कमरेड

96

‘जय नेपाल’ भनेर सम्बोधन गर्नेहरूलाई  नेपाली काङ्ग्रेसका मान्छे वा विपीका अनुयायी हुन् भनेर अनुमान लगाइन्छ । राष्ट्रका सेना, प्रहरीबाहेक नेकाका नेता, कार्यकर्ता, समर्थकहरूले मात्रै जय नेपाल भन्छन् भन्ने सोचका कारण अरूले आफ्नै देशको नाम उच्चारण गरेर ‘जय नेपाल’ भन्न पनि हिचकिचाउँछन् । त्यसैगरी, ‘कमरेड वा कामरेड’ शब्द पनि छ । यो शब्द कम्युनिस्टहरूले शुरू गरेका हुन् भन्ने अधिकांशको बुझाइ छ । यसर्थ कम्युनिस्टबाहेक अन्य राजनीतिक विचारधाराकाहरूले कमरेड शब्द उच्चारण गर्न चाहँदैनन् । कमरेड र कामरेड एउटै शब्द हो । नेपाली लवजमा बोल्नेहरूले कमरेड भने पनि भारतीय लवजकाहरूले ‘कामरेड’ भनेर उच्चारण गरेको पाइन्छ । कमरेडको अर्थ साथी हो । कम्युनिस्टहरूबीचमा यसले सहयोद्धाको अर्थ राख्दछ । यसले क्रान्तिकारी कम्युनिस्टहरूबीच जुझारू एकताको लागि ‘कमरेड’ सम्बोधन गरिन्छ।
‘कमरेड’ शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । कामाराडाको अर्थ सँगै बस्ने, एउटै हैसियत, स्तरको अभिन्न अति प्रिय साथी हुन्छ। कामाराडा–कमरेड शब्दले फ्रान्सेली क्रान्तिबाट राजनीतिक रूप पाएको हो । वाम वा कम्युनिस्ट विचारधाराको लागि मात्रै होइन, समाज परिवर्तनको लागि क्रान्तिकारी विचार लिएका वा समाजवादी विचार भएकाहरूबीच सम्बोधन गर्न सबैभन्दा प्रिय शब्द ‘कमरेड’ बन्यो । समाजवादी आन्दोलनका अगुवा भारतका नेहरूदेखि नेपाली काङ्ग्रेसका संस्थापक विपी कोइरालाको लागि पनि कमरेड शब्द अति प्यारो थियो। उनीहरू आफूलाई कमरेड भन्थे र आफ्ना साथीहरूलाई पनि कमरेड भनेर सम्बोधन गरेको पाइन्छ । यो शब्द रूसी क्रान्तिदेखि कम्युनिस्टहरूको अभिन्न शब्द बनेको हो । समानता तथा साम्यवादको दीर्घकालीन लक्ष्य लिएर सर्वहारावादी क्रान्तिमा होमिएका कम्युनिस्टहरू आफ्ना साथीहरूलाई समान व्यवहार, एउटै दर्जा तथा हैसियत र समान लक्ष्य अनि एकापसमा अभिन्न, स्नेही एवं एकले अर्काको निम्ति ज्यान दिन कति पनि हिचकिचाहट गर्दैनन् भन्नेरूपमा बुझ्थे । कमरेड एकताको बलमा उनीहरूले फ्रान्सेली क्रान्ति, रूसी अक्टुबर क्रान्ति, चीनको सर्वहारावादी क्रान्ति, सांस्कृतिक क्रान्तिलगायतमा सफलता हासिल गरे ।    
हाम्रो मुुलुकमा वाम अगुवाइको झापा विद्रोहताका निकै चर्चामा आएको कमरेड शब्द २०४६ सालको जनान्दोलनताका चरम उत्कर्षमा पुगेको थियो । सेलाउँदै जान लागेको बेला माओवादी विद्रोहताका ‘कमरेड’ फेरि उकालो लाग्यो र जनजनको जिब्रोमा पुग्यो । पछि तिनै कमरेडहरू सत्तामा उक्लने क्रम शुरू भएपछि कमरेड शब्द भने ओरालो लाग्यो । आजकल नेपाली कम्युनिस्टहरूको पार्टी तथा कमिटिगत बैठकमा समेत कमरेड शब्दको प्रयोग कमै हुन्छ । कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरू सम्बोधन गर्दा दाइ, दाजु, दादा, सर, भाइ भनेर सम्बोधन गर्न आफूलाई धन्य सम्झन्छन् । शब्दमा जसरी विचलन आइरहेको छ, नेपाली कम्युनिस्टहरूको नीति, सिद्धान्त र व्यवहारमा पनि त्यसैगरी विचलन आइसकेको छ । द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक साम्यवाद यिनीहरूले बिर्सिसके, सर्वहाराको अधिनायकत्वसहितको राज्यसत्ता अब कल्पना मात्रै हो । माक्र्सवाद–लेनिनवादी मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त दस्तावेजमा मात्रै सीमित छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्