नेकपाको नाटक

91

विभाजित नेकपा र तिनका नेताहरू एकले अर्कालाई नङ्ग्याउन लागिपरेका छन्। मानौं दुई पक्षबीच आकाश–जमीनको फरक छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त केपीशर्मा ओली नेतृत्वको सरकारले मध्यावधि चुनावको घोषणा गरेपछि अब जनताको बीचमा कुन मुद्दा लिएर जाने समस्या खडा भएको छ। यो अवस्थामा ‘संसद् विघटन र मध्यावधि चुनाव’ मुख्य मुद्दा दुवै पक्षले पाएका छन्। “वर्तमान अवस्थामा मध्यावधि निर्वाचन एक मात्रै लोकतान्त्रिक विकल्प हो” भन्दै ओली पक्ष चुनावमा गइरहेको छ भने “लोकतन्त्रको निम्ति सबैभन्दा ठूलो घात हो” भन्दै प्रचण्ड–नेपाल पक्ष संसद् पुनस्र्थापनातर्फ गइरहेको छ। संसद् विघटन तथा मध्यावधि निर्वाचनको कुरा मुलुकवासीका लागि ताजा र चासोको विषय पनि भएकोले नागरिकको बीचमा जान वामपन्थी दल तथा समूहहरूलाई सजिलो भएकोे छ। नेकपाले पाँच वर्ष सरकार चलाएर चुनावमा जानुपरेको भए जनताको बीचमा के मुद्दा लिएर जान्थे होला ? सोचनीय छ, किनभने धेरैवटा लोकप्रिय नारालाई उसले बितेको चुनावमा नै खर्चिसकेको छ, जुन पूरा भएको छैन। सरकार गठन भएलगत्तै भागबन्डामा अल्झिएको नेकपा कहिले सरकार त कहिले पार्टीभित्रका पदीय लँुछाचुँडीमा तीन वर्ष अर्थात् ६० प्रतिशत समय बित्यो। पार्टी नफुटेको भएपनि पार्टीभित्रको झगडा, गुट–उपगुट झाँगिदै गइरहेको बाँकी दुई वर्षमा पहिलेको जति पनि काम हुन सक्ने थिएन। यो अवस्थामा चुनावमा जाँदा आफ्नै कार्यकर्ताको जवाफ दिन पनि नेतालाई फलामको चिउरा चपाउनुजस्तै थियो।
पार्टी सञ्चालन र सरकारका कमीकमजोरीबारे दुवै समूहले जवाफ दिनुपर्छ। त्यस जवाफदेहिताबाट बच्न दुवै पक्षले राम्रो उपाय पाएका छन्। बाटोमा साहु आएको देख्यो कि झगडा गर्ने र कुटाकुट गर्ने एक दम्पतीको कथा छ। जति नजीक आयो उनीहरू झन् चर्को स्वरमा कराउँथे, “आज तँलाई छोडदिनँ, कि तँ मरिस् कि म मरें।” साहु कर्जा माग्नुभन्दा पनि झगडा सुन्ने र फर्कने गर्थे। एक दिन त साहु राम्रो नोकरीको कुरा लिएर आउँदै थियो। त्यो दिन पनि दम्पतीमा त्यस्तै झगडा। दिक्क मान्दै साहुले नजीकैको अर्को व्यक्तिलाई राम्रो कमाइ हुने नोकरी दियो। ऋण चुक्ता गर्नको गा–होले झगडाको नाटक गर्दा आफूले पाउने भाग अर्कैले पाएपछि दम्पती पुर्पुरोमा हात लगाएर बसेछ।
वर्तमान ओली समूह र प्रचण्ड–नेपाल समूहको नाटक त्यही दम्पतीको नाटक जस्तै हो। नागरिक जवाफदेहिताबाट बच्न यिनीहरू फुटेका हुन् र संसद् विघटनबारे फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। बिगारेको दुवैले हो। भोलिका दिनमा उनीहरू फेरि एक नहोलान् भन्ने पनि छैन। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भनेका थिए, “राजनीतिमा स्थायी शत्रु  र स्थायी मित्र कहिल्यै पनि हुँदैन।” वाम पार्टीको नजीकको मित्रशक्ति वाम पार्टी नै हुन्छ, अरू पार्टीसँग मिल्ने कुरा आउँदैन। वामदेवले पार्टी फुटाएको र जुटाएको इतिहास ताजै छ। त्यसअघि झापा विद्रोहदेखि माओवादी विद्रोहसम्म आइपुग्दा फुट्ने र जुट्ने क्रम जारी छ। यस कारण यिनीहरूको जात्रामा पछि लाग्दा धोखा पाउने र फाल्तु बन्नेबाहेक केही हुँदैन। नेपाली काङ्ग्रेसले निर्वाचन क्षेत्रगत प्रदर्शन गरेर चुनाव लक्षित कार्यक्रम थालनी गरिसक्यो। वामपन्थीहरू मुठभेड गरिरहून् या नाटक गरिरहून् लोकतन्त्रवादी शक्तिहरू त्यता ध्यान नदिएर जनताको घरदैलोमा पुग्ने र सङ्गठन निर्माणमा जुट्न जरुरी छ। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्