माड भात साग, मन बाग–बाग

109

रामेश्वर मेहता, सिम्रौनगढ, ११ पुस/
बारा, पर्सा, रौतहट, सर्लाहीसमेतका जिल्लाका गाउँ र शहरमा अहिले साग पारखीहरू देखिएका छन्। गरीबदेखि सम्पन्न सबैको भान्सामा विभिन्न थरीका सागको पकवान बनेको पाइन्छ। जाडोमा बथुवाको साग खाने चलन छ। अहिले रायो, चम्सुर, पालक, मेथी, सौफ, तोरीको साग बजारमा पाइन्छन्। यी सागमध्ये जाडोमा बथुवाको साग प्रायः सबैले रुचाउँछन्। बथुवाको साग जाडोयाममा मात्र पाइने र अन्य सागहरू अन्य मौसममा पनि उपलब्ध हुने गरेकोले बथुवाप्रति आममानिसको आकर्षण बढेको हो।
बथुवाको साग टिप्न महिला, किशोरीहरूको प्रमुख भूमिका हुने गर्छ। अहिले दिउँसोबाट उनीहरू खेतमा बथुवा टिप्न लाग्ने गरेको पाइन्छ। यही कारण हो गाउँ, देहातदेखि शहरका बजारमा बथुवाको साग प्रशस्त मात्रामा बिक्री हुँदैछ। बथुवाको सागसँग मिसाएर खान तोरी, रहिला, मटरकोसा टिप्न पनि किशोरी, महिलाहरूले रुचि देखाउने गरेका छन्। बथुवा मधेसी, थारू र तराईमा बसोबास गर्ने पहाडी समुदायका लागि पनि औधी मन पर्ने साग हो। बथुवाको साग बनाउने थुप्रै विधि छन्। कसैले सागको रूपमा त कसैले चोखाको रूपमा पनि यसको परिकार बनाउने गरेको पाइन्छ। यसैगरी, बथुवालाई मसिनो गरी काट्ने अनि निकै बेरसम्म पकाएर खाने पारखीहरू पनि छन्। सिम्रौनगढ क्षेत्रमा भने बथुवाको साग, माड र भात खानेहरूको सङ्ख्या बढी छ।
यसरी खाँदा अन्य तरीकाभन्दा औधी मीठो हुने गरेको भिखारी महतो बताउँछन्। उनले यसरी खाने गरिएकाले यहाँ ‘माड भात साग, मन बाग बाग’ भन्ने कहावत प्रचलित रहेको बताए। बथुवाको साग खरपतवार जातमा पर्ने हुनाले किसानहरू आफ्नो खेतमा अन्य मानिसहरू आएर बथुवा टिप्दा केही बोल्दैनन्। जसको खेतमा बथुवाको साग भएपनि अन्य कसैले गएर टिप्न सक्ने अहिलेसम्म प्रचलन छ। अन्य तरकारी महँगो भएको बेला त मानिस बथुवाको सागतर्फ आकर्षित हुने गरेका छन्। अहिले जाडोयाममा अन्य तरकारीहरू सस्तो भएका छन् तर सिम्रौनगढ र आसपासका क्षेत्रमा यही बेला बथुवा पाइने हुनाले सबैको ध्यान बथुवाको सागमा केन्द्रित भएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्