जसपाको प्रदर्शन, राष्ट्रपति र प्रमको पुतला दहन

105

प्रस, वीरगंज, १० पुस/
जनता समाजवादी पार्टी, पर्साले शुक्रवार जिल्लाभरि संसद् विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला दहन गर्नुका साथै विरोध प्रदर्शन गरेको छ ।
वीरगंजको घण्टाघरमा रामनरेश यादव र जगदीश पटेलको संयुक्त अध्यक्षतामा आयोजित विरोधसभामा प्रधानमन्त्री ओलीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही बेर प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो ।
कार्यक्रममा जसपाका नेता, कार्यकर्ताहरूले संसद् पुनस्र्थापना गर, रेशम चौधरीको मुद्दा खारेज गर, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाएका थिए ।
विरोधसभामा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, जसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, शिव पटेल, निजामुद्दीन समानी, पुरूषोत्तम झा, रम्भा मिश्र, प्रदेशसभा सदस्य रमेश पटेल, करीमा बेगम, भीमा यादव, जसपाका स्थानीय नेता ओमप्रकाश सर्राफ, कृष्ण पटेल, तबरेज अहमदलगायतले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको आरोप लगाए । उनीहरूले संसद् पुनस्र्थापना गरी छाड्ने प्रतिबद्धता जाहेर गरे।
यसैगरी, जसपाको आयोजनामा पोखरिया र पर्सागढी नगरपालिका, पटेर्वासुगौली, धोबिनी, छिपहरमाई तथा कालिकामाई गाउँपालिकालगायतका स्थानमा पनि प्रदर्शन भएका छन् । सो ठाउँमा प्रधानमन्त्री ओलीको पुतला दहन भएको थियो । पोखरिया नपामा पुतला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रस, रौतहट/
जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताहरूले शुक्रवार दिउँसो २ बजे गौरको मधेसी क्रान्तिचोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका थिए । उनीहरूले प्रहरीलाई झुक्याएर पुतला दहन गरेका थिए । जसपाका नेता श्यामबिहारी यादवको अगुवाइमा पुतला दहन गरिएको थियो ।
पुतला दहनपछि आयोजित सभामा सम्बोधन गर्दै जसपाका प्रदेश कमिटी सदस्य एवं जिल्ला इन्चार्ज बृजकुमार यादवले रगत बगाएर ल्याएको सङ्घीय गणतन्त्र नेकपा सरकारले समाप्त पार्न खोजेको आरोप लगाए । उनले सङ्घीयता खतरामा रहेकोले जसपाले सोको रक्षाको लागि आन्दोलन गर्ने बताए । उनले नेकपा सङ्घीयता खारेज गर्ने सोचमा रहेको तर सो उद्देश्य पूरा नहुने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्