक्सगिभिङमा पनि प्रायः विलासी एवं अर्धविलासी वस्तुहरूकै ठूलो परिमाणमा बिक्री हुन्छ।
अमेरिकामा चाडपर्वको ठूलो आर्थिक महत्व हुन्छ र चाडपर्वहरूको माध्यमबाट धनीहरूको पैसा गरीबसम्म पु–याउने लक्ष्य राखिएको हुन्छ। यसै कारणले नै पनि अमेरिकी अर्थतन्त्रले उपभोक्ताहरूलाई बढी खर्च गर्न उत्साहित गर्छ। बचत भन्दा खर्च गर्न प्रेरित गर्छ। धनीहरूलाई बढीभन्दा बढी खर्च गर्न प्रोत्साहित गर्छ।
चाडपर्वहरूले धनीहरूको बचत गरीबसम्म पु–याउन विशेष भूमिका खेल्ने गर्दछन्। तर दक्षिण एशियामा भने यो अवधारणा व्यावहारिकरूपमा प्रयोग भएको पाइँदैन। दक्षिण एशियाको संस्कृतिले बचत गर्नमा अत्यधिक जोड दिन्छ। कम आय भएकाहरूले बचत गर्नु राम्रो हो। तर राम्रो आय हुनेहरूले बचत गर्नु राम्रो होइन। यस्तो कार्यले अर्थतन्त्रलाई सबल तुल्याउँदैन। धनीहरूले बचत गरिदिनाले बजारमा माग बढ्न पाउँदैन र माग नबढ्दा थप उत्पादन हुँदैन। थप उत्पादन नहुँदा थप रोजगार सृजना हुन पाउँदैन। रोजगारमा थप वृद्धि नहुँदा गरीबहरूको हातमा आय पुग्न पाउँदैन। त्यसकारण गरीबहरूको हातमा आय पु–याउन धनीहरूले अनेक किसिमका वस्तु एवं सेवा खरीदमा अधिक खर्च गर्न आवश्यक छ। धनीहरूले चाडबाडमा झनै बढी खर्च गर्न आवश्यक छ। तर हाम्रो समाजमा धनीहरूले पनि चाहिनेभन्दा बढी बचत गर्ने चलन छ। धनी परिवारले बचत गरेर दोस्रो, तेस्रो पुस्ताका लागि राखिदिने चलन छ। यस्तो गर्दा दोस्रो तेस्रो पुस्ता अल्छी हुन्छ, उद्यमी हुन पाउँदैन, किनभने उनीहरूलाई चाहिने जति पहिलो पुस्ताले नै कमाइ दिएको हुन्छ। राम्रो आम्दानी भए तापनि पहिलो पुस्ताले नखाई–नखाई, आवश्यक खर्चसमेत नगरेर, एक एक पैसा बचत गरेर, तेस्रो पुस्ता (नातिनातिना) को लागि जम्मा गरिदिन्छ। यस्तो गर्नाले अर्थतन्त्र गतिशील हुन पाउँदैन किनभने धनीहरूले खरीद नगरिदिंदा बजारमा राम्रो माग सृजना हुन पाउँदैन। त्यसकारण धनीहरूले दोस्रो, तेस्रो पुस्ताका लागि बचत नगरेर जति सक्यो बढी खर्च गर्नुपर्दछ। खानपिन, भ्रमण, विलासी वस्तुहरूमा जति सक्यो बढीभन्दा बढी खर्च गर्नुपर्दछ। गरीबहरूको अर्थशास्त्रले यही कुरा भन्छ।
नेपाली समाजमा पनि धनीहरूले बचत गर्ने पारिपाटी दुरुत्साहित गरेर उनीहरूले बढीभन्दा बढी खर्च गर्ने नीति, नियम बनाउनुपर्छ। त्यस किसिमको संस्कृतिको विकास गर्नुपर्छ। धनीहरूमा त्यस किसिमको फजुलखर्ची गर्ने बानी बसाल्नुपर्छ, जसले धनीहरूको बचत गरीबहरूसम्म पु–याउन सकियोस्। यस्ता अनेक उपाय छन्, जुन गरेर धनीहरूको बचतलाई गरीबहरूको आयमा रूपान्तरण गर्न सकिन्छ। जस्तै धनीहरूले शनिवारका दिन भ्रमणका लागि बाहिर जाने वातावारण तयार गरेर, उनीहरूले घरमा भन्दा होटलमा धेरै समय खान खाने अवस्था सृजना गरेर, गरीबहरूले तयार पारेका विलासी एवं अर्ध विलासी वस्तुहरू खरीद गर्ने अवस्था सृजना गरेर धनीहरूको बचतलाई गरीबहरूको आयमा रूपान्तरण गर्न सकिन्छ।
मुख्यरूपमा त्यस्ता वस्तु एवं सेवा धनीहरूलाई खरीद गर्न प्रोत्साहित गर्नुपर्छ, जुन वस्तु एवं सेवाको उत्पादन एवं बिक्रीमा गरीबहरूको प्रत्यक्ष सहभागिता एवं मुख्य भूमिका हुन्छ। धनीहरूले गर्ने त्यस किसिमका खर्चबाट गरीबहरूलाई प्रत्यक्ष फाइदा प्राप्त होस् भन्ने लक्ष्य राख्नुपर्छ। उदाहरणका लागि ‘सडक भोजन’ (क्तचभभत ाययम) महोत्सवको आयोजना गरेर, त्यो महोत्सवमा केवल कम पूँजी भएका बिक्रेताहरूले मात्र बिक्री गर्न पाउने नियम बनाएर धनीहरूको बचत गरीबहरूसम्म पु–याउन सकिन्छ।
गरीबहरूको गरीबीमा सुधार ल्याउन योजना आयोगमा ठूला–ठूला आयोजनाहरू बनाउनुपर्छ भन्ने छैन। ठूला–ठूला अर्थशास्त्रीहरूले ठूला कुरा भन्नु आवश्यक छैन। ठूला–ठूला डिग्रीधारीहरूले मात्र गरीबी हटाउन योगदान पु–याउन सक्छन् भन्ने पनि छैन। सानासाना योजना बनाएर, सामान्य सोचसहित साधारण कार्य गरेर पनि गरीबहरूको गरीबीमा सुधार ल्याउन सकिन्छ। इमानदार प्रयास भएमा सामान्य कार्य गरेर पनि नेपालको गरीबी कम पार्न सकिन्छ। गरीबहरूको आर्थिक स्थिति सुधार्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्