दुई दिन नबित्दै कालोपत्रे उप्कियो

92

प्रस, सर्लाही, १२ पुस/
बरहथवाको पञ्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालय हजरियासम्मको सडक कालोपत्रे भएको दुई दिनमैं उप्किएको छ। ठेकेदारले प्रक्रिया पूरा नगरीकन जबरजस्ती कालोपत्रे गरेको कारण कालोपत्रे नटिकेको सो वडाका अध्यक्ष यज्ञबहादुर खड्काले बताएका छन्।
आफूहरूले नगर्नभन्दा पनि निर्माण कम्पनीले जबरजस्ती कालोपत्रे गरेको वडाध्यक्ष खड्काको भनाइ छ। बरहथवास्थित एमएसके लाइट कन्स्ट्रक्शनले ६५ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०६६/७७ को असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी करीब एक किलोमिटर सडकको कालोपत्रे ठेक्का सकारेको थियो। कोरोना कहरका कारण कालोपत्रे गर्न ढिलाइ भएको पनि थियो। नगरको योजना शाखाका प्रमुख एवं नगरपालिकाका सूचना अधिकारी कमलप्रसाद पौडेलले हजरियाको सडकमा गुणस्तरहीन कालोपत्रे भएको गुनासो आएको बताए। सम्झौता अनुसार गुणस्तरीय काम नभएसम्म बाँकी भुक्तानी नगरिने सूचना अधिकारी पौडेलले बताएका छन्।
सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार सुरेश कार्कीले भने कालोपत्रेको काम निर्माणकै चरणमा रहेको बताएका छन्। उनले हस्तान्तरण नहुन्जेल जति बिग्रिए भत्किए पनि आफूले बनाउने बताए। सडकमा क्षमताभन्दा बढी लोडका टिपरलगायत अन्य सवारी गुड्ने गरेका र तापक्रम कम भएकाले कालोपत्रे उप्किएको कार्कीको तर्क छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्