द्रोण पर्व–२४

103

उमाशङ्कर द्विवेदी

ब्रह्माजीले मृत्युलाई प्रजाको संहार गर्नको लागि स्वयंले नै उत्पन्न गरेका थिए । अतः मृत्युले समय आइपुगेपछि सबैको संहार गर्दछिन् नै । यो कुरा थाहा पाएर धीर पुरूषले मरेका आफन्तहरूको लागि शोक गर्दैनन् । यो सम्पूर्ण सृष्टि विधाताले बनाएका हुन्, उनले स्वेच्छाले यसको उपसंहार गर्दछन्, त्यसैले तपाईं  आफ्नो मरेको पुत्रको शोक शीघ्र त्यागिदिनुहोस् ।
नारदजीको यो कुरा सुनेर राजा अकम्पनले उनीसित भने– भगवन्, मेरो शोक सिद्धियो । तपाईंको मुखबाट यस्तो इतिहास सुनेर म कृतार्थ भएँ, तपाईंलाई नमस्कार छ । राजाको यस्तो सन्तोषपूर्ण कुरा सुनेर नारदजी नन्दन वनतिर फर्किहाले । राजा युधिष्ठिर, यस उपाख्यानलाई सुन्न र सुनाउनाले पुण्य, यश, आयु, धन तथा स्वर्गको प्राप्ति हुन्छ । महारथी अभिमन्युले युद्धमा धनुष, तरबार, गदा तथा शक्तिबाट प्रहार गर्दै मृत्युलाई प्राप्त गरेका हुन् । उनी चन्द्रमाका निर्मल पुत्र थिए र पुनः चन्द्रमामा नै लीन भएका छन् । त्यसैले तिमीले धैर्य धारण गर र प्रमादलाई त्यागेर भाइहरूलाई साथमा लिई शीघ्र नै युद्धको लागि तयार होऊ ।
युधिष्ठिरले भने– मुनिवर, प्राचीनकालका पुण्यात्मा, सत्यवादी एवं गौरवशाली राजर्षिहरूको कर्महरूलाई वर्णन गर्दै पुनः आफ्नो यथार्थ वचनबाट मलाई सान्त्वना दिनुहोस् ।
व्यासजीले भने– पूर्वकालमा एकजना शैब्य नामक राजा थिए । उनको पुत्रको नाम थियो– सृञ्जय । सृञ्जय राजा भएपछि उनको देवर्षि नारदजी तथा पर्वत नामक दुईजना ऋषिसित मित्रता भयो । एक समयको कुरा हो, ती दुवै ऋषि सृञ्जयको घरमा उनीसित भेट्न भनेर आए । राजाले उनीहरूको विधिवत् आतिथ्य सत्कार गरे र उनीहरू बडो प्रसन्नताका साथ सुखपूर्वक त्यहाँ बस्न थाले ।
सृञ्जयलाई पुत्रप्राप्तिको अभिलाषा थियो, उनले आफ्नो शक्ति अनुसार भक्तिपूर्व ती  ब्राह्मणहरूको सेवा गरे । ती ब्राह्मणहरू वेद–वेदाङ्गका ज्ञाता एवं तप र स्वाध्यायमा तल्लीन रहने खालका थिए । राजाको शुश्रूषाबाट प्रसन्न भएर ती ब्राह्मणहरूले नारदजीसित भने–भगवन्, तपाईंले राजा सृञ्जयलाई उनको इच्छा अनुसारको पुत्र प्रदान गर्नुहोस् । नारदजीले ‘तथास्तु’ भनेर सृञ्जयसित भने– राजर्षे, ब्राह्मणहरू तपाईंमाथि प्रसन्न छन् र तपाईंलाई पुत्र दिन चाहिरहेका छन् । अतः तपाईंको कल्याण होस्, तपाईंले जस्तो पुत्र प्राप्त गर्न चाहनुहुन्छ, सो अनुसारको वर माग्नुहोस् ।
नारदजीले यस्तो भनेपछि राजाले हात जोडेर भने– भगवन्, म यस्तो पुत्र चाहन्छु, जुन यशस्वी, तेजस्वी र शत्रुलाई दमन गर्ने खालको होस् तथा जसको मल, मूत्र, थुक र पसिना पनि सुवर्णमय होओस् । समय अनुसार राजालाई त्यस्तै पुत्र प्राप्त भयो । उसको नाम सुवर्णष्ठीवी राखियो । उक्त वरदानबाट राजाको घरमा निरन्तर धनको ओइरो लाग्न थाल्यो । राजाले आफ्नो महल, पर्खाल, किल्ला, ब्राह्मणहरूको घर, पलङ्ग, ओछ्यान, रथ र भोजपात्र आदि सबै आवश्यक सामग्री सुनकै बनाउन लगाए । केही कालपछि राजाको महलमा डाँकाहरूले हमला गरेर राजकुमार सुवर्णष्ठीवीलाई बलपूर्वक समातेर जङ्गलमा लगे । सुवर्णष्ठीवीबाट सुवर्ण पाउने उपाय ती मूर्खहरूलाई थाहा थिएन, त्यसैले ती मूर्खहरूले राजकुमारलाई मारिदिए । अनि उनीहरूले राजकुमारको शरीर च्यातेर हेरे त्यहाँ उनीहरूले कुनै पनि किसिमको धन फेला पार्न सकेनन् । राजकुमारको प्राण निस्केपछि सुवर्ण निस्किने वरदान पनि नष्ट भएर गयो । मूर्ख डाँकाहरूले त्यस अद्भुत राजकुमारलाई मारेर स्वयम् पनि आपस्तमा मारकाट गरेर नष्ट भइहाले । अन्तमा ती पापीहरू असम्भाव्य नामक नर्कमा परे ।
राजा आफ्नो पुत्रको मृत्यु भएको हेरेर अत्यन्त दुःखी भएर करूण विलाप गर्न थाले । यो समाचार पाएपछि देवर्षि नारदजी त्यहाँ दर्शन दिएर भने– सृञ्जय, आफ्नो अपूर्ण कामनाहरूलाई लिएरै एक दिन मरिहाल्नेछौ नै, अनि अर्काको लागि यति शोक किन ? अरूको त के कुरा, अविक्षितका पुत्र राजा मरूत् पनि जीवित रहन सकेनन् । बृहस्पतिसित नजदिकी भएपछि संवर्तनले राजा मरूत्बाट यज्ञ गराए । भगवान् शङ्करले राजर्षि मरूत्लाई सुवर्णको एउटा गिरिशिखर प्रदान गरेका थिए । उनको यज्ञशालामा इन्द्र आदि देउता, बृहस्पति तथा समस्त प्रजापतिगण विराजमान थिए । यज्ञको सबै सामग्री सुनले नै बनेको थियो । उनको यज्ञमा ब्राह्मणहरूलाई दूध, दही, घ्यू, मधु, रूचिकर भक्ष्यभोज्य तथा इच्छानुसार वस्त्र र आभूषणहरू पनि दिइन्थ्यो । मरूत्को घरमा मरूत् (पवन) देउताले भोजन पस्कन्थे र विश्वेदेव सभासद् थिए । उनले देउता, ऋषि र पितरहरूलाई हविष्य, श्राद्ध तथा स्वाध्यायद्वारा तृप्त पारेका थिए । शøया, आसन, जलपात्र तथा सुवर्णराशि जस्ता अपार धनराशि उनले ब्राह्मणहरूलाई स्वेच्छया दान गरिदिएका थिए । इन्द्र पनि उनको भलो चिताउँदथे, उनको राज्यमा प्रजालाई रोग–व्याधिले पिर्दैन्थ्यो । उनी बडो श्रद्धालु थिए र शुभकर्महरूबाट जिउँदै अक्षय पुण्यलोक प्राप्त गरेका थिए । राजा मरूत्ले तरूणावस्थामा रहेर प्रजा, मन्त्री, धर्मपत्नी, पुत्र र भाइहरूका साथ एक हजार वर्षसम्म शासन गरे । सृञ्जय, यस्तो प्रतापी राजा पनि, जो तिमी तथा तिम्रा पुत्रहरूबाट धेरै बढी थिए, यदि उनी पनि मृत्युबाट बच्न सकेनन् भने तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन । क्रमशः…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्