राजनीतिक ‘ब्लैक होल’

0
371

राजेश मिश्र

‘सब काम ‘चोखा’ हो गइल’ अर्थात् सबै काम ‘खराब’ भयो । देहातमा खाना वा खाजासँग खाइने आलु वा भण्टाको चोखा स्वादिलो त हुन्छ नै यदि घोन्सारमा पकाएको रहेछ भने त स्वादको कुरा वर्णन गरेर साध्य छैन । कडा परिश्रम गरेर प्राप्त गरेको सफलता आफ्नै गलतीको कारणले असफलता उन्मुख भएको सन्दर्भमा काम ‘चोखा’ भयो भन्ने शब्द देहातमा प्रयोग गर्ने प्रचलन धेरै पुरानो हो । ज्योतिषशास्त्रका अनुसार ग्रहगोचरको अनुकूलता र प्रतिकूलताको प्रभाव मनुष्यमाथि मात्र होइन देशमाथि पनि पर्दछ । ग्रहगोचरकै प्रतिकूलताको असर होला, पार्टीभित्रको किंचलो अन्ततोगत्वा देशलाई आर्थिक भार पर्नेगरी उदीयमान भएको छ । कोरोनाबाट थलिएको देशको अर्थतन्त्र मध्यावधि चुनावले झन् थला पार्ने सम्भावनालाई नकार्न सकिन्न । सत्तापक्षबाट भएको पछिल्लो निर्णय देशहितको सवालमा शिशुकालीन गणतन्त्र ‘चोखा’ भएको छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला ।
देहाती एक कथा यस प्रकार छ । धोबीसँग एक घोडा र एक गधा थियो । एक दिन धोबीले गधामाथि लुगाको विशाल बोझ लादिदियो । घोडामाथि केही लादेन । गधाले ठूलो भार बोकिरहेको थियो । घोडाले गधालाई भन्यो, बोझमध्ये केही मलाई पनि देऊ । गधाले अस्वीकार ग¥यो । केही समयपछि गधाले बोझ सहन सकेन र लड्यो । वर्तमान राजनीतिक घटनाक्रम पनि देहाती कथा गधा र घोडाको कथासँग मेल खान्छ ।
सडकको धूलो, खेतको हिलो, हुस्सु र शीतलहरसँग पौंठेजोरी गर्ने आमजनको मत पाएर एसी गाडी र पाँच तारे होटलको वासनामा लिप्त पात्रहरूको लागि प्रत्येक वर्ष चुनाव आए पनि केही फरक नपर्ला । तर देशलाई फरक पर्छ । अर्थतन्त्रलाई फरक पर्छ । आममानिसलाई फरक पर्छ । देशको अर्थतन्त्रलाई धराशयी पार्ने काम कहिल्यै पनि भुइँतहबाट भएका उदाहरणहरू संसारमा पाइँदैनन् । सरकारको स्वामित्वधारी र शीर्षस्थजनबाट भएका त्रुटिको भर्पाइ अन्ततोगत्वा चर्को कर आदि विभिन्न स्वरूपमा नागरिकबाट असुल्ने विधि जनमनलाई चेतना छैन भन्ने होइन । यद्यपि विगतको निरङ्कुशतन्त्र होस् वा वर्तमानको गणतन्त्र होस्, राजनीतिक ‘ब्लैक होल’मा देश र जनताको आकाङ्क्षालाई स्वाहा पार्ने क्रम निरन्तर छ ।
चाँदीमा सुनको कैयौं तहको लेप लगाए पनि बाहिरी आवरणमा सुन जस्तै देखिने चाँदीलाई सुनको मूल्यमा बिक्री गर्न सकिंदैन । अर्थात् राजनीतिक चरित्र देखावटीभन्दा पनि देश र समाज अनुकूल हुनुपर्छ । त्यसो भएन भने सो¥ह शृङ्गार गरे पनि आमजनको मानसपटलमा सकारात्मक चित्र कोर्न असफलप्रायः नै हुन्छ । आफ्नै पार्टीभित्र गुटबाजी, निषेध र वञ्चितीकरणको पराकाष्ठाका साथै चरम अस्थिरता र सङ्कटमा सिङ्गो मुलुक फस्ने भएपछि अग्रगामी र समावेशी संविधानको दाबी गरिएको संविधान मिथ्या र भ्रामक हुन पुगेको अनुभव भएको छ । राजनीतिक चरित्र सत्तामोह र स्वार्थमोहमा आधारित रहेसम्म देशको कल्याण असम्भव प्रायः छ । राज्यको ढुकुटीमा स्वाहातन्त्रको शैली विद्यमान रहुन्जेलसम्म देशको विकास र प्रगतिपरक निकासको सवालमा निरङ्कुशतन्त्र र गणतन्त्रमा भिन्नता महसूस हुुनु दिवास्वप्न जस्तै हो । त्यसैले गणतन्त्रलाई ‘चोखा’ बनाउने कार्य जनस्तरलाई कुनै पनि पक्षबाट अपेक्षित छैन ।
मङ्सिर र पुस महीना हेमन्त ऋतु अर्थात् जाडोयाम भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले राज्यमा गृष्मऋत उत्पन्न गरिदिएको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रभाव घट्दै जान्छ र कहिलेकाहीं मात्र सूर्यको तप्त किरण पर्ने हुनाले यी महीनाहरूमा शीतलहर र कुहिरोका साथै अत्यधिक जाडो हुने गर्दछ । पुस महीनामा चाडपर्व र वैवाहिक क्रियाकलाप शून्यप्रायः हुने हँुदा सामाजिक व्यस्तता ठप्प नै भन्नुपर्छ । धानबाली भिœयाउने कार्यदेखि गहुँ/तेलहन बाली लगाउने कार्य सम्पन्न भई खेतीकिसानीमा समेत सामान्य सक्रियताबाहेकको गतिविधि पाइँदैन । यद्यपि शीतलहरको कारण गाउँदेहात सुस्त रहेको वर्तमान अवस्थामा सिंहदरबारको तापमान देशैभरि प्रवाहित भइरहेको अवस्था वर्तमान परिप्रेक्ष्य हो । सत्तारूढ नेकपा जुन कारणले गर्दा फुट्यो, ती कारणमा जनताको चासो र हितको कुनै मुद्दा छैन । सरकारलाई सधैं दबाब दिएका पक्षले आफ्नो पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन गर्ने दबाब कहिल्यै दिएको सुनिन्नथ्यो । कोरोना महामारीको यति गम्भीर अवस्थामा जनता अभावले ग्रस्त भइरहेको र भविष्य खतरामा परेका छोराछोरी पाशविक कष्ट पाउँदा पनि नेकपाको नेतृत्वमण्डलीले नेता व्यवस्थापनको विवादमैं केन्द्रित भएर अमूल्य समय खेर फाल्यो ।
जाडोको महीनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भुजा र चोखा’को स्वाद राजनीतिक घटनाक्रमले अस्वादिलो बनाइदिएको छ । आनन्दी चामलको भुजा जस्तै राष्ट्रमुखी राजनीतिक परिवेशसमेत लोपोन्मुख छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । राष्ट्रिपति विद्यादेवी भण्डारीबाट आइतवारको दिन जारी सूचना अनुसार संविधानसभा विघटन भइसकेको अवस्था छ । यसर्थ संविधानसभाका सदस्यहरू यतिबेला निवर्तमान सभासद् भइसकेका छन् । केपीशर्मा ओलीको निर्णयप्रति उनको पार्टीमा मात्र होइन अन्य दललगायत जनस्तरसम्म समेत विरोधाभास देखिन थालेको छ । सङ्ख्यात्मकरूपमा राजनीति गर्नेहरू हजारौं छन् तर गुणात्मकरूपमा न्यून । त्यसैले जनतालाई किन्न सकिन्छ भन्ने दरिद्र सोचले धेरै राजनीतिकर्मी आक्रान्त छन् । राष्ट्र र जनतालाई तुच्छ अनि विदेशी शक्तिलाई उच्च मान्ने असन्तुलित मनस्थिति नेपाली राजनीतिको ठूलो रोग हो ।
देहातीजन ‘दाल रोटी खाओ, प्रभुका गुण गाओ’तर्पm आकृष्ट रहेको बेला सरकार भने ‘चित भी मेरा, पट भी मेरा’को अवस्थामा रहेको सन्दर्भले आमजनलाई चिन्तित बनाएको छ । शिशुकालीन गणतन्त्रलाई बचाउनेभन्दा पनि आआफ्नो स्वार्थसिद्धिप्रति लालायित राजनीतिक संस्कार विकसित हुनु किंमार्थ उचित होइन । संविधान र सोको मूल्यमान्यताको धज्जी कसैले पनि उडाउनुहुँदैन । नियत सर्व अनुकूलाय हुनुपर्छ । देश र नागरिकको दीर्घकालीन हितजन्य कर्तव्यदेखि विमुख हुनुहँुदैन भन्ने सरोकारप्रति शीर्षस्थजनलाई अन्तर्बोध हुनु जरूरी छ । राष्ट्र र राष्ट्रको अर्थतन्त्र जोगाउने सन्दर्भ र सर्व हितायको सवालमा इमानदारीपूर्ण कर्तव्य अपेक्षित छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्