प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन –नेता पोखरेल

92

प्रस, कलैया, १२ पुस/
नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपीशर्मा ओलीका कारण देश सङ्कटको भुमरीमा फसेको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी बाराको आयोजनमा आइतवार कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता पोखरेलले जनताले दिएको दुई तिहाइ मतको प्रधानमन्त्री ओलीले अपमान गरेको र संसद् विघटन गर्ने उनको कदम असंवैधानिक भएको बताए। उनले प्रम ओलीको असंवैधानिक कदमको विरोधमा सबै नेता, कार्यकर्तालाई खुलेर विरोध गर्न आग्रह गरे।
नेता पोखरेलले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएकै छैन भन्दै प्रम ओलीले टेकेको संविधानको धाराबाट संसद् विघटन हुनै नसक्ने ठोकुवा गरे। नेता पोखरेलले प्रधानमन्त्री ओली निरङ्कुशतातर्फ अगाडि बढेको आरोप लगाए। ओलीको निरङ्कुशताको विरुद्ध  सडक सङ्घर्षमा जानुपरेको उनले बताए।
नेकपाका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीको निर्णय मान्दिनँ भन्ने अधिकार कसैलाई नभएको बताए। उनले झन्डै दुई तिहाइ मत तत्कालीन एमाले र एमाओवादी केन्द्रका लागि दिएको बताउँदै प्रम ओलीले सो मतलाई आफ्नो मात्र ठानेको दोषारोपण गरे। उनले पनि प्रम ओली निरङ्कुश बन्न लागेको भन्दै सोविरुद्ध सबै नेता, कार्यकर्तालाई एकजुट हुन आग्रह गरे।
नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षता र मनोज पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेकपा बाराका सहइन्चार्ज गोपाल ठाकुर, केन्द्रीय सदस्य दिनेश राई, संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा, बिमा कार्की, बाराका नेताहरू छठुप्रसाद यादवलगायतले असंवैधानिक कदमविरुद्धमा एकजुट हुन आग्रह गरेका थिए। कार्यक्रममा स्वागत महमद समिउल्लाहले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्