वर्तमानको आवश्यकता – प्रभावकारी नेतृत्व

88

अनन्तकुमार लाल दास

आज राष्ट्र नेतृत्वविहीन भएको छ। जताततै यसकै चर्चा भइरहेको छ। आज संस्था होस् वा समुदाय, जुनसुकै क्षेत्रलाई गति दिनका लागि, दिशा प्रदान गर्नका लागि प्रभावकारी नेतृत्व चाहिन्छ। नेतृत्वको अभावमा एउटा परिवार सुखी र सम्पन्न हुन सक्दैन। एउटा समाज रचनात्मक दिशामा लम्कन सक्दैन। एउटा राष्ट्र अग्रगामी बाटोमा हिंड्न सक्दैन अर्थात् समग्र विकासका लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ। यस अर्थमा परिवर्तनका लागि आत्मविश्वासले भरिएको इमानदार, प्रतिबद्ध, धैर्यशील, पारदर्शी, सकारात्मक दृष्टिकोण भएको, जिम्मेवारीलाई व्यक्त गर्ने क्षमता भएको नेतृत्व चाहिन्छ। सामान्य शब्दमा भन्ने हो भने नेतृत्वको अर्थ कुनै व्यक्तिविशेषका त्यस्ता गुणसँग हुन्छ, जसको माध्यमले उसले अन्य व्यक्तिहरूको मार्गदर्शन गर्दछ।
अर्थात् नेतृत्व भनेको साधन हो। साधन उत्तम भयो भने बाटोमा हिंडेर गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ। नेतृत्वको अभाव भनेको भीड हो। अन्योलता हो। अराजकता हो र हो दिशाहीनता पनि हो। त्यसैले प्रत्येक एकाइमा नेतृत्वको संस्थापन गरिएको पाइन्छ। राज्यको उत्पत्तिसँगै नेतृत्वको संस्थापन भएको इतिहास पाइन्छ। यो स्वतः विकसित हुँदैन। परम्पराको रूपमा हामीबीच जीवनका प्रत्येक क्षेत्रमा, समाजका प्रत्येक अङ्गमा नेतृत्वकारी शक्ति विद्यमान रहेको पाइन्छ। लिविङ्स्टनका अनुसार “नेतृत्व आम जनमानसमा कुनै सामान्य उद्देश्यको अनुसरण गर्ने चाहना जागृत गर्ने योग्यता हो।” संक्षिप्तमा भन्नुपर्दा नेतृत्व त्यो शक्ति हो, जसद्वारा मातहतका नेता वा कार्यकर्ताबाट विना कुनै दबाबमा कार्य गराइन्छ।  
नेतृत्व केका लागि भन्ने विषयतर्फ साङ्केतिकरूपमा पहिलो पङ्क्तिमैं उद्धृत गरिएको भए तापनि त्यसलाई अथ्र्याउँदा नेतृत्वको अभावमा युग सापेक्ष तथा वैज्ञानिक ढङ्गबाट गतिशीलताको प्राप्ति हुन सक्दैन। यो व्याख्या परिवारको अर्थमा पनि लागू हुन्छ, त्यसैगरी समाज र राष्ट्र विकासका लागि पनि। तर नेतृत्व भएर पनि पुग्दैन। नेतृत्वकर्तामा युग सापेक्ष वैज्ञानिक तवरबाट हिंड्न सक्ने सक्षमता छ कि छैन, त्यसमा नेतृत्वको प्रतिफल अन्तर्निहित हुन्छ। कुनै संस्थामा नेतृत्वको अवसर पाएका व्यक्तिमा नेतृत्वकारी गुणहरू विद्यमान रह्यो भने उसले धेरै नै सार्थक परिणतिहरू दिन सक्दछ। नेतृत्वको त्रुटिले गर्दा धेरै दुर्घटना हुन जान्छ। यसले आँधीबेहोरी पनि ल्याउँछ, जसले वर्षौं, दशकौंसम्म नकारात्मक प्रभाव पारिरहेको हुन्छ। जापानको नागासाकी र हिरोसिमाको घटना तत्कालीन नेतृत्वशक्तिको अहङ्कारले निम्त्याएको दुर्घटना थियो, जसले एउटा लामो कालखण्डदेखि विश्वलाई, समाजलाई र राष्ट्रलाई धेरै पछाडि धकेल्न सक्दछ। यस्ता उदाहरणहरू विश्व इतिहासमा नै प्रशस्त रहेको पाइन्छ। विश्व इतिहास नै नेतृत्वकर्ताहरूको सफलता र असफलताहरूको कथा हो। इतिहासका पाठकहरूलाई नेतृत्वकर्ताको सफलता र असफलताले सृजना गर्ने प्रभावको सम्बन्धमा बढी व्याख्या गरिराख्नुपर्दैन। तर वर्तमान सन्दर्भमा समाजका विभिन्न क्षेत्रमा नेतृत्वकारी शक्तिमा नेतृत्वकारी गुणको –हास हँुदै गई विभिन्न विसङ्गतिहरू देखा पर्न थालेका हुनाले नागरिक समाजको तर्फबाट फेरि बहसको आवश्यकता देखिएको छ र त्यो बहसको विषय हो आजको आवश्यकता प्रभावकारी नेतृत्व।
महामानव विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन्, “देशमा प्रजातन्त्र आएपछि सुकिलामुकिला लुगा लगाउनेहरू र चिल्ला मोटर चढनेहरू हावी हुनेछन्। तिनीहरूविरुद्ध इमानदार कार्यकर्ताहरूले पुनः एकपटक आन्दोलन गर्नुपर्नेछ।” उनको यो अमरपङ्क्ति आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ। विपीले भनेको समय र आजको परिस्थितिमा ठूलो परिवर्तन आइसकेको भए तापनि उनको विचारको सान्दर्भिकता अध्यावधि छँदैछ। वास्तवमा हामीले तीतो सत्यलाई स्वीकार गर्न सक्नुपर्छ। २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरणका लागि नेतृत्व तहबाट जुन किसिमको समर्पण भाव नेतृत्वपङ्क्तिमा देखा पर्ने थियो, त्यो हालसम्म पनि देखाउन सकिएको छैन। एकातिर कोरोनाको प्रसार र अर्कोतिर दिन प्रतिदिन महँगीको भार वहन गर्दै जनतालाई एक छाक खानलाई समस्या छ, त्यहीं तिनै जनताको नेतृत्व गर्नेहरूले भने ५०–६० लाख मूल्य पर्ने पजेरो गाडी चढ्छन् भने कहाँनिर रह्यो नेतृत्वको कसौटी। यस्तो नेतृत्व परिवर्तनको वाहक बन्न सक्छ वा सक्दैन ? त्यसैले आज मुलुक अपहरण, हत्या र भ्रष्टाचारको शृङ्खलामा आक्रान्त डुबेको छ। गरीब झन् झन् गरीब बन्दैछन् भने धनीहरूले अथाह धन कमाएका छन् र मध्यम वर्ग उनीहरूलाई टेवा पु–याउने भ्रष्टाचारी। त्यतिमात्र हैन, यतिखेर मुलुकमा लोकतन्त्रको भविष्य के हुने हो भनी प्रश्न उठ्न थालेको छ। यस्ता थुप्रै प्रश्न वर्तमानले उब्जाएको छ। सही भन्ने हो भने देश विषम र जटिल परिस्थितिबाट गुज्रिरहेको छ। “हुने नहुने” सबै घटना यहीं भएका छन् र भइरहेका छन्।
यसो हुनुको पछाडिका कारणको खोजी गर्दा हामीले एकमात्र कारण के पाउँछौं भने नेतृत्वमा प्रभावकारिताको कमी रहेको छ। नेतृत्वमा प्रजातान्त्रिक सोच, शैली र संयमता अभाव रहेको छ। यस अवस्थामा नेतृत्वले के निर्देशित गति दिन सक्छ ? के परिवर्तनको वाहक बन्न सक्छ ? आमजनताको रायमा वर्तमान नेतृत्व भनेको सत्तामा मौजमस्ती गर्ने र पैसा कमाउने ध्यानमा लिप्त रहनेहरूको मात्र हो। सांसद बन्नासाथ राजधानीमा महल ठड्याउनेहरू धेरै छन्। हिंसक सिंहले अहिंसाको प्रवचन दिनु र आजका राजनेताहरूले भोगविलासमा डुबेर समाजवादको व्याख्या गर्नु योभन्दा ठूलो विडम्बना अरू के हुन सक्दछ र ?
प्रजातान्त्रिक सरकारको शक्ति जनताको सहयोगमा निर्भर हुने हुनाले सरकारले गर्ने गतिविधि जनकेन्द्रित हुनुपर्दछ। जनताको मनोभावनाको छाप सरकारमा पर्नुपर्छ र उनीहरूको मागको आधारमा सरकारी नीति हुनुपर्दछ। जनताबाट शक्ति सञ्चय गरी सरकार अगाडि बढ्नुपर्छ। सरकारको लागि जनता भनेको देउता हो। उसका नीतिहरू भनेको आफ्नो देउताको प्रदक्षिणा गर्नु हो। यस्तो चरित्रको अभावमा कुनै पनि मुलुकले अभ्युत्थान गर्न सक्दैन। राष्ट्रलाई आशा र सन्तुष्टि दिलाउन सक्दैन। तब विकृतिहरूको जन्म हुन्छ। विद्रोह सल्किन्छ। वर्तमानमा हाम्रो नीति यस्तै भएको छ।
नेतृत्वको प्रभावकारितालाई बुझ्न हामीले कुनै पनि एकाइको संरचनामा राखेर त्यसलाई व्याख्या गर्न सक्छौं। यसलाई परिवारदेखि राष्ट्रसम्म एउटै मापदण्डमा राख्न सकिन्छ। आज संयुक्त परिवार विखण्डन भइरहेको छ। व्यक्तिवादिता मात्र होइन, पति–पत्नीबीचमा पनि सम्बन्ध विच्छेदको क्रम बढेको छ। प्रभावकारी नेतृत्वको अभाव यहाँ पनि देखिन सक्छ। प्रभावकारी नेतृत्वले समन्वय दिन्छ, सृजना दिन्छ, विध्वंश होइन।
प्रभावकारी नेतृत्वका लागि नेतृत्वकर्तामा कार्यपरायणता, वाक्पटुता, दृढ निश्चय, प्रतिउत्पन्नमति, आत्मविश्वास, समयको महत्व बुझ्ने, सकारात्मक सोच भएको, परिस्थितिको मूल्याङ्कन र विश्लेषण गर्ने क्षमता, सहकर्मीलाई चिन्न सक्ने र उसलाई कदर गर्दै सहयोग लिन सक्ने कल्पनाशीलता र स्वप्नद्रष्टा जस्ता गुणहरूको आवश्यकता पर्दछ। जुन नेतृत्वकर्तामा यस्ता गुणहरू जति मात्रामा मौजूद हुन्छन्, ऊ त्यति सफल हुन सक्छ। नेतृत्वकर्ता आफूले पाएको जिम्मेवारीको बारेमा राम्रो ज्ञान राखेको हुनुपर्दछ। ऊसँग सम्बन्ध र सरोकार राख्नेहरूको बारेमा राम्रो जानकारी हुनुपर्दछ। उसको व्यवहारमा कहिले पनि हलुकोपन देखिनुहुँदैन। उसले आफ्ना निर्णयहरूमा सहकर्मीहरूलाई डो–याउन सक्ने क्षमताको विकास गरेको हुनुपर्छ। यस्ता गुणहरूले नेतृत्वकर्तालाई सफल र उद्देश्यमुखी बनाउँछ। नेतृत्वकर्ताले जहिले पनि बोल्नमा मात्र हैन गर्नमा पनि विश्वास राख्दछ। उसले उदाहरण दिंदैन, उदाहरण बन्न खोज्दछ। उसले विभाजनको होइन, समन्वयको धारणा राख्दछ। उसले विमति राख्नेहरूसँग पनि सन्तुलन कायम गर्न खोज्दछ। उसले जहिले पनि परिणाम आफ्नो पक्षमा ल्याउन खोज्दछ। आखिर प्रभावकारी नेतृत्वको परीक्षा पनि विपरीत र विषम परिस्थितिमा नै हुने गर्छ। अनुकूल अवसरमा देखा परेको नेतृत्व प्रायः ऐतिहासिक हुँदैन। सङ्घर्ष र प्रतिकूलताले जन्मेको नेतृत्व आफ्नो क्षेत्रमा कोसेढुङ्गा साबित हुन्छ। उसका उत्तराधिकारीहरूले त्यस्तैको जयगान गर्दछन्।
प्रशंसामा रिझाउने, उपहार प्राप्त भए दङ्ग पर्ने, चाकरीमा प्रफुल्लित हुने, तत्काललाई नै बहुमूल्य ठान्नेको नेतृत्व कहिले पनि सफल हुन सक्दैन। ऊ सफल जस्तो देखिए पनि प्रभावकारी हँुदैन। उसले रचनात्मक परिणाम दिने इतिहास बनाउन सक्दैन। नेतृत्वका लागि नैतिक शक्ति महत्वपूर्ण पूँजी हो। यसको अभावमा ऊ प्रेरक हुन सक्दैन। उसले समाजलाई उत्प्रेरित गर्न सक्दैन। उत्प्रेरक बन्नका लागि आफैं प्रेरणापुञ्ज हुन सक्नुप–यो। एउटा भ्रष्टले अरूलाई इमानदार रहन आग्रह गर्न सक्दैन। तर आग्रह गरे पनि अरूलाई इमानदार बनाउन सक्दैन। नेतृत्वकर्ता अध्ययनशील पनि हुनुपर्छ। जसले आफ्नो समकालीनका र आफ्नो इतिहासका बारेमा ज्ञान राखेको हुनुपर्छ। यसको अभावमा उसले महत्वपूर्ण निर्णय लिन सक्दैन। ऊ अल्मलिन सक्दछ। त्यसैले यी पनि प्रभावकारी नेतृत्वको लागि आवश्यक पक्ष हो।
योग्य र अनुभवी नेताहरूले नै विश्व इतिहास रचेका छन्। इतिहासको पाना पल्टाउँदा नेपोलियन बोनापार्ट, विस्टन चर्चिल, जर्ज वाशिङ्टन र महात्मा गाँधी जस्ता नेताहरूले आफ्नो कुशल नेतृत्वद्वारा जनताको मार्गदर्शन गरेको सर्वविदित नै छ। नेतृत्व जुन परिवारबाट शुरू भएर विश्वसमक्ष पुग्दछ, सोको प्रभावकारिताको लागि चाहिने गुणहरूका बारेमा वा प्रभावकारिताका बारेमा लेख्दा कैयौं पुस्तक लेख्न सकिन्छ। एक पक्षको बारेमा महीनौं व्याख्यान दिन सकिन्छ। त्यसलाई एउटा सानो लेखमा भन्नुपर्दा मानवीय मूल्यहरूलाई नयाँ परिवेशमा लागू गराउने अत्यन्त महत्वपूर्ण कार्य नै नेतृत्व हो र समस्या उत्पन्न हुनुपूर्व सम्भाव्य समस्याहरूको कल्पना गरी सोको निराकरणका आधारहरू तयार पारी समस्यालाई निर्मूल पार्नु प्रभावकारी नेतृत्वको परिचालन हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्