आफ्नो मूल्याङ्कन आफैं गर्न सक्ने भए

123

सञ्जय साह मित्र

कतिपयले भन्ने गर्दछन्– समयले आफ्नो मूल्याङ्कन आफैं गर्ने गर्दछ। वास्तवमा समयले आफ्नो मूल्याङ्कन गर्ने भए त अहिलेको समयले आफ्नो मूल्याङ्कन अहिल्यै गथ्र्यो होला। समयले आफ्नो मूल्याङ्कन गर्न जानेको भए आफूलाई अघिल्लो वर्षको भन्दा राम्रो बनाउने प्रयास गथ्र्यो होला। समयको गणना मानिसले नै गरेको हो र मानिसले समयलाई आफ्नो अनुकूल व्याख्या गरेर अनुकूल तथा प्रतिकूल मानेको हो। मानिसले निर्धारण गरेको समयतालिका अनुसार समयको मूल्याङ्कन मानिसले नै गर्ने गरेको छ। समयको गणनाका अनेक आधारमध्ये सबैभन्दा विश्वासिलो चाहिं वर्ष हो। वर्षहरू पनि आइरहन्छन् र गइरहन्छन्। वर्ष आउँदा खुशी मनाउने र जाँदा त्यसको मूल्याङ्कन गरिने चलन बस्दै गएको छ। शिक्षाको स्तर बढ्दै जाँदा र रोजगारका साथै आर्थिक गतिविधिको विस्तार हुँदै जाँदा नयाँ वर्षहरू पनि बढी गणनीय वा मूल्याङ्कनीय भएर आइरहेका छन्। चाहे त्यो विक्रम संवत् होओस् वा ईस्वी सन्, दुवैलाई नेपाली जनजीवनले आत्मसात् गरेर मूल्याङ्कन गर्न थालेका छन्।
वर्ष २०२० को सुरुआत हुँदा पनि मानिसका अपेक्षाहरू धेरै थिए होलान्। अहिले पनि आउँदो २०२१ बाट मानिसले अझ धेरै अपेक्षा किन गरेका छन् भने बित्दै गरेको वर्षले मानिसको अपेक्षामा ठूलो बाधा उत्पन्न गरेको देखिन्छ।
सन् २०२० को सुरुआत हुँदा समयले विश्वलाई कोरोनाको उपहार दिइसकेको थियो। हुनत कोरोना भाइरसको पहिचान चीनबाट भएको हो र पछिल्ला अनुसन्धानहरूले चीनभन्दा पहिले कोरोना भाइरस अन्यत्र नै आइसकेको थियो। चीनमा पहिचान भएको भने अवश्य हो। सन् २०२० जाँदाजाँदै कोरोना भाइरसको उपचार पनि सम्भव हुने आशा देखाइसकेको छ। यस वर्षको सुरुआतमा त्यत्ति डर थिएन र अहिले अन्त्य हुँदा पनि आशाको एउटा दियो भने विश्वमा बलेको छ कि कोरोना भाइरसविरुद्ध केही समयमा नै विश्वले खोप पाउनेछ र कोरोना भाइरसबाट विश्वलाई मुक्ति मिल्नेछ। कोरोना महामारीको कारण यो वर्ष सम्भवतः विश्व इतिहासमैं कहिल्यै बिर्सन नसकिने भइदिएको छ।
कोरोना महामारीका तीन पक्ष छन्। पछिल्लो समयमा विश्वमा सबैभन्दा बढी व्यक्ति सङ्क्रमित हुने नयाँ रोग वा महामारीको रूपमा पनि यसको नाम आउँछ। करोडौं मानिस यसको चपेटमा आए। जति सुरक्षित रहन खोजे पनि मानिस यसको चपेटमा आएको सुनियो। यसको अर्को पक्ष मानिसको मृत्यु। यस रोगबाट विश्वमा लाखौं मानिसको मृत्यु हुन पुग्यो। तेस्रो पक्ष हो भयावहता। यस रोगको भय यति धेरै रह्यो कि विभिन्न देशले सबै कार्यालय तथा बजारलाई औपचारिकरूपमा महीनौं बन्द गर्न लगाए। यातायातसमेत बन्द गर्नुप–यो। अझै पनि कैयौं देशमा सिनेमा हल बन्द छन्। कतिपय देशमा आंशिक वा पूर्णरूपमा लकडाउन अहिले पनि कायम रहेको छ। यसको भयावहता यति भयावह रह्यो कि आफैंमाथि शङ्का गर्ने समय आएको थियो। यसैसँग अर्को डर यो पनि थियो र अझै छ पनि कि एकपटक कोरोनाको डर समाप्त भइसकेपछि जनजीवन सामान्य हुन लाग्दा फेरि पनि कोरोना भाइरसको प्रकोप देखिन्छ कि भनेर।
कोरोना महामारीको कारण यस वर्ष धेरै क्षेत्रमा चाहिं नकारात्मक प्रभाव उत्पन्न गरेको देखिन्छ। सबैभन्दा बढी आर्थिक क्षेत्र प्रभावित भएको छ। आर्थिक क्षेत्र प्रभावित हुँदा अन्य क्षेत्रमा स्वतः प्रभाव परेको छ। विद्यालयदेखि विश्वविद्यालय, उद्योग, कलकारखाना, बजार सबै ठप्प भएको समयमा यसले मानिसलाई निकै पछाडि पारेको छ। अझै पनि कतिपय व्यवसायमा सुधार आउन सकेको छैन। इँटा उद्योग र इँटा व्यवसायीहरूको कम्मर त यसरी नराम्ररी भाँच्चिएको छ कि एक/दुई वर्ष सम्हालिन नै लाग्छ। बैंकबाट ठूलो परिमाणमा ऋण लिएर कुनै पनि क्षेत्रमा लगानी गरेकाहरूले ६/७ महीनाको लकडाउनको प्रभावका कारण आफूलाई निकै ठूलो समस्यामा परेको अझै पनि बताइरहेका छन्। सबै क्षेत्रमा करीब यही स्थिति रहेको देखिन्छ।
कोरोना भाइरसले कतिपय देशको सम्बन्धमा पनि असर पुगेको देखिन्छ। हुनत चीन र अमेरिकामा व्यापारिक प्रतिस्पर्धा पहिलेदेखि नै रहेको थियो। यी दुई देशका बीच केही हदसम्म राजनीतिक, वैचारिक मतभिन्नता पनि रहेको नसुनिएको होइन तर कोरोना भाइरसको पहिचान चीनमा भएको कारण र चीनबाट अमेरिकासम्म कोरोना भाइरस पुगेको कारण दुई देशको सम्बन्धमा अलिक प्रभाव परेको पनि देखियो। अमेरिकाले धेरै किसिमका प्रतिबन्ध चीनमाथि कोरोनाकै बहानामा लगाएको पनि समाचारमा नआएको होइन। यसरी विश्वका दुईवटा ठूला देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने कारण पनि भाइरस हुन पुगेको देखिन्छ।
कोरोनाले नेपालमा पनि धेरै क्षेत्रमा गम्भीर असर पारेकोमा दुई मत छैन।
यो वर्ष नेपाल र भारतको सम्बन्धमा पनि अलिक फरक किसिमले प्रभाव परेको देखिन्छ। भारतले कालापानी क्षेत्रमा सडक बनाउनु र नेपालले नक्शा जारी गरी आफ्नो भूभाग रहेको भनी दाबी गर्नुले दुई देशबीच अलि तिक्तताको अवस्था देखिएको थियो। अझ भारत र चीनबीच त झन्डै लडाइँ नै होला कि भन्ने भइसकेको थियो। भूभागको विषयलाई लिएर भारत र चीनबीच केही समय निकै तनावको स्थित चलेको थियो। तनाव भएको क्षेत्रमा दुवै देशका सेनाका गतिविधि निकै बढेका खबरहरू सार्वजनिक भएका थिए। अन्य कतिपय देशको आन्तरिक सम्बन्धमा पनि नकारात्मक असर परेको देखिएको छ।
विश्वको राजनीतिमा पनि केही हदसम्म यस वर्षको अब्बल प्रभाव देखिएको छ। अमेरिकाको राजनीति सबैभन्दा चर्चित रहेको देखिन्छ। अमेरिकी राष्ट्रपतिको चुनावको सवाल अहिलेसम्म चर्चाको विषय बनेको देखिन्छ। अमेरिकामा जो बाइडेनले चुनाव जितेको तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नहारेको भन्ने विषय लामो समयसम्म चर्चामा रहेको देखिन्छ। अमेरिका त विश्वमैं लोकतन्त्रको लागि अग्रज मानिन्छ। अमेरिकी लोकतन्त्रलाई सबैले मानेका छन् तर चुनावको नतीजा तथा नतीजालाई स्वीकारको सम्बन्धलाई लिएर अमेरिका र विश्वमैं निकै मन्थन भएको पाइएको छ। अमेरिकाको आन्तरिक राजनीतिले विश्वमैं प्रभाव पार्ने भएकोले नै हुनुपर्छ त्यहाँको चुनावले विश्वका हरेक बुद्धिजीवीको ध्यान खिच्न सकेको।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको थियो। त्यसै अनुरूपको तयारी पनि गरिएको थियो। प्रचारप्रसार पनि भएको थियो। मनोवैज्ञानिकरूपमा मानिस तयार पनि भइसकेका थिए तर कोरोनाको महामारीले स्थगित भयो। पर्यटनलाई सबैभन्दा बढी गम्भीर असर परेको पनि यसै कारणले हो। नेपाल भ्रमण वर्षलाई सबैभन्दा बढी ठूलो धक्का लागेको हाम्रो यथार्थ हो।
यही वर्षको अन्त्य आउन लाग्दा देशमा अन्योल छ। प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गरेपछि देशको राजनीतिक वातावरण तातेको छ। प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक कारणले संसद्को विघटन र देशमा नयाँ चुनावको तिथि घोषणा गरेका छन्। करीब दुई तिहाइ बहुमतनजीक रहेको पार्टीले सरकार चलाउन नसकेको गुनासो फेरि दोहोरिएको छ। विगतमा पनि यही भएको देखिन्छ। देशमा कतै अस्थिरता हुने त होइन भन्ने डर वा आशङ्का सर्वसाधारणमा केही बढेको छ। घोषणा भइसकेको चुनाव वैशाखमा हुने वा नहुने तथा सडकले के गर्ला भन्ने जिज्ञासा लिएर मानिसको एउटा आँखा सर्वोच्च अदालततिर र अर्को आँखा सडकतिर रहेको छ। ६ महीना सुनसान रहेको सडकमा एक्कासि हजारौं मानिस ओर्लिन थालेका छन्। जुन सडक शान्त थियो, त्यहाँ फेरि नारा गुञ्जन थालेको छ। कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई सडकको भीडले फेरि तर्साउन थालेको छ। कोरोना महामारीको जोखिम अल्पकालीनरूपमा कम भएको भनिएको वर्तमानमा सडकमा आन्दोलनको भीड जम्मा हुन थाल्दा थप अन्योल भएको छ, अब के होला भनेर ? यस वर्षले जाँदाजाँदै नेपालमा राजनीतिक अनिश्चितता र अन्योलता छोड्दैछ, नेपाल र नेपालीका लागि।
विश्वको लागि त्रूmर प्रहार बनेर आएको साल २०२० ले क्रिकेट खेल ट्वेन्टी–ट्वेन्टीजस्तो हिट एन्ड रन गरेको देखिन्छ। दे दनादन गरेर समयको सामान्य गणनालाई धेरै किसिमले लामो बनाएको देखिन्छ। लामो यस अर्थमा कि कष्टको दिन त्यत्तिकै लामो मानिन्छ। कोरोना महामारी र अन्य कारणले मानिसले यस वर्षलाई त्यत्ति उपलब्धिमूलक बनाउन सकेनन्। तर एउटा कुरा भने चिकित्सा विज्ञानको क्षेत्रमा सफल मानिएको छ– कोरोना भाइरसविरुद्ध यति छोटो समयमा खोप पत्ता लागिसकेको छ। विश्वको लागि यो निकै ठूलो उपहार भएको छ।
हुनत कोरोना भाइरस २०२० ले पत्ता लगाएको होइन र २०२० ले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको हो भनेर सबै अँध्याराबीच यो एउटा सुन्दर उज्यालो देख्न सकिन्छ। समयको यस वार्षिक नक्शाले सम्भवतः यही पक्षमाथि गर्व गर्ला कि ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्